Like us!
Follow us!
Connect us!
Watch us!

नेपालमा विश्व लगानीकर्ता सप्ताह २०२५ सुरु, पुँजी बजार सचेतनाका लागि देशव्यापी कार्यक्रम सञ्चालन

अर्थ संसार

विहीबार, २५ मंसिर २०८२, ०८ : २१ मा प्रकाशित

नेपालमा विश्व लगानीकर्ता सप्ताह २०२५ सुरु, पुँजी बजार सचेतनाका लागि देशव्यापी कार्यक्रम सञ्चालन

नेपालमा विश्व लगानीकर्ता सप्ताह २०२५ देशव्यापी रूपमा मनाइँदै छ। उक्त सप्ताह मिति २०८२ मंसिर २५ गतेदेखि पुस २ गतेसम्म विभिन्न सचेतनामूलक तथा शैक्षिक कार्यक्रमहरू आयोजना गरी सञ्चालन भइरहेको छ।

देशको आर्थिक विकासका लागि आवश्यक पुँजी परिचालनलाई प्रभावकारी बनाउन पुँजी बजारको विस्तार, लगानीकर्ताको हित संरक्षण तथा धितोपत्रको निष्कासन, खरिद–बिक्री र विनिमयलाई व्यवस्थित गर्ने उद्देश्यसहित स्थापित नेपाल धितोपत्र बोर्डले विश्व लगानीकर्ता सप्ताहलाई हरेक वर्ष विशेष प्राथमिकताका साथ मनाउँदै आएको छ।

विश्वभरका पुँजी बजार नियामक निकायहरूको अन्तर्राष्ट्रिय संस्था इन्टरनेशनल अर्गनाइजेसन अफ सेक्युरिटिज कमिसन्स (IOSCO) को आह्वानमा सन् २०१७ देखि विश्व लगानीकर्ता सप्ताह विश्वव्यापी रूपमा आयोजना हुँदै आएको हो। IOSCO को एशोसिएट सदस्य राष्ट्रका रूपमा नेपालले पनि २०१७ सालदेखि निरन्तर रूपमा उक्त सप्ताहमा सहभागिता जनाउँदै आएको छ।

विश्व लगानीकर्ता सप्ताह २०२५ का मुख्य विषयवस्तुहरुमा प्रविधि तथा डिजिटल वित्त, कृत्रिम बौद्धिकता, वित्तीय ठगी तथा ठगी नियन्त्रण, क्रिप्टो सम्पत्ति तथा लगानीका आधारभूत ज्ञान समावेश गरिएका छन्। यी विषयमार्फत लगानीकर्तालाई आधुनिक वित्तीय प्रणाली, सम्भावित जोखिम तथा सुरक्षित लगानी अभ्यासबारे जानकारी दिने उद्देश्य राखिएको बोर्डले जनाएको छ।

नेपाल धितोपत्र बोर्डको संयोजनमा नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल स्टक एक्सचेञ्ज, सिडिएस एण्ड क्लियरिङ्ग, स्टक ब्रोकर्स एशोसिएसन अफ नेपाल, मर्चेन्ट बैंकर्स एशोसिएसन अफ नेपाल, नेपाल प्राइभेट इक्युटी एशोसिएसन, स्टक डिलर कम्पनी तथा क्रेडिट रेटिङ्ग कम्पनीहरूको संयुक्त सहकार्यमा देशभर विभिन्न कार्यक्रम सञ्चालन भइरहेको छ।

यस सप्ताहको प्रमुख लक्ष्य पुँजी बजार सम्बन्धी सचेतना विस्तार गर्दै लगानीकर्तालाई सूचित र विवेकपूर्ण लगानी निर्णय लिन सक्षम बनाउनु रहेको छ। साथै, भौगोलिक तथा जनसांख्यिक आधारमा फरक–फरक लक्षित वर्गलाई पुँजी बजार र वित्तीय साक्षरतामा सहभागी गराउँदै बजारप्रतिको विश्वास अभिवृद्धि गर्ने उद्देश्यसमेत रहेको बोर्डले स्पष्ट पारेको छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Viber

सम्बन्धित खबर

धेरै पढिएको