पछिल्ला वर्षहरूमा नेपाली राजनीतिमा उद्योगी तथा व्यवसायीहरूको सहभागिता उल्लेखनीय रूपमा बढ्दै गएको छ। फागुन २१ मा सम्पन्न भएको प्रतिनिधिसभा निर्वाचनमा पनि यो स्पष्ट रूपमा देखियो।
व्यापार तथा उद्योग क्षेत्रमा सफल भई आफ्नै पहिचान बनाएका धेरै व्यवसायीहरू विभिन्न राजनीतिक दलको प्रतिनिधित्व गर्दै प्रत्यक्ष निर्वाचनमा प्रतिस्पर्धा देखिए। तर आर्थिक रूपमा सक्षम र चर्चित मानिएका व्यवसायीमध्ये धेरै उम्मेदवारहरूले भने मतदाताको विश्वास जित्न सकेनन्।
नेपालका एकमात्र डलर अर्बपति उद्योगपति विनोद चौधरी नेपाली कांग्रेसका तर्फबाट नवलपरासी बर्दघाट सुस्ता पश्चिम–१ बाट उम्मेदवार बनेका थिए। अघिल्लो निर्वाचनमा सोही क्षेत्रबाट निर्वाचित भएका चौधरी यस पटक भने राष्ट्रिय स्वतन्त्र पार्टीका विक्रम खनालसँग ३५ हजार मतान्तरले पराजित भए। खनालले ४५ हजार २४१ मत प्राप्त गर्दा चौधरीले ९ हजार ५०२ मत मात्रै पाए।
धादिङ–२ मा नेपाली कांग्रेसबाट पर्यटन व्यवसायी रमेशप्रसाद धमला उम्मेदवार बनेका थिए। ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) का पूर्वअध्यक्षसमेत रहेका उनी पहिलो पटक निर्वाचनमा होमिएका थिए। तर उनलाई राष्ट्रिय स्वतन्त्र पार्टीका बोधनारायण श्रेष्ठले पराजित गरे। श्रेष्ठले २६ हजार १४३ मत ल्याउँदा धमलाले २० हजार २७७ मत प्राप्त गरे। निर्वाचित श्रेष्ठ र धमलाबीचको मतान्तर ५ हजार ८ सय ६५ छ । त्यस्तै रुपन्देही–२ मा यशोदा फुड्सका अध्यक्ष चुन्नप्रसाद शर्मा पौडेल कांग्रेसबाट उम्मेदवार बनेका थिए। सोना प्याकेजिङ तथा होटल स्याफ्रोनका अध्यक्षसमेत रहेका उनी राष्ट्रिय स्वतन्त्र पार्टीका सुलभ खरेलसँग पराजित भए। खरेलले ५६ हजार ५५० मत ल्याउँदा पौडेलले ९ हजार ३९२ मत मात्रै पाए। पर्सा–१ मा कांग्रेसका उम्मेदवार उद्योगी अनिलकुमार रुँगटा पनि पराजित भए। जगदम्बा इन्टरप्राइजेज प्रालिका निर्देशक रहेका उनी राष्ट्रिय स्वतन्त्र पार्टीका बुद्धिप्रसाद पन्त (हरि) सँग पराजित भएका हुन्। पन्तले २७ हजार २७४ मत ल्याउँदा रुँगटाले ११ हजार ८८५ मत पाए।
कपिलवस्तु–३ मा कांग्रेस छाडेर एमालेबाट उम्मेदवार बनेका व्यवसायी वीरेन्द्रप्रसाद कनौडिया पनि पराजित भए। लुम्बिनी सुगर मिल्सका अध्यक्ष रहेका कनौडिया कांग्रेसका अभिषेकप्रताप शाहसँग पराजित भएका हुन्। शाहले २३ हजार ५३५ मत ल्याउँदा कनौडियाले १४ हजार ७६३ मत पाए।झापा–३ मा कांग्रेसले नेपाल अलैँची व्यवसायी संघका पूर्वअध्यक्ष राजेन्द्र घिमिरेलाई उम्मेदवार बनाएको थियो। तर उनी राष्ट्रिय स्वतन्त्र पार्टीका प्रकाश पाठकसँग पराजित भए। पाठकले ३८ हजार ६७४ मत ल्याउँदा घिमिरेले ८ हजार ११९ मत मात्रै पाए। धादिङ–१ मा कांग्रेसबाट पर्यटन व्यवसायी तथा नेपाल पर्यटन बोर्डका पूर्वसदस्य कृष्ण रिजाल उम्मेदवार बनेका थिए। तर उनी राष्ट्रिय स्वतन्त्र पार्टीकी आशिका तामाङसँग पराजित भए । तामाङले ३९ हजार १२८ मत ल्याउँदा रिजालले १० हजार ८० मत मात्रै पाए। काठमाडौं–८ मा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) बाट व्यवसायी सुमन सायमी उम्मेदवार बनेका थिए। कालीमाटीस्थित पुरानो मिठाई पसल ‘स्विट केभ’ का सञ्चालक रहेका उनी पनि राष्ट्रिय स्वतन्त्र पार्टीका विराजभक्त श्रेष्ठसँग पराजित भए। श्रेष्ठले २४ हजार ५९२ मत ल्याउँदा सायमीले ३ हजार २१७ मत मात्रै पाए र उनको जमानत समेत जफत भयो।
राइड–सेयरिङ सेवा प्रदान गर्ने एप ‘पठाओ’ का सञ्चालक असिममानसिंह बस्न्यातले काठमाडौं–१ बाट स्वतन्त्र उम्मेदवारी दिएका थिए। तर उनले अपेक्षाअनुसार मत प्राप्त गर्न सकेनन् र जम्मा ५० मतमै सीमित भए। यसैगरी अन्य धेरै व्यवसायी उम्मेदवारहरू पनि निर्वाचनमा सफल हुन सकेनन्। कैलाली–२ मा नेपाली कांग्रेसका विजयबहादुर स्वाँर, मोरङ–३ मा ऊर्जा तथा मेडिकल क्षेत्रका व्यवसायी डा. सुनिलकुमार शर्मा, स्याङ्जा–१ मा पूर्वबैंकर भरतराज ढकाल र गोरखा–१ मा घरजग्गा व्यवसायी प्रेमबहादुर खत्री पराजित भएका छन्। म्यानपावर व्यवसायी तिलक रानाभाट तथा व्यवसायी केशव पाण्डेले पनि हार बेहोरे।
त्यस्तै धनुषा–२ का व्यवसायी उमाशंकर अरगरिया, मोरङ–२ का उद्योगपति दिलीप अग्रवाल, स्याङ्जा–१ का पूर्वबैंकर मिनबहादुर गुरुङ, मनाङका व्यवसायी छोपाङ गुरुङ र मोरङ–५ का व्यवसायी मनोज अग्रवाल पनि निर्वाचनमा सफल हुन सकेनन्। यसका साथै झापा–१ का दुग्ध व्यवसायी रामचन्द्र उप्रेती, स्याङ्जा–२ का व्यवसायी खिम थापा, झापा–४ का म्यानपावर व्यवसायी एलपी साँवा लिम्बू तथा काभ्रे–१ का पर्यटन व्यवसायी अमित लामा पनि पराजित भएका छन्।
त्यसैगरी नवलपुर–१ का उद्योगी भगिरथ सापकोटा, बारा–४ का उद्योगी किसान श्रेष्ठ, दाङ–२ का किरणकिशोर घिमिरे, इलाम–१ का रनबहादुर राई, दोलखाका ऊर्जा व्यवसायी पार्वत गुरुङ, सिराहा–४ का व्यवसायी डा. वीरेन्द्रप्रसाद महतो, स्याङ्जा–२ का यातायात व्यवसायी भागवत मल्ल, काभ्रे–२ की पर्यटन व्यवसायी ज्योत्सना सैँजु, अछाम–१ का पूर्वबैंकर झपट बोहरा तथा कैलाली–५ का काठ व्यवसायी प्रेमबहादुर आले पनि चुनावमा पराजित भए।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस