भारतको अर्थतन्त्रको आकारले जापानलाई उछिनेर विश्वको चौथो ठूलो अर्थतन्त्रको स्थान हासिल गरेको छ। भारत सरकारको वार्षिक आर्थिक समीक्षा अनुसार सन् २०२५ मा भारतको अर्थतन्त्रको आकारले विश्वमा चौथो स्थान प्राप्त गरेको हो।
भारतीय सञ्चारमाध्यमहरूका अनुसार आर्थिक समीक्षामा हालको आर्थिक प्रवृत्तिलाई हेर्दा आगामी तीन वर्षभित्र भारतले जर्मनीलाई समेत उछिनेर विश्वको तेस्रो ठूलो अर्थतन्त्र बन्ने अपेक्षा गरिएको छ। समीक्षामा भारतको कुल गार्हस्थ उत्पादन (जीडीपी) करिब ४ खर्ब १८ अर्ब अमेरिकी डलर पुगेको उल्लेख छ। साथै, सन् २०३० सम्ममा यो ७ खर्ब ३० अर्ब अमेरिकी डलर बराबर पुग्ने अनुमान गरिएको छ।
गत आर्थिक वर्ष २०२५–२६ को दोस्रो त्रैमासिकमा भारतको वास्तविक जीडीपी ८.२ प्रतिशतले वृद्धि भएको छ। जुन अघिल्लो त्रैमासिकमा ७.८ प्रतिशत थियो। निर्यात क्षेत्रमा देखिएको सुधारका कारण गत नोभेम्बर महिनामा व्यापारिक निर्यात ३८.१३ अर्ब अमेरिकी डलर पुगेको छ। जुन जनवरी महिनामा ३६.४३ अर्ब अमेरिकी डलर थियो। इन्जिनियरिङ सामग्री, इलेक्ट्रोनिक्स, औषधि तथा पेट्रोलियम उत्पादनहरूले निर्यात वृद्धिलाई समर्थन गरेका छन्।
यद्यपि भारत जापानलाई उछिनेको विषयमा अन्तिम आधिकारिक पुष्टि सन् २०२६ मा वार्षिक जीडीपीसम्बन्धी तथ्याङ्क सार्वजनिक भएपछि मात्र हुने जनाइएको छ। अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले भारतले आगामी वर्ष जापानलाई उछिन्ने प्रक्षेपण गरिसकेको छ। यसैबीच, भारतीय रिजर्भ बैंकले २०२५–२६ आर्थिक वर्षका लागि आर्थिक वृद्धिदरको पूर्वानुमान ७.३ प्रतिशतमा परिमार्जन गरेको छ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस