Like us!
Follow us!
Connect us!
Watch us!

जेनजी हाम्रै स्मार्ट छोराछोरी हुन - वर्षमान पुन

अर्थ संसार

आइतबार, ०२ कार्तिक २०८२, १२ : १६ मा प्रकाशित

जेनजी हाम्रै स्मार्ट छोराछोरी हुन - वर्षमान पुन

नेकपा माओवादी केन्द्रका सचिवालय सदस्य वर्षमान पुन अनन्तले मुलुक जेन–जी आन्दोलनको भावनाअनुसार चल्नुपर्ने बताएका छन् ।

तिहार, नेपाल संम्वत र छठलगायत चाडपर्वको अवसर पारेर पार्टी निकट मजदुर संगठन अखिल नेपाल ट्रेड युनियन महासंघले शनिबार मुख्यालय कोटेश्वर पेरिसडाँडामा गरेको कार्यक्रममा पुनले जेन–जी आन्दोलनकारीले अघि सारेका सुशासनसहित कयौँ एजेण्डा र आफ्नो दलको एजेण्डामा समानता रहेको बताएका हुन् । पुनले जेन–जीलाई भर्चुअल र डिजिटल दुनियाँमा हुर्किँदै गरेका छोराछोरी र नातिनातिना भन्दा फरक रूपमा बुझ्न नहुने धारणा राखे ।

‘कोही भ्रममा पर्नु पर्दैन, जेन–जी डिजिटल प्लेटफर्मसँगै भर्चुअल दुनियाँमा हुर्किरहेका १३ देखि २८ वर्ष उमेर समूहको नयाँ पुस्ता हो,’ पुनले भने, ‘उनीहरू कोही बाहिरका होइनन्, हाम्रै छोराछोरी र नातिनातिनाहरू हुन् । उनीहरू स्मार्ट छन्, क्षमतावान छन्, र उनीहरूसँग संसारभरिका सूचना छन् ।’

पुनका अनुसार सहरी क्षेत्रमा एउटै घरको माथिल्लो र तल्लो तलामा बस्नेबीच चिनाजान नहुने अवस्थामा जेन–जीहरू भने भर्चुअल माध्यमबाट विश्वभरका मानिसहरूसँग सूचना र संवादमा छन् । ‘जेन–जी पुस्ता भर्चुअल माध्यमबाट विश्वभरका मानिसहरूसँग गेम खेल्छ, सूचना साट्छ, ज्ञान सँगाल्छ,’ पुनले भने, ‘कतिपय सन्दर्भमा नेपालमा बसेर युरोप, अमेरिका, जापान, कोरिया, भारत र चीनमा व्यापार गरिरहेको छ । त्यहाँ उसका सम्बन्धहरू छन् । नेपालमै बसेर पनि उनीहरूले विदेशमा जागिर गरिरहेका छन् ।’

पुनले जेन–जी आन्दोलन मुलुकको वर्तमान यथार्थ भएको उल्लेख गर्दै, उक्त चाहनाको सम्बोधन गरेर मात्र देश अगाडि बढ्न सक्ने धारणा राखे । उनले लोकतन्त्रलाई अझ पारदर्शी, प्रभावकारी र परिस्कृत बनाउन चाहने जेन–जी समूहसँग सहकार्य गर्न आफ्नो पार्टी तयार रहेको बताए । यद्यपि, उनले बलिदानबाट प्राप्त संविधान मास्न चाहने प्रवृत्तिलाई सह्य नहुने स्पष्ट पारे । पुनले आफू र पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जेन–जीका विभिन्न समूहसँग संवाद गरिरहेको जानकारी दिए । २३ भदौको शान्तिपूर्ण जेन–जी प्रदर्शनमा गोली चलाएर निहत्था विद्यार्थीको हत्या गर्नेहरूमाथि कारबाही नगर्ने तर आन्दोलनमा नैतिक समर्थन जनाउने आफ्ना दलका नेता तथा कार्यकर्तालाई लक्षित गरी निरुत्साहित गर्न खोजिएकोप्रति उनले आपत्ति जनाए ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp

ताजा समाचार

छुटाउनुभयो कि?

Viber

सम्बन्धित खबर

धेरै पढिएको