Like us!
Follow us!
Connect us!
Watch us!

काग तिहारको अवसरमा दुलालले गरे काग सम्मेलन

अर्थ संसार

आइतबार, ०२ कार्तिक २०८२, १० : ४१ मा प्रकाशित

काग तिहारको अवसरमा दुलालले गरे काग सम्मेलन

प्रत्येक वर्ष कार्तिक कृष्ण त्रयोदशीका दिन मनाइने काग तिहार पर्व आज आइतबार शास्त्रीय विधिअनुसार मनाइँदैछ।

यमराजका दूतका रूपमा मानिने कागलाई बिहान सूर्योदयकालमा मीठा परिकार खुवाएर पूजा गर्ने परम्परा रहिआएको छ। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार त्रयोदशी तिथि आज बिहान परेकाले आजको दिन काग तिहार मनाउनुपर्ने मान्यता छ।

शास्त्रअनुसार यमराजले मृत्युलोकका समाचार कागमार्फत थाहा पाउने विश्वास गरिएको छ। त्यसैले आजको दिन कागलाई पूजा गरी दहीभातसहित मीठा परिकार खुवाएर प्रसन्न तुल्याउने चलन छ, ताकि उसले यमराजसमक्ष राम्रो सन्देश पुर्याओस् भन्ने आशय रहन्छ। लोकमान्यताअनुसार पनि काग घर वरपर आई कराएमा शुभ सन्देश ल्याएको मानिन्छ, त्यसैले ‘शुभ बोल, शुभ बोल’ भन्ने चलन रहेको छ।

शास्त्रमा उल्लेख भएअनुसार 'काकेन दधि भक्षितम्' अर्थात् कागलाई दहीभात मन पर्ने भएकाले आजको दिन उसलाई दहीभात खुवाउने परम्परा रहिआएको हो। यस अवसरमा कलाकार रमेश दुलाल ‘कागे’ले राजधानीको नारायणहिटी दरबार सङ्ग्रहालय अगाडि ‘२२ औं काग सम्मेलन’ सम्पन्न गरेका छन्। टप राजधानी रोधी र ग्रीनसिटी अस्पताल, वसुन्धाराको सहआयोजनामा आयोजित कार्यक्रममा उनले विशेष प्रस्तुति दिएका थिए। बिहान पौने ६ बजे सुरु भएको कार्यक्रममा दुलालले कागको आवाज निकाल्नेबित्तिकै कागहरू जम्मा भएका थिए।

उनी कागसहित १७३ प्रजातिका जनावर र चराचुरुङ्गीका आवाज नक्कल गर्नसक्ने कलाकार हुन्। साथै, मुखकै सहायताले मादल, सारङ्गी, पियानो, ड्रम सेट, मुर्चुङ्गा, सनाई र गितारजस्ता वाद्ययन्त्रका धुन निकाल्ने अनौठो कला पनि उनमा छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp

ताजा समाचार

छुटाउनुभयो कि?

Viber

धेरै पढिएको