नेकपा एमालेका नेता पदम गिरीले देशको राष्ट्रियता संकटमा परेको उल्लेख गर्दै एमाले केपी ओलीकै नेतृत्वमा अघि बढ्नुपर्ने आवश्यकता रहेको बताएका छन् । बुधबार नेकपा एमालेको ११औं राष्ट्रिय महाधिवेशनको बन्दसत्रस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले देश अहिले संवेदनशील अवस्थामा रहेको, संविधान र राष्ट्रियताको रक्षा गर्न दृढ तथा बलियो नेतृत्व अपरिहार्य भएको बताए।
उनका अनुसार वर्तमान परिस्थितिमा केपी ओलीको नेतृत्वमा पार्टी अघि बढ्नुपर्छ भन्नेमा अधिकांश प्रतिनिधिहरूको मानसिकता तयार भइसकेको छ। साथै, उनले ११औं महाधिवेशन भव्य र सभ्य रूपमा सम्पन्न भइरहेको पनि जानकारी दिए।
उनले भने, ‘यो महाधिवेशन अत्यन्त भव्य र सभ्य रुपले सम्पन्न हुँदैछ । आफ्नो नेता चयन गर्ने कुरामा महाधिवेशन प्रतिनिधिहरु लाइनमा लागेर खुशीयालीको वातावरणमा अभिमतमार्फत आफ्नो नेता चयन गर्दै हुनुहुन्छ । यसले पनि ११ औं महाधिवेशनमा ऐतिहासिक नै भएको छ । सबै कुरा नियमित रुपमा भइरहेको छ । मुलुक अत्यन्तै अफ्ठ्यारो स्थितिमा छ । लोकतन्त्रमाथि एक किसिमको आक्रमण भइरहेको छ । संविधानको रक्षा गर्नुपर्ने स्थिति छ, मुलुकको राष्ट्रियता संकटको स्थितिमा छ । यस्तो परिस्थितिमा एमालेमा दृढ र बलियो नेतृत्वको आवश्यकता छ । यो नेकपा एमालेको मात्रै महाधिवेशन होइन, सिंगो राष्ट्रको हो । केपी ओलीको नेतृत्वमा अघि बढ्नुपर्छ भन्ने हिसावले सबै प्रतिनिधिको मानसिकता देखिएको छ ।’
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस