Like us!
Follow us!
Connect us!
Watch us!

उचाइ, साहस र सन्तुलन : नेपालमा पहिलोपटक हाइलाइनको रोमाञ्चक प्रदर्शन

अर्थ संसार

आइतबार, ०२ कार्तिक २०८२, १० : ०३ मा प्रकाशित

उचाइ, साहस र सन्तुलन : नेपालमा पहिलोपटक हाइलाइनको रोमाञ्चक प्रदर्शन

पर्वतको कुस्मा र बाग्लुङको बलेवा बिचमा रहेको कालीगण्डकी खोचमा हाइलाइनको अभ्यास गरिएको छ।

हाल जर्मनीमा बसोबास गरिरहेका धनकुटाका हिलेका शंकर कोइरालाले आफ्नो 'ड्रीम प्रोजेक्ट'का रुपमा यो कार्यक्रम गरेका हुन् । कोइराला १५ वर्षदेखि युरोपका विभिन्न ठाउँमा हाइलाइन गर्दै आएका छन् ।  

बन्जीलगायत एड्भेन्चर हबका रूपमा परिचित ‘द क्लिफ’मा पहिलोपटक हाइलाइन अभ्यास गरिएको हो। साहसिक पर्यटन प्रवर्द्धनको उद्देश्यले शंकर कोइरालाको संयोजनमा नेपालमा हाइलाइनको यस्तो प्रयास हुनु सराहनीय रहेको द क्लिफका अध्यक्ष राजु कार्कीले बताए।

हाइलाइनको क्रु सदस्यहरूमा कोइराला सहित ३ जना नेपाली, १ जना न्यूजील्यान्डेली र २ जना जर्मनी नागरिक गरी ६ जना सहभागी छन्। कोइरालासँगै सुलभ चालिसे, सहन महर्जन, डायलन, कासिया, मटासे र मिथियासलाई नेपाल स्ल्याकलाइन कम्युनिटीले पनि साथ दिएको छ।

असोज २९ देखि सुरु भएको हाइलाइन कार्यक्रम कार्तिक १ गतेसम्म चल्नेछ। नेपाल स्ल्याकलाइन कम्युनिटी र लोकप्रिय एड्भेन्चर हब ‘द क्लिफ’को सहकार्यमा यो हाइलाइन आयोजना गरिएको हो। दुई वर्षदेखिको निरन्तर सम्पर्क र सहकार्यले यो सम्भव भएको कोइरालाले बताए।

द क्लिफका अध्यक्ष कार्कीका अनुसार नेपालमा पहिलोपटक यति उचाइमा हाइलाइन गरिएको हो। यसले साहसिक पर्यटनमा नयाँ सम्भावनाका ढोका खोल्ने अपेक्षा गरिएको छ। उचाइ, जोखिम र कौशलका कारण यो खेल अत्यन्त चुनौतीपूर्ण मानिन्छ।

पर्वतको कुस्मा र बाग्लुङ बलेवाको बिचमा रहेको कालीगण्डकीको खोँचमा साहसिक खेल प्रदर्शनी गर्ने सपना उनीसँग पहिले देखिनै थियो। त्यो सपना पूरा गर्न उनी आफ्नै पहलमा विदेशी टोलीलाई कुस्मासम्म ल्याएका हुन्। पहिलो दिन बेनेट डायलन रेडले सफलतापूर्वक हाइलाइन प्रदर्शन गरे।

४०८ मिटर लम्बाइको हाइलाइन गर्ने डोरीले कुस्मातर्फ हार्नेस जिपलाइन र बलेवातर्फ द क्लिफलाई जोडेको छ । यो हाइलाइन परियोजना दक्षिण–पूर्व एसियामा दोस्रो लामो भएको भनिएको छ र नेपालमा अहिलेसम्म सबैभन्दा लामो र अग्लो हाइलाइन मानिएको छ।

नेपाल स्ल्याकलाइन कम्युनिटीका सदस्यहरूले पाएका अनुभव र युरोपेली प्रशिक्षकहरूको सहयोगमा यो परियोजना अघि बढाइएको हो। खेल हेर्दा डर लाग्दो देखिए पनि पूर्ण रूपमा सुरक्षा मापदण्ड अपनाइएको छ।

हाल मुख्य उद्देश्य अधिकतम मानिसलाई हाइलाइन र स्ल्याकलाइनबारे जानकारी गराइ साहसिक पर्यटन प्रवर्द्धन गर्नु र यस क्षेत्रमा संलग्न खेलाडीहरूलाई साथ तथा समर्थन प्रदान गर्नु रहेको कोइरालाले बताए।

स्ल्याकलाइन र हाइलाइनजस्ता गतिविधिले युवाहरूमा साहस, सन्तुलन र एकाग्रता विकास मात्र गराउँदैनन्—नेपालका प्राकृतिक दृश्य र पहाडी सौन्दर्यलाई विश्व समक्ष चिनाउने अवसर पनि प्रदान गर्छन्। यस परियोजनाले पोखरा र वरपरका क्षेत्रमा आन्तरिक तथा बाह्य पर्यटक आकर्षणमा उल्लेखनीय योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

नयाँ सम्भावना खोज्दै र स्थानीय खेलाडीहरूको साथ र समर्थनमा लागिपरेको नेपाल स्ल्याकलाइन कम्युनिटीले आगामी दिनहरूमा थप स्थानहरूमा यस्ता एड्भेन्चर परियोजना विस्तार गर्ने योजना बनाएको जनाएको छ।

कोइरालाले नेपालमा साहसिक पर्यटन प्रवर्द्धनका लागि थप सम्भावनाका अध्ययन आवश्यक रहेको बताए।

के हो स्ल्याकलाइन र हाइलाइन?

स्ल्याकलाइन सामान्यतया जमिनबाट ३० सेन्टिमिटरदेखि १ मिटर उचाइमा तानिएको पट्टीमा शरीर हल्का मोडेर, हात फैलाएर सन्तुलन मिलाउँदै हिँड्ने खेल हो। यो संसारभर पार्क, समुद्रकिनारा र बगैंचामा अभ्यास गरिन्छ। ध्यान, शरीर नियन्त्रण र लचकता बढाउने लोकप्रिय गतिविधि हो।

हाइलाइन भने २० मिटरदेखि सयैं मिटर उचाइमा तानिएको लाइनमा सेफ्टी हार्नेस र लिस प्रणालीसहित हिँड्ने साहसिक खेल हो। सन्तुलनका लागि गहिरो ध्यान, स्थिर नजर र श्वास नियन्त्रण अत्यावश्यक हुन्छ। यो पर्वत, पुल र खोँचमा अभ्यास गरिन्छ र मानसिक तथा शारीरिक शक्ति परीक्षण गर्ने अत्यन्त रोमाञ्चक खेल हो।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp

ताजा समाचार

छुटाउनुभयो कि?

Viber

धेरै पढिएको