प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ अन्तर्गत बिहीबार दिउँसो करिब ४ बजेसम्म देशभर ४५ प्रतिशत मत खसेको छ । प्राप्त अद्यावधिक तथ्याङ्कअनुसार हालसम्म देशभरका कुल १ करोड ८९ लाख ३ हजार ६ सय ८९ मतदातामध्ये ८४ लाख ६० हजार ६ सय ७७ जनाले आफ्नो मताधिकार प्रयोग गरिसकेका छन् ।
मतदानको विवरण हेर्दा काठमाडौँ उपत्यकामा मतदाताको सबैभन्दा बढी उत्साह देखिएको छ । उपत्यकाका १५ निर्वाचन क्षेत्रमा दिउँसो पौने ४ बजेसम्म ५४ प्रतिशत मत खसिसकेको छ । प्रदेशतर्फ भने गण्डकी र कर्णाली प्रदेशमा सबैभन्दा बढी मतदान भएको छ । यी दुवै प्रदेशमा समान ४८ प्रतिशत मत खसेको छ । उता, मधेस प्रदेशमा भने मतदानको प्रतिशत सबैभन्दा कम देखिएको छ । मधेसका ३२ निर्वाचन क्षेत्रमा जम्मा ३७ प्रतिशत मात्र मत खसेको तथ्याङ्कमा उल्लेख छ ।
यसैगरी, बागमती र लुम्बिनी प्रदेशमा समान ४७ प्रतिशत मतदाताले आफ्नो मताधिकार प्रयोग गरेका छन् भने कोशी प्रदेशमा ४६ प्रतिशत मत खसेको छ । सुदूरपश्चिम प्रदेशमा भने मधेसपछि सबैभन्दा कम ३९ प्रतिशत मात्र मत खसेको छ । देशभरका कुल १ सय ६५ निर्वाचन क्षेत्रका १० हजार ९ सय ६७ मतदानस्थलमा बिहानैदेखि मतदान भइरहेको छ । साँझ ५ बजेसम्म चल्ने मतदान प्रक्रियामा अझै पनि मतदाताहरू लाइनमै रहेकाले अन्तिम समयसम्ममा खसेको मतको कुल प्रतिशत उल्लेख्य रूपमा बढ्ने अनुमान गरिएको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस