पछिल्लो एक साताको अवधिमा नेपाली बजारमा सुनको मूल्य उल्लेखनीय रूपमा उकालो लागेको छ । अन्तर्राष्ट्रिय बजारमा देखिएको उतारचढाबको प्रभाव स्वदेशी बजारमा समेत परेसँगै यो साता सुनको मूल्य प्रतितोला १० हजार २०० रुपैयाँले वृद्धि भएको हो। यो वृद्धि अघिल्लो साताको तुलनामा ३.३५ प्रतिशतले बढी हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, गत फागुन ८ गते शुक्रबार प्रतितोला ३ लाख ४ हजार ७ सय रुपैयाँमा कारोबार भएको सुन एक सातापछि अर्थात फागुन १५ गतेसम्म आइपुग्दा ३ लाख १४ हजार ९०० रुपैयाँ पुगेको छ। साताको सुरुवात नै उच्च वृद्धिसँग भएको थियो । फागुन १० गते आइतबार सुनको मूल्य एकैदिन ५ हजार ६०० रुपैयाँले बढेर प्रतितोला ३ लाख १० हजार ३०० रुपैयाँ पुगेको थियो । त्यसको भोलिपल्ट अर्थात फागुन ११ गते पुनः ३ हजार २०० रुपैयाँले बढ्दै सुन ३ लाख १३ हजार ५०० रुपैयाँमा कारोबार भयो ।
फागुन १२ गते सुन थप बढेर ३ लाख १४ हजार ८ सय रुपैयाँ कायम भयो। फागुन १३ गते भने मूल्य स्थिर रहँदै अघिल्लो दिनकै दरमा कारोबार भयो। त्यसपछि फागुन १४ गते सुनको मूल्य फेरि उकालो लागेर ३ लाख १५ हजार ४०० रुपैयाँ पुग्यो, जुन यस साताकै उच्च बिन्दु रह्यो ।
साताको अन्तिम दिन फागुन १५ गते सुनको मूल्यमा सामान्य करेक्सन देखियो। सो दिन ५०० रुपैयाँले घट्दै प्रतितोला ३ लाख १४ हजार ९०० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ।
समग्रमा हेर्दा साताभर चार दिन मूल्य वृद्धि, एक दिन स्थिर र एक दिन सामान्य गिरावट देखिएको छ। बजार विश्लेषकहरूका अनुसार अन्तर्राष्ट्रिय बजारमा बढ्दो माग, डलर विनिमय दरको प्रभाव तथा भू–राजनीतिक अनिश्चितताले सुनको मूल्यमा दबाब सिर्जना गरेको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस