यमपञ्चकको दोस्रो दिन आज सम्पूर्ण नेपालीहरूले आफ्ना घर आँगनमा कुकुरलाई टीका, माला र मीठा खानेकुरा खुवाएर श्रद्धा र सम्मानपूर्वक पूजा गरिरहेका छन् । वैदिक परम्परा अनुसार कुकुरलाई यमराजको दूत र धर्मराजको द्वारपालको रूपमा मानिन्छ । आजको दिन कुकुरको पूजा नगरी खाना खाएमा पाप लाग्छ भन्ने धार्मिक मान्यता रहेको छ ।
पुराण अनुसार यमलोकमा यमराजको ढोका रक्षण गर्ने कुकुरलाई तिहारको दिन सम्मान गर्दा मृत्युपश्चात् आत्मालाई स्वर्ग मार्ग प्रशस्त हुने विश्वास गरिएको छ । द्वापर युगमा पाण्डवहरू स्वर्गारोहणको क्रममा धर्मराज युधिष्ठिरलाई एक कुकुरले साथ दिई स्वर्गको ढोकासम्म पु¥याएको प्रसङ्ग पनि उल्लेख गरिएको छ, जसले कुकुरको निष्ठा र पवित्रताको प्रतीक दर्साउँछ । ऋग्वेदमा ‘समरा’ नामकी कुकुर आमाको कथा उल्लेख छ, जसले स्वर्गका राजा इन्द्रलाई हराएको वस्तु फेला पार्न सहयोग गरेकी थिइन् । त्यसैले वैदिक सनातन परम्परामा कुकुरलाई अभिभावक, सुरक्षाकर्मी र यमराजको सन्देशवाहकको रूपमा सम्मान गरिन्छ । मृत्युपर्यन्त मोक्षको द्वारमा पनि कुकुरले पहरा दिने उल्लेख ग्रन्थहरूमा पाइन्छ ।
कुकुर आज्ञाकारी, वफादार र घरको पहरेदार जनावर हो । अपराध पत्ता लगाउनेदेखि भूकम्प वा विपत्तिको पूर्व सूचना दिने क्षमतासम्मका कारण कुकुरलाई ‘भैरवको वाहन’ पनि भनिन्छ । सत्यवादी युधिष्ठिरलाई स्वर्ग यात्रामा साथ दिने सौभाग्य पाएको कुकुरप्रति कृतज्ञता र सम्मान स्वरूप वर्षमा एक पटक आजको दिन कुकुर तिहारका रूपमा मनाइन्छ ।
नरक चतुर्दशीः पाप नाश र शुद्धीकरणको प्रतीक दिवस
आजको दिनलाई नरक चतुर्दशी पनि भनिन्छ । यस दिन बिहानै तैलाभ्याङ्ग स्नान गर्ने विधि पुराणमा वर्णित छ । उज्यालो हुनुअघि तिलको तेल, सुगन्धित द्रव्य र चन्दन शरीरमा दलेर स्नान गर्दा नरकबाट मुक्ति प्राप्त हुने विश्वास गरिएको छ । तिलमा लक्ष्मी र जलमा गङ्गाको वास हुने भएकाले तिलयुक्त स्नानले पाप नाश हुन्छ भन्ने शास्त्रीय मान्यता छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस