मंसिर २५ गते बिहीबार घोराही सिमेन्ट इण्डष्ट्री लिमिटेडको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ। कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि मंसिर २६ गते शुक्रबार एक दिनका लागि सेयर कारोबार बन्द गर्ने निर्णय गरेको छ।
यसका आधारमा मंसिर २५ गतेसम्म नेप्सेमा सेयर खरिद–बिक्री भइ नामसूचीमा कायम सेयरधनीहरुले कम्पनीको पाँचौं वार्षिक साधारण सभामा सहभागिता जनाउन तथा प्रस्तावित लाभांश प्राप्त गर्ने अधिकार पाउनेछन्।
कम्पनीले पुस १४ गते सोमबार दाङ जिल्लाको घोराही उपमहानगरपालिका–१५ मा अवस्थित होटल पौवामा पाँचौं वार्षिक साधारण सभा आयोजना गर्न लागेको हो। सभा बिहान ९ बजेदेखि शुरु हुनेछ।
साधारण सभामा हाल कायम चुक्ता पूँजीको १० प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव पेश गरिनेछ। सो बोनस सेयरमा लाग्ने कर प्रयोजनका लागि ०.५२६३ प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पनि सभामा समावेश गरिएको छ।
त्यसैगरी, सभामा कम्पनीको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई आवश्यक अख्तियारी दिने, हालको चुक्ता पूँजी र सञ्चित नाफाको कूल रकमभन्दा बढी विभिन्न बैंक तथा वित्तीय संस्थाबाट लिइएको ऋण अनुमोदन गर्ने प्रस्तावहरु प्रस्तुत गरिनेछन्। साथै संस्थापक सेयरधनीहरुको तर्फबाट सञ्चालक निर्वाचन, लेखापरीक्षक नियुक्ति तथा पारिश्रमिक निर्धारणसम्बन्धी प्रस्तावहरूमाथि पनि छलफल गरी निर्णय गरिने कम्पनीले जनाएको छ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस