यो वर्षको कात्तिक १५ गतेसम्म देशभर चार हजार ५९७ वटा विपद्जन्य घटना भएका छन् । वैशाखयताका ती विपद्का घटनामा परेर शनिबारसम्म तीन सय ३५ जनाको मृत्यु भएको छ ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रवक्ता शान्ति महतका अनुसार उक्त अवधिमा ४१ जना बेपत्ता भएका छन् भने एक हजार २६४ जना घाइते भएका छन् । बाढीका मात्रै तीन सय १६ घटना हुँदा ३७ जनाको मृत्यु र २७ जना बेपत्ता भएका छन् । त्यसैगरी, पहिरोका पाँच सय ५० घटना हुँदा ६७ जनाको मृत्यु र चार जना बेपत्ता तथा चट्याङका तीन सय ५६ घटना हुँदा ४४ जनाको मृत्यु, सर्पदंशका पाँच सय ३८ घटना हुँदा ९२ जनाको मृत्यु भएको छ ।
त्यसैगरी, जनावरको आक्रमणका दुई सय ६९ घटनामा २५ जनाको मृत्यु र एक बेपत्ता, लेक लागेका ८० घटनामा २७ जनाको मृत्यु भएको छ । भारी वर्षाका चार सय २० घटनामा सात, आगलागीका एक हजार ६१४ घटनामा २६ र हुरीबतासका दुई सय ८६ घटनामा आठ जनाको मृत्यु भएको प्रवक्ता महतले जानकारी दिए।
हिउँ पहिरोमा परी नौ जना बेपत्ता भएको प्राधिकरणले जनाएको छ । शनिबार मात्रै विभिन्न विपद्जन्य घटनामा दुई जनाको मृत्यु भएको छ । विपद्जन्य ४६ घटना भएको र उक्त विपद्ले ३१ जिल्ला प्रभावित बनाएको प्राधिकरणले जानकारी दिएको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस