नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८२/८३ पहिलो चौमासको समीक्षागत तथ्याङ्कले मुलुकभर बैंकिङ सञ्जालको विस्तार र बैंकहरूको पुँजीगत अवस्था सन्तोषजनक रहेको देखाएको छ । कात्तिक मसान्तसम्मको उक्त समीक्षा प्रतिवेदनअनुसार नेपालमा इजाजत पत्र प्राप्त बैंक तथा वित्तीय संस्थाहरूको सङ्ख्या र विस्तारित शाखाहरूले वित्तीय पहुँचमा नयाँ उचाई कायम गर्न सफल भएको छ ।
२०८२ कात्तिक मसान्त सम्ममा नेपालमा १०७ वटा इजाजत पत्र प्राप्त बैंक तथा वित्तीय संस्थाहरू सञ्चालनमा रहेका छन् । जसमा वाणिज्य बैंक २०, विकास बैंक १७, वित्त कम्पनी १७, लघुवित्त वित्तीय संस्था ५२ र पूर्वाधार विकास बैंक एउटा रहेको छ । यी सबै वित्तीय संस्थाहरूको देशभर शााखा सञ्जालको संख्या ११ हजार पाँच सय १६ पुगेको छ । नागरिकहरूको बैंकिङ प्रणालीमा आकर्षण पहुँच बढ्दै जाँदा निक्षेप खाताको सङ्ख्या छ करोड आठ लाख ७१ हजार पुगेको छ भने कर्जा खाताको सङ्ख्या १९ लाख ९४ हजार रहेको छ ।
राष्ट्र बैंकको उक्त प्रतिवेदनअनुसार बैंक तथा वित्तीय संस्थाहरूको पुँजीगत अवस्था जोखिम बहन गर्न सक्ने गरी सुरक्षित देखिएको छ । ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाहरूको औसत प्राथमिक पुँजी र पुँजीकोषको जोखिम भारित सम्पत्तिको अनुपात क्रमशः नौ दशमलव ८० प्रतिशत र १२ दशमलव ८९ प्रतिशत कायम भएको छ । यसले नेपाली बैंकहरू अन्तर्राष्ट्रिय मापदण्ड र राष्ट्र बैंकको निर्देशनअनुसार पर्याप्त पुँजी कायम गर्न सफल भएको देखाएको छ ।
त्यस्तै, निक्षेप र तरलताको अवस्था समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाहरूमा रहेको निक्षेप तीन दशमलव एक प्रतिशत अर्थात् दुई खर्ब २२ अर्ब ३८ करोड रुपैयाँले वृद्धि भइ कुल ७४ खर्ब ८६ अर्ब २५ करोड रुपैयाँ पुगेको छ । कुल निक्षेपमा मुद्दती निक्षेपको हिस्सा ४५ दशमलव छ प्रतिशत र बचत निक्षेपको हिस्सा ३९ दशमलव दुई प्रतिशत रहेको छ । बैंकहरूको खुद तरल सम्पत्ति र निक्षेपको अनुपात ३५ दशमलव १६ प्रतिशत रहेको छ, जसले बैंकहरूसँग लगानीका लागि पर्याप्त नगद मौज्दात रहेको पुष्टि गरेतापनि निष्क्रिय कर्जा र आगामी चुनौती वित्तीय सूचकहरू बलियो देखिए पनि बैंकहरूको निष्क्रिय कर्जामा भने चाप देखिएको छ । २०८२ असोज मसान्तको तथ्यांकअनुसार निष्क्रिय कर्जा अनुपात पाँच दशमलव २६ प्रतिशत पुगेको छ । यद्यपि, बैंकहरूसँग रहेको विदेशी विनिमय सञ्चितिले १७ दशमलव चार महिनाको वस्तु तथा सेवा आयात धान्न सक्ने सहज अवस्था रहेकाले बाह्य क्षेत्रको चाप बैंकिङ प्रणालीमा कम नै देखिएको छ ।
पछिल्लो समयमा बैंकहरूमा तरलता अधिक भएकै कारण ब्याजदरमा उल्लेख्य गिरावट आएको छ । २०८१ कात्तिकमा सात दशमलव शून्य दुई प्रतिशत रहेको वाणिज्य बैंकहरूको औसत आधार दर अहिले पाँच दशमलव ४४ प्रतिशतमा झरेको छ । यसैगरी विकास बैंकहरूको सात दशमलव ७४ प्रतिशत र फाइनान्स कम्पनीहरूको आठ दशमलव ३९ प्रतिशत आधारदर कायम भएको छ । नेपाल राष्ट्र बैंकको तथ्यांकले बैंकहरू भौतिक रूपमा मात्र नभइ पुँजीगत रूपमा पनि सबल हुँदै गएको देखाउँछ । निष्क्रिय कर्जामा केही सुधार गर्नुपर्ने आवश्यकता रहे पनि पर्याप्त तरलता र न्यून ब्याजदरले आगामी दिनमा लगानीको वातावरण अझ सहज हुने संकत गरेको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस