Like us!
Follow us!
Connect us!
Watch us!

रास्वपाले विधान संशोधनपछि बालेन्द्र शाहलाई संसदीय दलको नेता बनाउने

अर्थ संसार

शुक्रबार, २९ फागुन २०८२, १४ : ०१ मा प्रकाशित

रास्वपाले विधान संशोधनपछि बालेन्द्र शाहलाई संसदीय दलको नेता बनाउने

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले संसदीय दलको नेता चयन गर्ने प्रक्रिया थप सहज र व्यावहारिक बनाउन आफ्नो पार्टी विधान संशोधन गर्ने तयारी थालेको छ। अहिलेको व्यवस्थाअनुसार संसदीय दलको नेता छनोट गर्न पार्टीका सबै साधारण सदस्यले मतदान गर्न पाउने प्रावधान छ।  पार्टीको विधानको धारा ६६ मा संसदीय दलको नेता चयनसम्बन्धी व्यवस्था उल्लेख गरिएको छ। उक्त धाराको उपधारा ८(ख) मा पार्टीका सबै साधारण सदस्यलाई मतदाता हुने अधिकार दिइएको छ। तर पार्टी नेतृत्वका अनुसार देशभरका सबै सदस्यलाई सहभागी गराएर मतदान प्रक्रिया सञ्चालन गर्नु व्यावहारिक रूपमा कठिन हुने निष्कर्ष निकालिएको छ।

यस कारण अब संसदीय दलका निर्वाचित सांसदहरूबीचबाट मात्र नेता चयन गर्ने व्यवस्था स्पष्ट पार्ने गरी विधान संशोधन गर्ने तयारी गरिएको बताइएको छ। हालको व्यवस्थाअनुसार प्रत्यक्ष तथा समानुपातिक प्रणालीबाट निर्वाचित सांसदहरूमध्ये ५० प्रतिशतभन्दा बढी मत प्राप्त गर्ने उम्मेदवार संसदीय दलको नेता बन्न सक्ने प्रावधान रहेको छ। यही आधारमा पार्टीभित्र वरिष्ठ नेता बालेन्द्र शाहलाई सर्वसम्मत रूपमा संसदीय दलको नेतामा चयन गर्ने तयारी भइरहेको बताइएको छ। पार्टीको विधानअनुसार सरकारको नेतृत्व संसदीय दलको नेताले गर्ने भएकाले उनलाई भावी प्रधानमन्त्रीको उम्मेदवारका रूपमा अघि सार्ने योजना बनाइएको छ।

यसअघि रवि लामिछाने र बालेन्द्र शाहबीच भएको सहमतिका क्रममा पनि भावी प्रधानमन्त्रीका रूपमा बालेन्द्र शाहलाई अघि सार्ने सहमति भएको थियो। पुस १३ गते भएको सहमतिपत्रमा पार्टीको केन्द्रीय सभापति रवि लामिछाने रहने र प्रतिनिधिसभा निर्वाचनपछि संसदीय दलको नेता तथा भावी प्रधानमन्त्रीका उम्मेदवार बालेन्द्र शाह हुने उल्लेख गरिएको थियो।

प्रत्यक्ष र समानुपातिक दुवैतर्फको निर्वाचन परिणाम सार्वजनिक भइसकेकाले अब निर्वाचन आयोगबाट प्रमाणपत्र प्राप्त भएपछि संसदीय दलको नेता चयन गर्ने प्रक्रिया अघि बढ्ने तयारी गरिएको छ।

 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको