बैंक तथा वित्तीय संस्थाहरूको खराब कर्जा बढेसँगै गैर–बैंकिङ सम्पत्ति पनि बढ्दै गएको छ । ६ महिनामा वाणिज्य बैंकहरूको गैर–बैंकिङ सम्पत्ति करिब २० प्रतिशतले बढेको हो ।
आर्थिक वर्ष २०८२/०८३ को ६ महिनामा वाणिज्य बैंकहरुको गैर बैंकिङ सम्पत्ति ४६ अर्ब ५६ करोड १७ लाख रुपैयाँ पुगेको छ । जुन अघिल्लो आवको सोही अवधिको तुलनामा ७ अर्ब ६९ करोड ३० लाख रुपैयाँ अर्थात् १९.८० प्रतिशतले बढी हो । गत आव २०८१÷०८२ को ६ महिनामा वाणिज्य बैंकहरुको गैर बैंकिङ सम्पत्ति ३८ अर्ब ८६ करोड ८६ लाख रुपैयाँ रहेको थियो ।
समीक्षा अवधिमा ४ बैंकको गैर बैंकिङ सम्पत्ति घटेको छ भने १५ बैंकको बढेको छ । समीक्षा अवधिमा राष्ट्रिय वाणिज्य बैंक, एभरेष्ट बैंक, माछापुच्छ्रे र कुमारी बैंकको गैर बैंकिङ सम्पत्ती घटेको छ । अन्य १५ वटा बैंकको गैर बैंकिङ सम्पत्ती बढेको छ ।
कुन बैंकको गैर बैंकिङ सम्पत्त कति ?
वाणिज्य बैंकहरुमध्ये ४ वटाको गैर बैंकिङ सम्पत्ती गत आर्थिक वर्षको तुलनामा घटेको छ भने १५ वटा बैंकको गैर बैंकिङ सम्पत्ती बढेको छ ।
यी हुन गैर बैंकिङ सम्पत्ती घटेका ४ बैंक
६ महिनाको अवधिमा राष्ट्रिय वाणिज्य बैंकको गैर बैंकिङ सम्पत्ती २.९८ प्रतिशतले घटेको छ । अघिल्लो वर्षको पुस मसान्तसम्ममा २९ करोड ७६ लाख रुपैयाँ रहेको गैर बैंकिङ सम्पत्ति चालु आर्थिक वर्षको ६ महिनाको अवधिमा बैंकको गैर बैंकिङ सम्पत्ती २८ करोड ८७ लाख रुपैयाँको रहेको छ । त्यस्तै साउन महिनादेखि पुस मसान्तसम्ममा एभरेष्ट बैंकसँग ५१ करोड ६९ लाख रुपैयाँको गैर बैंकिङ सम्पत्ति रहेको छ । जुन गत आवको ६ महिनाको तुलनामा ०.६७ प्रतिशतले कम हो । गत आवमा बैंकसँग ५२ करोड ४ लाख रुपैयाँ बराबरको गैर बैंकिङ सम्पत्ति थियो ।
त्यस्तै माछापुच्छ्रे बैंकको गैर बैंकिङ सम्पत्ती पनि घटेको छ । यो बैंकसँग ६ महिनामा ६० करोड रुपैयाँ बराबरको गैर बैंकिङ सम्पत्ति रहेको छ । यो गत आवको सोही अवधिको तुलनामा ४३.८६ प्रतिशतले कम हो । गत आवको पुससम्म बैंकसँग १ अर्ब ७ करोड रुपैयाँको गैर बैंकिङ सम्पत्ति रहेको थियो । चालु आर्थिक वर्षको दोस्रो त्रैमासिकसम्मको अवधिमा कुमारी बैंकसँग २ अर्ब ४९ करोड ४ लाख रुपैयाँको गैर बैंकिङ सम्पत्ति रहेको छ । जुन गत आवको ६ महिनाको तुलनामा ६.६३ प्रतिशतले कम हो । गत आवमा बैंकसँग २ अर्ब ६६ करोड ७३ लाख रुपैयाँ बराबरको गैर बैंकिङ सम्पत्ति होल्ड थियो ।
यी हुन गैर बैंकिङ सम्पत्ती बढेका १५ वटा वाणिज्य बैंक
पछिल्लो समय लिलामिका राखिएको धितो बिक्री नहुँदा बैंकले नै सर्कानु पर्ने अवस्था रहेको छ । जसले गर्दा बैंकहरुको गैर बैंकिङ सम्पत्ती बढीरहेको छ । जसले गर्दा अहिले बैंकहरुलाई गैरबैंकिङ सम्पत्ती टाउको दुखाइको विषय भइरहेको छ । चालु आवको ६ महिनामा नेपाल बैंकको गैर बैंकिङ सम्पत्ती २९.४५ प्रतिशतले बढेको छ । यो अवधिसम्ममा यो बैंकमा कुल २६ करोड ४२ लाख रुपैयाँ गैर बैंकिङ सम्पत्ति रहेको छ । गत आवको ६ महिनामा बैंकसँग २० करोड ४१ लाख रुपैयाँ गैर बैंकिङ सम्पत्ति रहेको थियो । त्यस्तै यो अवधिसम्ममा नबिल बैंकको गैर बैंकिङ सम्पत्ति ०.०३ प्रतिशतले बढेको छ । चालु आवको ६ महिनामा बैंकसँग ३ अर्ब ४१ करोड ४१ लाख रुपैयाँको गैर बैंकिङ सम्पत्ति रहेको छ । अघिल्लो आवमा बैंकसँग ३ अर्ब ४१ करोड ३३ लाख रुपैयाँ बराबरको थियो ।
नेपाल इन्भेष्टमेन्ट मेगा बैंक (एनआईएमबी) सँग गैर बैंकिङ सम्पत्ति ३ अर्ब ८७ करोड ९४ लाख रुपैयाँ रहेको छ । यो गत आवको ६ महिनाको तुलनामा २५.७८ प्रतिशतले बढी हो । गत आवमा बैंकको यस्तो सम्पत्ति ३ अर्ब ८ करोड ४३ लाख रुपैयाँ रहेको थियो । त्यस्तै हिमालयन बैंकसँग चालु आवको पुस मसान्तसम्म ६ अर्ब १३ करोड १ लाख रुपैयाँ गैर बैंकिङ सम्पत्ती रहेको छ । गत आवको सोही अवधिमा बैंकको यस्तो सम्पत्ति ४ अर्ब २५ करोड ६ लाख रुपैयाँ रहेको थियो । गत आवको सोही अवधिको तुलनामा चालु आवमा बैंकको यस्तो सम्पत्ति ४४.२१ प्रतिशतले बढेको हो । त्यस्तै नेपाल एसबीआई बैंकको गैर बैंकिङ सम्पत्ती १ अर्ब २ करोड रुपैयाँ पुगेको छ । यो गत आवको सोही अवधिको तुलनामा १८८.२७ प्रतिशतले बढी हो । गत आवको सोही अवधिमा बैंकको यस्तो सम्पत्ति ३५ करोड ३९ लाख रुपैयाँ मात्रै गैर बैंकिङ सम्पत्ती रहेको थियो ।
त्यस्तै यो अवधिमा एनआईसी एशिया बैंकको गैर बैंकिङ सम्पत्ती ५.९७ प्रतिशतले बढेको छ । चालु आर्थिक वर्षको ६ महिनामा एनआईसी एशिया बैंकको गैर बैंकिङ सम्पत्ति ४ अर्ब ३१ करोड ७४ लाख रुपैयाँ पुगेको छ । गत आवमा बैंकसँग यस्तो सम्पत्ति ४ अर्ब ७ करोड ४१ लख रुपैयाँ रहेको थियो । त्यस्तै लक्ष्मी सनराइज बैंकको गैर बैंकिङ सम्पत्ति ४२.२१ प्रतिशतले बढेको छ । चालु आवको ६ महिनामा बैंकको गैर बैंकिङ सम्पत्ति २ अर्ब २४ करोड ९० लाख रुपैयाँ रहेको छ । गत आवको सोही अवधिमा बैंकको यस्तो सम्पत्ति १ अर्ब ५८ करोड १५ लाख रुपैयाँ रहेको थियो ।
त्यस्तै सिद्धार्थ बैंकको गैर बैंकिङ सम्पत्ती ९.६८ प्रतिशतले बढेको छ । चालु आवको पुस मसान्तसम्मको अवधिमा बैंकसँग ७७ करोड २० लाख रुपैयाँ बराबरको गैर बैंकिङ सम्पत्ति रहेको छ । गत आवको ६ महिनामा बैंकको गैर बैंकिङ सम्पत्ति ७० करोड ३८ लाख रुपैयाँ रहेको थियो । त्यस्तै कृषि विकास बैंकको गैर बैंकिङ सम्पत्ती ३१.६१ प्रतिशतले वृद्धि भएको छ । यो बैंकको गैर बैंकिङ सम्पत्ती गत आवको ६ महिनामा १ अर्ब १ करोड ५७ लाख रुपैयाँ रहेको थियो । यो चालु आवको ६ महिनामा बढेर १ अर्ब ३३ करोड ६८ लाख रुपैयाँ पुगेको छ ।
त्यस्तै ग्लोबल आइएमई बैंकको गैर बैंकिङ सम्पत्ती चालु आर्थिक वर्षको ६ महिनासम्मको अवधिमा ५ अर्ब ९९ करोड ८७ लाख रुपैयाँ पुगेको छ । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ७.७० प्रतिशतले धेरै हो । गत आवको सोही अवधिसम्ममा यो बैंकको गैर बैंकिङ सम्पत्ती ५ अर्ब ५६ करोड ८९ लाख रुपैयाँ रहेको थियो । त्यस्तै सिटिजन्स बैंकको गैर बैंकिङ सम्पत्ती पनि ३२.६९ प्रतिशतले बढेको छ । चालु आर्थिक वर्षको ६ महिनासम्मको अवधिमा यो बैंकसँग १ अर्ब २७ करोड ५० लाख रुपैयाँको गैर बैंकिङ सम्पत्ति रहेको छ । गत आवको सोही अवधिमा बैंकसँग ९६ करोड ८ लाख रुपैयाँको गैर बैंकिङ सम्पत्ति रहेको थियो ।
प्राइम कमर्सियल बैंकको गैर बैंकिङ सम्पत्ति ११८.०८ प्रतिशतले बढेको छ । गत आवको ६ महिनामा २ अर्ब २ करोड ४४ लाख रुपैयाँ रहेको गैर बैंकिङ सम्पत्ति चालु आर्थिक वर्षको ६ महिनासम्मको अवधिमा बढेर ४ अर्ब ४१ करोड ५४ लाख रुपैयाँ पुगेको छ । त्यस्तै एनएमबी बैंकको गैर बैंकिङ सम्पत्ति १ अर्ब ८३ करोड २६ लाख रुपैयाँ पुगेको छ । यो गत आवको सोही अवधिको तुलनामा ६२.९० प्रतिशतले बढी हो । गत आवको सोही अवधिमा बैंकको गैर बैंकिङ सम्पत्ति १ अर्ब १२ करोड ५० लाख रुपैयाँ रहेको थियो ।
गत आर्थिक वर्षको पुस मसान्तसम्मको अवधिमा प्रभु बैंकको गैर बैंकिङ सम्पत्ति १ अर्ब २१ करोड ७२ लाख रुपैयाँ रहेको थियो । चालु आर्थिक वर्षको ६ महिनाको अवधिमा यस्तो सम्पत्ती ४४.१८ प्रतिशतले बढेर १ अर्ब ७५ करोड ५० लाख रुपैयाँ पुगेको छ । त्यस्तै सानिमा बैंक गैर बैंकिङ सम्पत्ति ३९.२९ प्रतिशतले बढेको छ । बैंकको गैर बैंकिङ सम्पत्ती चालु आर्थिक वर्षको ६ महिनासम्मको अवधिमा १ अर्ब १ करोड ८४ लाख रुपैयाँको पुगेको छ । गत आवको ६ महिनासम्ममा बैंकसँग ७३ करोड ११ लाख रुपैयाँ बराबरको गैर बैंकिङ सम्पत्ती रहेको थियो ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस