प्रतिनिधि सभा निर्वाचन २०८२ अन्तर्गत काठमाडौँ क्षेत्र नम्बर १ को अन्तिम मत परिणाम सार्वजनिक हुँदा अधिकांश उम्मेदवारले आफ्नो धरौटी रकम (जमानत) जोगाउन सकेनन्। कुल २९ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा उत्रिएको सो क्षेत्रमा विजयी उम्मेदवारसहित जम्मा तीन जनाले मात्र आफ्नो जमानत जोगाउन सफल भएका हुन् ।
बाँकी २६ जना उम्मेदवारको धरौटी जफत भएको छ। निर्वाचन ऐनको परिच्छेद-१० को विविध खण्डअन्तर्गत दफा ६४ मा व्यवस्था भएबमोजिम, पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीमा खसेको जम्मा सदर मतको दश प्रतिशतभन्दा कम मत पाउने उम्मेदवारको धरौटी जफत हुने कानुनी प्रावधान छ।
यस क्षेत्रमा सबै उम्मेदवारले प्राप्त गरेको मत जोड्दा कुल सदर मत २९ हजार ८२ कायम भएको छ। यस आधारमा आफ्नो धरौटी जोगाउन कुनै पनि उम्मेदवारले कुल सदर मतको कम्तीमा १० प्रतिशत अर्थात् २ हजार ९०८ भन्दा बढी मत ल्याउनुपर्ने हुन्थ्यो।
उक्त सीमा पार गर्दै राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार रन्जु न्यौपाने जयी भइन् । यसैगरी नेपाली कांग्रेसका प्रबल थापा क्षेत्री र राष्ट्रिय प्रजातन्त्र पार्टीका रवीन्द्र मिश्रले पनि जमानत सुरक्षित गरेका छन्। निर्वाचनमा १५ हजार ४५५ मतसहित विजयी भएकी न्यौपानेसहित ६ हजार ३६४ मत ल्याएका कांग्रेसका थापा र ३ हजार ९७२ मत प्राप्त गरेका राप्रपाका मिश्र बाहेक अन्य कुनै पनि उम्मेदवारले १० प्रतिशतको थ्रेसहोल्ड कटाउन सकेनन्।
नेकपा (एमाले) जस्तो प्रमुख दलका उम्मेदवार मोहन राज रेग्मीले समेत जम्मा १ हजार ६१८ मत मात्र प्राप्त गरेपछि उनको पनि धरौटी जफत भएको छ। त्यसैगरी उज्यालो नेपाल पार्टीका मंग लाल श्रेष्ठ (४६६ मत), श्रम संस्कृति पार्टीका समिर लामा तामाङ (४२६ मत), नेपाली कम्युनिष्ट पार्टीकी मेनुका भण्डारी (३४५ मत) लगायतका दलीय उम्मेदवारहरूले जमानत जोगाउन सकेनन्।
नेपाल मजदुर किसान पार्टी, जनता समाजवादी पार्टी र नेकपा माओवादी जस्ता दलका उम्मेदवारको मतसमेत सयको आँकडा पार हुन सकेन। दलीय उम्मेदवारका अतिरिक्त यस क्षेत्रबाट प्रतिस्पर्धा गरेका कुशल खत्री, सागर जोशी, सुरेन्द्र प्रसाद ढकाल, असिम मान सिंह बस्न्यातसहितका १४ जना स्वतन्त्र उम्मेदवारहरूको पनि जमानत जफत भएको छ। त्यस्तै, शून्य मत प्राप्त गरेका नेपाल जनसेवा पार्टीका अर्जुन बहादुर शाहीसहित १ र २ मत मात्र प्राप्त गर्ने उम्मेदवारहरूले कानुनबमोजिम निर्वाचन कार्यालयमा दाखिला गरेको धरौटी रकम गुमाएका छन्।
स्मरण रहोस्, विगतमा काठमाडौँ १ बाटै मदन भण्डारी र विद्या भण्डारी विजयी भएका थिए । जुन क्षेत्रमा अहिले एमालेको जमानत नै जफत भएको हो।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस