चितवनको ब्रह्मनगर क्षेत्रमा स्थापना गरिएको सांग्रिला डिष्टिलरी लिमिटेडले व्यावसायिक उत्पादन औपचारिक रूपमा सुरु गरेको छ। उत्पादन क्षमता, पूर्वाधार र प्रविधिको दृष्टिले यो उद्योग देशकै ठूलो र उन्नत डिष्टिलरीमध्ये एकका रूपमा उभिएको कम्पनीले जनाएको छ।
सिमलटाडी क्षेत्रमा करिब ८० हजार वर्गफिट भूभागमा फैलिएको उद्योग परिसरमा आधुनिक संरचना निर्माण गरिएको छ। यहाँ अत्याधुनिक मदिरा भण्डारण प्रणाली, ब्लेन्डिङ ट्यांक, होल्डिङ ट्यांक तथा पूर्ण स्वचालित उत्पादन मेसिनरी जडान गरिएको छ। अन्तर्राष्ट्रिय उत्पादन मापदण्डलाई ध्यानमा राखेर डिजाइन गरिएको संरचनाले गुणस्तर र सुरक्षा मापदण्ड पूरा गर्ने कम्पनीको दाबी छ।
डिष्टिलरीले २५ यूपी, ३० यूपी, ४० यूपी र ७० यूपी श्रेणीका विभिन्न मदिरा उत्पादन गर्ने जनाएको छ। कम्पनीका प्रमुख ब्रान्डहरूमा तेजस गोल्ड ह्विस्की, तेजस ब्ल्याक ह्विस्की, रिफ भोड्का र भी८ प्रिमियम भोड्का रहेका छन्। यी उत्पादनमा उन्नत फिल्टरेसन प्रणाली र आयातित स्कटिस माल्टको प्रयोग गरिने बताइएको छ, जसबाट स्थिर गुणस्तर र अन्तर्राष्ट्रिय स्तरको स्वाद सुनिश्चित गरिने कम्पनीको भनाइ छ।
उद्योग सञ्चालनको प्रारम्भिक चरणमै २०० भन्दा बढी व्यक्तिले प्रत्यक्ष रोजगारी पाएका छन्। यसबाहेक कच्चा पदार्थ आपूर्ति, कृषि उत्पादन, ढुवानी, वितरण र अन्य सहायक क्षेत्रमा अप्रत्यक्ष रोजगारीका अवसरसमेत सिर्जना भएको कम्पनीले जनाएको छ।
मूल्य अभिवृद्धि कर र अन्तःशुल्कमार्फत राष्ट्रिय राजस्व संकलनमा पनि उद्योगले महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ। चितवन र आसपासका क्षेत्रमा आर्थिक गतिविधि विस्तार हुँदै स्थानीय अर्थतन्त्रमा सकारात्मक प्रभाव पर्ने विश्वास व्यक्त गरिएको छ।
सांग्रिला डिष्टिलरीले आन्तरिक बजारसँगै अन्तर्राष्ट्रिय बजारमा पनि प्रवेश गर्ने योजना अघि बढाएको छ। प्रारम्भिक चरणमा अस्ट्रेलियामा वितरण सञ्जाल विस्तार गर्ने तयारी गरिएको छ। निर्यातमुखी रणनीतिले नेपाली मदिरालाई अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा उभ्याउने र विदेशी मुद्रा आम्दानीमा टेवा पुर्याउने लक्ष्य राखिएको कम्पनीले जनाएको छ।
कम्पनीको नेतृत्व प्रबन्ध निर्देशक प्रजन्न राज अधिकारीले गरिरहेका छन्। उनले अस्ट्रेलियाका विश्वस्तरीय डिष्टिलरी र मिश्रण कार्यशालामा हासिल गरेको अनुभवलाई नेपालमा प्रयोग गर्दै उद्योग सञ्चालन गरिरहेको जानकारी दिए। गुणस्तर, नवीनता र शिल्पकौशलको संयोजनमार्फत घरेलु तथा अन्तर्राष्ट्रिय बजारमा सशक्त उपस्थिति कायम गर्ने लक्ष्य रहेको उनको भनाइ छ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस