नेपाल राष्ट्र बैंकको पछिल्लो तथ्यांक अनुसार नेपालको अर्थतन्त्र लयमा रहेको देखिएको छ । सोमबार सार्वजनिक भएको देशको पछिल्लो आर्थिक स्थिति अनुसार अधिकांश सूचकहरु सकारात्मक देखिएका हुन् ।
पछिल्लो तथ्यांक अनुसार चार महिनाको अवधिमा नेपाल भित्रिने रेमिट्यान्स, विदेशी मुद्राको सञ्चिति अधिका मात्रामा बढेको छ । त्यस्तै मूल्यवृद्धि यो अवधिमा घटेको राष्ट्र बैंकको तथ्यांकले देखाएको छ । नेपाल राष्ट्र बैंकले सोमबार सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय अवस्थासम्बन्धी चालू आर्थिक वर्षको चार महिनाको तथ्यांकले मूल्य वृद्धिदर घट्दै गएको देखिएको हो । साउनदेखि कात्तिकसम्म वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति १.११ प्रतिशतमा सिमित भएको छ । मुद्रास्फीति भनेको पैसाको मूल्य घट्नु र वस्तु तथा सेवाको मूल्य बढ्नु हो । राष्ट्र बैंकका अनुसार अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ५.६० प्रतिशत थियो ।
समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ३.३२ प्रतिशतले ऋणात्मक रहेको छ भने गैरखाद्य तथा सेवा समूहको मुद्रास्फीति ३.६९ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यी समूहहरूको मुद्रास्फीति क्रमशः ९.१० प्रतिशत र ३.६५ प्रतिशत रहेको थियो । प्रतिवेदनअनुसार आर्थिक वर्ष २०८२/८३ को ४ महिनाको औसत मुद्रास्फीति १.५३ प्रतिशत रहेको छ । अघिल्लो वर्षकोे सोही अवधिको औसत मुद्रास्फीति ४.५९ प्रतिशत रहेको थियो । चार महिनामा खाद्य तथा पेय पदार्थ समूहअन्तर्गत घ्यू तथा तेल उपसमूहको वार्षिक विन्दुगत उपभोक्ता मूल्य सूचकांक ५.२५ प्रतिशत, गैरमदिराजन्य पेय पदार्थको ३.६१ प्रतिशत र दुग्ध पदार्थ तथा अण्डाको १.९७ प्रतिशतले बढेको छ । तरकारी उपसमूहको वार्षिक विन्दुगत उपभोक्ता मूल्य सूचकांक १४.४३ प्रतिशत, मरमसलाको ७.८५ प्रतिशत र दाल तथा गेडागुडीको ५.३६ प्रतिशतले घटेको छ ।
प्रतिवेदनअनुसार गैरखाद्य तथा सेवा समूहअन्तर्गत विविध वस्तु तथा सेवा उपसमूहको वार्षिक विन्दुगत उपभोक्ता मूल्य सूचकांक १५.१७ प्रतिशत, शिक्षाको ७.५६ प्रतिशत, कपडाजन्य तथा जुत्ताचप्पलको ६.२९ प्रतिशत, सुर्तीजन्य पदार्थको ४.८४ प्रतिशत र फर्निसिङ तथा घरायसी उपकरणको ४.५५ प्रतिशतले बढेको छ । समीक्षा महिनामा ग्रामीण क्षेत्रको वार्षिक विन्दुगत उपभोक्ता मूल्य सूचकांक ०.६६ प्रतिशतले र सहरी क्षेत्रको वार्षिक विन्दुगत उपभोक्ता मूल्य सूचकांक १.२६ प्रतिशतले बढेको छ ।
प्रदेशगतरूपमा समीक्षा महिनामा कोशी प्रदेशकोे वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति १.८० प्रतिशत, मधेश प्रदेशको १.७३ प्रतिशत, बागमती प्रदेशको ०.८१ प्रतिशत, गण्डकी प्रदेशको ०.३७ प्रतिशत, लुम्बिनी प्रदेशको १.२७ प्रतिशत, कर्णाली प्रदेशको १.०८ प्रतिशत र सुदूरपश्चिम प्रदेशको ०.२६ प्रतिशत रहेको छ । समीक्षा महिनामा काठमाडौं उपत्यकाको वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति १.१६ प्रतिशत, तराईको १.२४ प्रतिशत, पहाडको ०.८८ प्रतिशत र हिमालको १.०६ प्रतिशत रहेको छ ।
कात्तिक महिनामा वार्षिक विन्दुगत थोक मुद्रास्फीति २.६५ प्रतिशत रहेको छ । अघिल्लो वर्षकोे सोही महिनामा यस्तो मुद्रास्फीति ५.१६ प्रतिशत रहेको थियो । समीक्षा महिनामा उपभोग्य वस्तुको वार्षिक विन्दुगत थोक मुद्रास्फीति १.९१ प्रतिशत रहेको छ भने मध्यवर्ती वस्तु र पुँजीगत वस्तुको वार्षिक विन्दुगत थोक मुद्रास्फीति क्रमशः ३.१४ प्रतिशत र २.२६ प्रतिशत रहेको छ । समीक्षा महिनामा निर्माण सामग्रीको थोक मूल्य सूचकांक ३.२४ प्रतिशतले बढेको प्रतिवेदनमा उल्लेख छ ।
करिब सात खर्ब रेमिट्यान्स
चालू आर्थिक वर्षको पछिल्लो ४ महिनाको अवधिमा झण्डै ७ खर्ब रुपैयाँबराबरको रेमिट्यान्स भित्रिएको छ । राष्ट्र बैंकका अनुसार आर्थिक वर्ष २०८२÷८३ को चार महिनामा रेमिट्यान्स ३१.४ प्रतिशतले बढेर ६ खर्ब ८७ अर्ब १३ करोड पुगेको हो । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ९.४ प्रतिशतले बढेको थियो । राष्ट्र बैंकका अनुसार २०८२ कात्तिक महिनामा रेमिट्यान्स् १ खर्ब ३३ अर्ब ८२ करोड रहको छ । अघिल्लो वर्षको सोही महिनामा रेमिट्यान्स १ खर्ब १४ अर्ब ३१ करोड रहेको थियो । समीक्षा अवधिमा अमेरिकी डलरमा विप्रेषण आप्रवाह २५.५ प्रतिशतले बढेर ४ अर्ब ८८ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह ८.२ प्रतिशतले बढेको थियो । समीक्षा अवधिमा खुद द्वितीय आय अर्थात् खुद ट्रान्सफर ७ खर्ब ५४ अर्ब ९३ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय ५ खर्ब ६९ अर्ब २९ करोड रहेको थियो । समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या भने १ लाख ४५ हजार ९७३ र पुनः श्रम स्वीकृति लिनेको संख्या १ लाख २७ हजार ८३७ रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या क्रमशः एक लाख ४७ हजार ७४८ र ९४ हजार १०५ रहेको थियो ।
३० खर्ब ५५ अर्ब विदेशी मुद्रा
नेपाल राष्ट्र बैंकको ढुकुटीमा ३० खर्ब ५५ अर्ब रुपैयाँबराबरको विदेशी मुद्रा सञ्चिति देखिएको छ । राष्ट्र बैंकका अनुसार २०८२ असार मसान्तमा २६ खर्ब ७७ अर्ब ६८ करोड बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति १४.१ प्रतिशतले बढेर २०८२ कात्तिक मसान्तमा ३० खर्ब ५५ अर्ब ५२ करोड पुगेको हो । अमेरिकी डलरमा यस्तो सञ्चिति २०८२ असार मसान्तमा १९ अर्ब ५० करोड रहेकोमा २०८२ कात्तिक मसान्तमा १०.३ प्रतिशतले बढेर २१ अर्ब ५२ करोड पुगेको छ । कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति २०८२ असार मसान्तमा २४ खर्ब १४ अर्ब ६४ करोड रहेकोमा २०८२ कात्तिक मसान्तमा १२.८ प्रतिशतले बढेर २७ खर्ब २४ अर्ब ६६ करोड पुगेको छ । बैंक तथा वित्तीय संस्था (नेपाल राष्ट्र बैंकबाहेक)सँग रहेको विदेशी विनिमय सञ्चिति २०८२ असार मसान्तमा २ खर्ब ६३ अर्ब ४ करोड रहेकोमा २०८२ कात्तिक मसान्तमा २५ दशमलव आठ प्रतिशतले बढे ३ खर्ब ३० अर्ब ८५ करोड कायम भएको छ । २०८२ कात्तिक मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २१.९ प्रतिशत रहेको राष्ट्र बैंकको भनाइ छ ।
राष्ट्र बैंकका अनुसार आर्थिक वर्ष २०८२/८३को चौथो महिनासम्मको आयातलाई आधार मान्दा बैंकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति २० महिना ८ दिनको वस्तु आयात र १७ महिना ४ दिनको महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिन्छ ।
चालू र शोधानान्तर खाता बचतमा
मुलुकको चालू खाता बचतमा देखिएको छ । नेपाल राष्ट्र बैंकका अनुसार चालू आर्थिक वर्षको कात्तिक मसान्तसम्ममा चालू खाता २ खर्ब ७९ अर्ब ६५ करोडले बचतमा देखिएको हो । अघिल्लो वर्षको सोही अवधिमा चालू खाता १ खर्ब ४७ अर्ब ७८ करोडले बचतमा रहेको थियो । राष्ट्र बैंकका अनुसार अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा एक अर्ब १० करोडले बचतमा रहेको चालू खाता समीक्षा अवधिमा १ अर्ब ९९ करोडले बचतमा रहेको छ । समीक्षा अवधिमा खुद पुँजीगत ट्रान्सफर ६ अर्ब २१ करोड रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर २ अर्ब ४७ करोड रहेको थियो । यसैगरी, समीक्षा अवधिमा २ अर्ब ४९ करोड प्रत्यक्ष वैदेशिक लगानी (इक्विटी मात्र) भित्रिएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो प्रत्यक्ष वैदेशिक लगानी (इक्विटी मात्र) ५ अर्ब ७६ करोड रहेको थियो । समीक्षा अवधिमा शोधनान्तर स्थिति भने ३ खर्ब १८ अर्ब ४० करोडले बचतमा देखिएको छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति २ खर्ब ५ अर्ब ८३ करोडले बचतमा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा एक अर्ब ५३ करोडले बचतमा रहेको शोधनान्तर स्थिति समीक्षा अवधिमा २ अर्ब २६ करोडले बचतमा रहेको छ ।
खुद सेवा आय भने पछिल्लो अवधिमा ३२ अर्ब ९१ करोडले घाटामा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा खुद सेवा आय २२ अर्ब ३७ करोडले घाटामा रहेको प्रतिवेदनमा उल्लेख छ । सेवा खाताअन्तर्गत समीक्षा अवधिमा भ्रमण आय ०.९ प्रतिशतले बढेर २७ अर्ब १५ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय २६ अर्ब ९० करोड रहेको थियो । प्रतिवेदनअनुसार चालू आवको कात्तिक मसान्तसम्ममा सेवा खाताअन्तर्गत भ्रमण व्यय ११.८ प्रतिशतले बढेर ७५ अर्ब ७४ करोड पुगेको छ । यसमध्ये शिक्षातर्पmको व्यय ४८ अर्ब २६ करोड रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा भ्रमण व्यय ६७ अर्ब ७५ करोड रहेकोमा शिक्षातर्फको व्यय ३७ अर्ब ७७ करोड रहेको प्रतिवेदनमा उल्लेख छ ।
पुँजी बजारमा २०८ अंकको गिरावट
नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार एक वर्षको अवधिमा नेप्से परिसूचकमा २०८.२१ अंकले गिरावट आएको छ । गत वर्षको कात्तिक मसान्तमा २७४८.७९ रहेको नेप्से सूचकाङ्क २०८२ कात्तिक मसान्तमा २५४०.५८ कायम भएको छ । टद्ध। २०८२ कात्तिक मसान्तमा धितोपत्र बजार पँुजीकरण ४२ खर्ब ६५ अर्ब ६८ करोड रुपैयाँ कायम भएको छ । २०८१ कात्तिकमसान्तमा बजार पुँजीकरण ४३ खर्ब ७६ अर्ब ९० करोड रुपैयाँ रहेको थियो ।
२०८१ कात्तिक मसान्तमा बजार पुँजीकरण कुल गार्हस्थ्य उत्पादनको ७६.६७ प्रतिशत रहेकोमा २०८२ कात्तिक मसान्तमा ६९.८५ प्रतिशत रहेको छ । २०८२ कात्तिकमसान्तमा नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा सूचीकृत कम्पनीहरूको सङ्ख्या २८३ पुगेको छ । सूचीकृत कम्पनीहरूमध्ये १३३ बैंक तथा वित्तीय संस्था र बीमा कम्पनी रहेका छन्भने ९७ जलविद्युत्कम्पनी, २४ उत्पादन तथा प्रशोधन उद्योग, ८ होटल, ७ लगानी कम्पनी, ४ व्यापारिक संस्था र १० अन्य समूहका रहेका छन् । २०८१ कात्तिकमा सूचीकृत कम्पनीहरूको सङ्ख्या २६७ रहेको थियो । सूचीकृत कम्पनीहरूमध्ये बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीको धितोपत्र बजार पुँंजीकरणको हिस्सा ५२.७ प्रतिशत रहेको छ ।
त्यसैगरी, जलविद्युत्कम्पनीको हिस्सा १५.४ प्रतिशत, लगानी कम्पनीको हिस्सा ७.५ प्रतिशत, उत्पादन तथा प्रशोधन उद्योगको हिस्सा ५.९ प्रतिशत, व्यापारिक संस्थाको हिस्सा ५.० प्रतिशत, होटलको हिस्सा २.९ प्रतिशत तथा अन्य समूहका कम्पनीहरूको हिस्सा १०.६ प्रतिशत रहेको छ । नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा २०८२ कात्तिक मसान्तमा सूचीकृत रु.९ अर्ब २ करोड सेयरको चुक्ता मूल्य रु.८८९ अर्ब ५३ करोड रहेको छ । आर्थिक वर्ष २०८२÷८३ को चार महिनामा रु.१९ अर्ब २ करोड बराबरको साधारण सेयर, रु.५ अर्ब ४१ करोड बराबरको हकप्रद सेयर, रु.५ अर्ब बराबरको म्युचुअल फन्ड, रु.३ अर्ब ४० करोड बराबरको डिबेन्चर, रु.२ अर्ब ४० करोड बराबरको बोनस सेयर र रु.९२ करोड ५० लाख बराबरको एफपीओ गरी कुल रु.३६ अर्ब १६ करोड बराबरको थप धितोपत्र सूचीकृत भएका छन् । समीक्षा अवधिमा नेपाल धितोपत्र बोर्डले रु.९ अर्ब ४३ करोड बराबरको म्युचुअल फण्ड, रु.३ अर्ब ७८ करोड बराबरको हकप्रद सेयर र रु.३ अर्ब ३७ करोड बराबरको साधारण सेयर गरी कुल रु.१६ अर्ब ५७ करोड बराबरको धितोपत्र सार्वजनिक निष्काशनका लागि अनुमति दिएको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस