Like us!
Follow us!
Connect us!
Watch us!

नेपाल सेयर बजार लगानीकर्ता संघको आग्रह, 'पुँजी बजारमा भएको व्यथितिप्रति सबै एक जुट हौँ '

अर्थ संसार

बुधबार, २४ मंसिर २०८२, ०७ : ५७ मा प्रकाशित

नेपाल सेयर बजार लगानीकर्ता संघको आग्रह, 'पुँजी बजारमा भएको व्यथितिप्रति सबै एक जुट हौँ '

नेपाल सेयरबजार लगानीकर्ता संघले आम लगानीकर्ताहरुलाई पुँजी बजारमा भएका व्यथितिप्रति सबै एक जुट हुन आग्रह गरेको छ । संघका महासचिव खगेन्द्रराज कँडेलले एक पत्र लेख्दै सेयर बजारमा भएका व्यथितिहरु विरुद्ध सबै एकजुट हुन आग्रह गरेका हुन् । 

समस्त आदरणीय शेयर बजार लगानीकर्ता महानुभावहरू, नेपाल शेयर लगानीकर्ता संघ का कार्यसमिति तथा सदस्य साथीहरु, समस्त बौद्धिक जगत र आम नेपाली नेपाली दिदीबहिनी दाजुभाइहरु!

हार्दिक नमस्कार 

​आज म तपाईंहरू सामु  नेपाल शेयर बजार लगानीकर्ता संघ महासचिव को औपचारिक पोशाकमा मात्र होइन,  तपाईंहरू जस्तै बजारको उतारचढावमा पसिना र सपना मिसाएको एक साथी र व्यक्तिगत लगानीकर्ता को रूपमा उपस्थित भएको छु। मेरा शब्दहरू आज नियम वा कानुनका होइनन्, बरु मनका गहिराइबाट निस्केको पीडा अनि उज्यालो भविष्य प्रति  जिम्मेवारीका छन्।

​हामीले आफ्नो गाँस काटेर, ऋण गरेर, भविष्यको एउटा सुन्दर तस्बिर कोर्दै बजारमा लगानी गरिरहेका हुन्छौं। शेयर बजार हाम्रा लागि केवल कागजको टुक्रा वा अंकहरूको खेल मात्र होइन, यो त हाम्रा सन्तानको शिक्षा, बुढेसकालको सहारा, र एउटा समृद्ध नेपाल देख्ने हाम्रो सामूहिक सपना पनि हो। त्यो भन्दा ठूलो कुरा राष्ट्र निर्माण मा आम नागरिक को प्रत्यक्ष सहभागिता को कुरा हो।

​तर, विडम्बना! तपाईंहरू सबैले भोग्नु भएकै छ— कसरी केही मुट्ठीभर आर्थिक अपराधीहरू ले यो पवित्र बजारलाई आफ्नो स्वार्थ सिद्धिको माध्यम बनाएका छन्। कलकारखाना चलाउने र रोजगारी सिर्जना गर्ने साँचो उद्यमशीलतालाई बेवास्ता गर्दै, उनीहरूले नक्कली तथ्यहरु खडा गरेर नागरिक को श्रम र सीप को पैसा लुटी रहेका छन्। उनीहरूले नियामक निकाय र राजनीतिक नेतृत्वलाई प्रदूषित पारेर हाम्रो इमानदार लगानीमाथि पटक-पटक गिद्दे नजर लगाए लुछाचुँडी  गरिरहेका छन्।

​जब हामीले सुशासन  र तथ्यपरक वित्तीय विवरण को माग गर्यौ तब हामीमाथि  विभिन्न तिक्दम गरी निराशाको पानी खन्याइरहेका छन। हामीले विश्वास गरेको नेतृत्व र नियामक निकायमा बसेका केही लाचार र भ्रष्ट पात्रहरूले आर्थिक अपराधीसँग मिलेर हाम्रो पसिनाको सम्पत्तिलाई आफनो  पोल्टा मा हालिरहेका छन् हामीलाई टुलु टुलु हेरेर बस्न बाध्य बनाई रहेका छन।

यही कारण हामीले के भोगी रहेका छौं त....

नक्कली धन्दा र आर्थिक अपराध
उद्योग, श्रम र उत्पादनको नाममा नक्कली  तथ्यहरु खडा गरेर गैरकानूनी रूपमा अरबौं/खरबौं लुट्ने प्रवृत्तिले देशको वास्तविक विकास र अर्थतन्त्रलाई कमजोर पारेको छ।

​सुशासन र विकासमा अवरोध 
आर्थिक अपराधीहरूले गलत माध्यमबाट आर्जन गरेको पैसाको बलमा देशको सुशासन र विकासका कामहरूलाई पूर्णरूपमा ठप्प पारेका छन्।​राजनीतिक पूर्ण रुपमा प्रदूषित भएको भ्रष्ट र आर्थिक अपराधीहरूले नेताहरूलाई किन्ने, पार्टीभित्र आफ्नो स्वार्थ अनुकूलको वातावरण बनाउने र नैतिकवान् तथा इमानदार व्यक्तिहरूलाई नेतृत्वबाट हटाउने धम्की दिने, नमाने राजनीतिक नेतृत्व को सबै तह बाट निकाली दिने गरेको तीतो अनुभव नेपाली जनताले भोगेका छन्। पूर्व प्रधान मंत्री कृष्ण प्रसाद भट्टराई को इतिहास साक्षी छ। 

​नियामक निकायहरूको पदमा बसेर गर्ने बदमासी 

धितोपत्र बोर्ड (सेबोन), अर्थ मन्त्रालय लगायतका नियमनकारी निकायहरूमा बसेर पनि सही काम गर्न नसक्ने, नैतिक बल नभएका लाचार व्यक्तिहरू वा भ्रष्टहरूसँग मिलेर अवैध सम्पत्ति आर्जन गर्ने प्रवृत्तिले गर्दा आर्थिक अपराध नियन्त्रण हुन सकेको छैन।

​ एकदमै स्पष्ट छ कि अब आर्थिक अपराधीहरू विरुद्ध सशक्त आवाज उठाउन र सुशासन तथा नागरिक न्याय को लागि सबै नेपाली जनता एकजुट हुनै पर्छ।

विश्वका महान् दार्शनिकहरूले हजारौं वर्षअघि नै न्यायविहीन समाजको भयावहता औंल्याएका थिए ।प्रसिद्ध अङ्ग्रेजी दार्शनिक जोन लक (John Locke) भन्छन्:
"Where-ever law ends, tyranny begins." (जहाँ कानुन समाप्त हुन्छ, त्यहीँ निरंकुशता सुरु हुन्छ।) यसले स्पष्ट पार्छ कि यदि कानुन कार्यान्वयन गर्ने निकायहरू कमजोर र भ्रष्ट भए, वा तिनीहरूलाई आर्थिक अपराधीहरूले किने भने, देशमा सुशासन होइन, निरङ्कुशता हावी हुन्छ।

अर्का दार्शनिक प्लेटो (Plato) ले न्यायको महत्त्वबारे भनेका छन्: "Justice in the life and conduct of the State is possible only when it resides in the hearts and souls of the citizens."(राज्यको जीवन र आचरणमा न्याय तब मात्र सम्भव हुन्छ जब यो नागरिकको हृदय र आत्मामा बस्छ।)आज, नागरिकको हृदयमा न्यायको ज्वाला दन्किरहेको छ, तर त्यसलाई शान्त पार्ने नैतिक बल नियामक निकायहरूमा किन छैन?

हाम्रो पूर्वीय दर्शनमा पनि , शासकको धर्म र नागरिकको कर्तव्यलाई सर्वोपरी मानिन्छ। 'श्रीमद्भागवत गीता' को एउटा प्रसिद्ध श्लोकले कर्तव्यको महत्त्व दर्शाउँछ:
"तिम्रो अधिकार कर्म गर्नमा मात्र छ, फलमा कहिल्यै छैन। तिमी कर्मको फलको हेतु नबन, र कर्म नगर्ने आशक्ति पनि नराख।"

हामी नियामक निकायमा बसेका पदाधिकारीहरूलाई आग्रह गर्दछौं— तपाईंको कर्तव्य (कर्म) सुशासन कायम गर्नु र नागरिकको सम्पत्तिको रक्षा गर्नु हो। फल (सम्पत्ति) को लोभमा परेर आफ्नो कर्म र धर्म नबिर्सिनुहोस्।

अन्त्यमा, हामी सबैलाई थाहा छ— जनता नै जनार्दन हुन्।
​जनताको तागत भनेको लाखौं इमानदार लगानीकर्ताको सङ्ख्या हो। जनताको बल भनेको न्याय र सत्यप्रतिको अटल विश्वास हो। यदि 'पानीभित्रको ओभानो' (भ्रष्टाचारलाई ढाकछोप गर्ने) प्रवृत्ति नियन्त्रण भएन भने, हामी हाम्रो सामूहिक शक्ति प्रदर्शन गर्न बाध्य हुनेछौं।

​हाम्रो अपिल स्पष्ट छ:
​राजनीति र नियामक निकायको शुद्धीकरण बिना आर्थिक अपराध नियन्त्रण सम्भव छैन।

इमान्दार कर्मचारी हरूले ​धितोपत्र बोर्ड, अर्थ मन्त्रालय र अख्तियार लगायतका सबै ले सत्य र न्याय को पक्षमा उभिने नैतिक तागत देखाउनुहोस्।

​ मलाई विश्वास र भरोसा छ हामी  लगानीकर्ताहरु एक जुट भएर र सुशासन तथा नागरिक न्यायको लागि लड्ने नै छौ।

जय लगानीकर्ता 
जय पुँजी बजार 
जय नेपाल खगेन्द्र राज कँडेल(रविन कँडेल)

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Viber

सम्बन्धित खबर

धेरै पढिएको