सडक तथा पुल निर्माण कार्यमा कमजोर प्रगति देखिएको भन्दै सडक डिभिजन कार्यालय काठमाडौँले ५७ वटा निर्माण कम्पनीहरूलाई १५ दिनभित्र स्पष्टीकरण पेश गर्न निर्देशन दिएको छ।
डिभिजनका अनुसार, लामो समयदेखि काममा कुनै सुधार नदेखिनु, संशोधित कार्यतालिका अनुसार काम नहुनु, ठेक्का म्याद नाघ्नु र ठेक्का अलपत्र अवस्थामा रहनुजस्ता कारणले ठेक्का सम्झौता समाप्त गर्न सकिने अवस्था आएको हो।
कार्यालयले सम्बद्ध कम्पनीहरूलाई ठेक्का किन अन्त्य गर्नु नपर्ने भन्ने ठोस कारणसहित १५ दिनभित्र लिखित स्पष्टीकरण बुझाउन अनुरोध गरेको छ। अन्यथा, सार्वजनिक खरिद ऐन २०६३, सार्वजनिक खरिद नियमावली २०६४ र सम्बन्धित कानुन बमोजिम ठेक्का रद्द गर्ने प्रक्रिया अघि बढाइने चेतावनी दिएको छ।
स्पष्टीकरण मागिएका कम्पनीहरूमा पूर्ण विनायक/सफल जेभी, शैलुङ कन्स्ट्रक्सन, कश्यप निर्माण सेवा, दि कञ्चनजङ्घा/गोल्डेनगुड/पीएस जेभी, थोदुङ/कविर विनायक जेभी, सीएम कन्स्ट्रक्सन इन्जिनियरिङ ग्रुप, पप्पु/डाँफे जेभी, त्रिवेणी कन्स्ट्रक्सन कम्पनी, सूर्य जीवन कन्स्ट्रक्सन, निश्मन इन्टरनेशनल, लुम्बिनी/पीएस/गोल्डेन गुड जेभी, नयाँयुग निर्माण सेवा, केदार निर्माण सेवा, जय दुर्गामाता बिल्डर्स, उग्रवज्र निर्माण सेवा, सम्झना निर्माण सेवा, के एण्ड जे कन्स्ट्रक्सन, महाकाली भिमसेन, पन्थ कन्स्ट्रक्सन, ओम महासरस्वती, बीएसडी कन्स्ट्रक्सन, ओमकार बिल्डर्स, जागृत निर्माण सेवा, बिरुवा/रानीबन जेभी, राजधानी कन्स्ट्रक्सन लगायतका कम्पनीहरू परेका छन्।
सडक डिभिजनले यी कम्पनीहरूले तोकिएको समयसीमाभित्र काम पूरा नगरेका र ठेक्का म्याद थप गरे पनि प्रगति सन्तोषजनक नदेखिएको भन्दै आवश्यक कदम चाल्ने तयारी गरेको जनाएको छ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस