सिक्लेस हाईड्रोपावर लिमिटेडले आगामी मङ्सिर २९ गते वार्षिक साधारणसभा गर्ने भएको छ। कम्पनीले पोखराको घारीपाटनस्थित आभ्या क्लबमा सभा आयोजना गर्ने निर्णय गरेको हो। सभामा कम्पनीका वित्तीय स्थिति, योजना तथा लाभांशसम्बन्धी महत्वपूर्ण प्रस्तावहरू पेश गरिने छन्।
कम्पनीले आर्थिक वर्ष २०८०/८१ र २०८१/८२ सम्मको संचित मुनाफाबाट सेयरधनीलाई बोनस सेयर र नगद लाभांश प्रदान गर्ने प्रस्ताव सभामा पेस गर्ने तयारी गरेको छ। प्रस्तावअनुसार कम्पनीले हालको चुक्ता पुँजीको १५ प्रतिशतका दरले १२ करोड ७५ लाख रुपैयाँ बराबरको बोनस सेयर वितरण गर्नेछ। साथै, कर प्रयोजनका लागि ०.७८९ प्रतिशतले हुने ६७ लाख १० हजार ५२६ रुपैयाँ ३२ पैसा बराबरको नगद लाभांश प्रस्तावित छ। साधारणसभाले यी प्रस्ताव स्वीकृत गरेपछि सेयरधनीले लाभांश प्राप्त गर्नेछन्।
बोनस सेयर वितरणपछि वृद्धि हुने चुक्ता पुँजीका आधारमा कम्पनीले एक बराबर एकको अनुपातमा शतप्रतिशत हकप्रद सेयर निष्काशन गर्ने निर्णय पनि गरेको छ। कम्पनीका अनुसार आगामी जलविद्युत् परियोजनामा लगानी विस्तार गर्न हकप्रद सेयरको रकम उपयोग गरिनेछ।
कम्पनीले साधारणसभा तथा लाभांश प्रयोजनका लागि मङ्सिर १८ गते बुक क्लोज मितिको घोषणा गरेको छ। यस कारण मङ्सिर १७ गतेसम्म नाम दर्ता भई सेयर राख्ने सेयरधनी मात्र सभामा सहभागी हुन र प्रस्तावित लाभांश प्राप्त गर्न योग्य हुनेछन्।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस