नेपालमा पहिलो पटक ग्रीन स्किल्स एडभाइजरी बोर्ड (जीसाब) को औपचारिक शुभारम्भ गरिएको छ । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम (सीटीईभीटी) प्रणालीलाई हरित सीपसँग जोड्न र दिगो रोजगारी तथा विकासलाई प्रोत्साहन गर्न सार्वजनिक तथा निजी क्षेत्रका सरोकारवालाहरूको सहकार्यमा यो बोर्डको गठन गरिएको हो ।
बोर्डले नेपालमा हरित सीपसम्बन्धी सचेतना अभिवृद्धि गर्ने, वातावरणमैत्री तालिम नीति निर्माणका लागि संवाद गर्ने, तालिम प्रवर्द्धन र रोजगारीका अवसर सिर्जना गर्न ठोस कदम चाल्ने लक्ष्य राखेको छ । विशेष गरी दिगो कृषि, वातावरणमैत्री निर्माण, पर्यटन लगायतका क्षेत्रमा हरित सीपलाई प्रोत्साहन गर्ने योजनासहित यस बोर्डको स्थापना गरिएको हो ।
बोर्डको शुभारम्भ कार्यक्रममा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव चुडामणि पौडेलले विश्वव्यापी रूपमा बढिरहेको तापक्रम, कार्बन उत्सर्जन तथा विभिन्न वातावरणीय प्रभावका कारण मानव स्वास्थ्य सहित समग्र विश्वमा गम्भीर नकारात्मक असरहरू देखापरेको सन्दर्भमा यो पहलले महत्तपूर्ण योगदान गर्ने अपेक्षा गरिएको बताए । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले विश्वव्यापी रूपमा बढ्दो जलवायु परिवर्तन, कार्बन उत्सर्जन र वातावरणीय चुनौतीले हामीलाई नयाँ सोच, नयाँ सीप र नयाँ अभ्यासतर्फ अघि बढ्नु पर्ने बताए ।
नेपालका लागि बेलायतका राजदूत रब फेनले नेपालले सन् २०४५ सम्ममा नेट जेरो कार्बन उत्सर्जन हासिल गर्ने लक्ष्यलाई यो पहलले योगदान गर्ने बताए । सीटीईभीटीका सदस्य सचिव इन्जिनियर महेश भट्टराईले नेपाललाई हरित सीपको माग सम्बोधन गर्न साझेदारी विकास गर्ने र कार्बन न्यूट्रालिटी हासिल गर्ने राष्ट्रिय लक्ष्यमा योगदान पुर्याउन बोर्डले सहयोग गर्ने बताए ।
नेपाल उद्योग परिसंघका अध्यक्ष वीरेन्द्र राज पाण्डेले वातावरण मैत्री सीपको विकास, प्रवद्र्धन तथा कार्यान्वनमा परिसंघ प्रतिबद्ध रहेको बताए । नेपाल निर्माण व्यवसायी महासंघका रवी सिंहले वातावरण संरक्षण र हरित सीप आजको आवश्यक्ता भए पनि हरितको नाममा विकासलाई बाधा पार्न नहुने र दिगो विकासलाई प्राथमिकता राख्नु पर्नेमा जोड दिए ।
ग्रीन स्किल्स एडभाइजरी बोर्डका सदस्य बिनोद बडालले हरित सीप नेपालको भविष्यको आवश्यकता भएको र सरकार निजी क्षेत्रबीचको सहकार्यले यसलाई अघि बढाइने बाताए । सो अवसरमा जिसाबका संयोजक प्रमोद भक्त आचार्यले हरित सीपको विविध विषय नेपालले गरिरहेका प्रयास आगामी कार्ययोजनाबारे प्रस्तुतिकरण दिएका थिए । बोर्डमा प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ र निर्माण व्यवसायी महासंघ नेपालको संस्थागत प्रतिनिधित्व रहेको छ ।
कार्यक्रममा, नेपाल उद्योग वाण्ज्यि महासंघ र प्राविधिक शिक्षा तथा ब्यवशायिक तालिम परिषद लाई सन २०२५ को Going Global Partnership (GGP) Award पनि हस्तान्तरण गरिएको थियो । GGP Award उच्च शिक्षा र TVET को क्षेत्रमा British Council प्रत्येक वर्ष प्रदान गर्ने गर्दछ । यो वर्ष जम्मा १०५ आवेदन मध्ये British Council बाट सहयोग प्राप्त ५ परियोजनाहरु छनौट मा परेका थिए । यस साझेदारीमा वेलायत का ४ संस्थाहरु तथा नेपालका तर्फ बाट नेपाल उद्योग वाणिज्य महासंघ को नेतृत्वमा नीजि तथा सार्वजनिक क्षेत्रका संस्थाहरु सम्मिलित छन् ।
उक्त अर्वाड नेपालमा हरित सीप विकास तथा सार्वजनिक तथा निजी क्षेत्रबीच सहकार्यका लागि गरेको पहलको फलस्वरुप going global conference 2025 मा शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयका सचिवले ग्रहण गरी उक्त दिन महासंघ लाई हस्तान्तरण गर्नुभएको थियो ।
सन् २०२४ को अप्रीलमा ब्रिटिश काउन्सिलको पहलमा सम्पन्न भएको सार्वजनिक तथा निजी क्षेत्रका सरोकारवालाहरुको सम्मेलनले नेपालमा हरित सीप प्रवद्र्धन गर्नको लागि बेलायतको नमूनाबाट प्रेरित भई एक उच्चस्तरीय संयन्त्र गठन गर्नु पर्ने निश्कर्ष निकालेको थियो । जिसाबलाई ब्रिटिश काउन्सिल नेपालले प्राविधिक सहयोग उपलब्ध गराइरहेको छ भने नेपाल उद्योग वाणिज्य महासंघले सचिवालयको भूमिका निर्वाह गर्दै सहयोग गरिरहेको छ । बेलायत स्थित Exeter कजेल लगायतका संस्थाहरुको हरित सीप सम्बन्धि अनुभव र सल्लाह मार्फत एडभाइजरी सहयोग प्रदान गरिरहेका छन् ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस