सरकारले सवारीचालक अनुमतिपत्र (लाइसेन्स) आफ्नै मुद्रणबाट छाप्न सुरु गरेको छ। सञ्चार तथा सूचना प्रविधि मन्त्रालयअन्तर्गतको सुरक्षण मुद्रण केन्द्रले आजदेखि लाइसेन्स छाप्न सुरु गरेको हो । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले काभ्रेपलाञ्चोकको बनेपामा रहेको केन्द्रको प्रिन्टिङ मेसिनमा बटन थिचेर सवारीचालक अनुमतिपत्र छपाइको शुभारम्भ गरे।
सञ्चारमन्त्री खरेलले कानुनी उल्झन र विविध कठिनाइका बाबजुद पनि अत्यावश्यक प्रबन्ध मिलाएर लाइसेन्स छपाइको काम सुरु गरिएको बताए।
उनले वर्षौदेखि थन्किएर अलपत्र भएका धुलाम्मे मेसिन र पार्टपुर्जाको धुलो टकटक्याएर छपाइ गरिएको उल्लेख गरे। सञ्चारमन्त्री खरेलले भने, ‘वर्षौदेखि सुरक्षण मुद्रण केन्द्रअन्तर्गतका मेसिनहरू यत्तिकै थन्किएका थिए। मेसिन र पार्टपुर्जा सबै धुलाम्मे भएका थिए। ठाउँ नै खण्डहरजस्तो भएको थियो। धुलो टकटक्याएर छपाइको काम थालेका हौं ।’
उनका अनुसार केन्द्रका मेसिनबाट राष्ट्रिय परिचयपत्र, राहदानी, लालपुर्जा, विभिन्न स्टिकर, हुलाक टिकटलगायत थुप्रै काम गर्न सकिने भए पनि लामो समयसम्म छपाइको काम हुन सकेको थिएन । लाइसेन्स, राहदानी, राष्ट्रिय परिचयपत्रलगायत छपाइ सधैँ विदेशी कम्पनीलाई ठेक्का दिएर रकम बाहिर जाने अवस्था र सुरक्षाको सवाल पनि उठ्ने गरेको थियो । सञ्चारमन्त्री खरेलले पूर्वाधार र स्रोतसाधन भएर पनि छपाइको काम गर्न नसकिएको अवस्थामा नीतिगत सुधार गरेर छपाइ सुरु गरिएको बताए ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस