Like us!
Follow us!
Connect us!
Watch us!

बैंक तथा वित्तीय संस्थाको सुनचाँदी धितो कर्जा करिब एक खर्ब - कसले कति दिए ?

अर्थ संसार

बुधबार, २७ फागुन २०८२, १२ : २१ मा प्रकाशित

बैंक तथा वित्तीय संस्थाको सुनचाँदी धितो कर्जा करिब एक खर्ब - कसले कति दिए ?

सुनचाँदी धितो अर्थात् गोल्ड लोन शीर्षकमा बैंक तथा फाइनान्स कम्पनीहरूले झण्डै १ खर्ब रुपैयाँबराबरको कर्जा प्रवाह गरेको देखिएको छ । नेपाल राष्ट्र बैंकका अनुुसार चालू आर्थिक वर्षको पुस मसान्तसम्ममा सुनचाँदी धितोमा मात्र बैंक तथा फाइनान्स कम्पनीहरूले ९९ अर्ब ३० करोड २० लाख रुपैयाँ बराबरको कर्जा प्रवाह गरेको देखिएको हो । 

यस अवधिमा बैैंकिङ क्षेत्रको कुल निक्षेप तथा कर्जा प्रवाह रकम भने क्रमशः ७७ खर्ब २३ अर्ब ९९ करोड ५० लाख र ५७ खर्ब ८१ अर्ब ४५ करोड ५० लाख रुपैयाँ रहेको छ । राष्ट्र बैंकका अनुसार बैंकिङ क्षेत्रले सुनचाँदी धितोमा प्रवाह गरेको कर्जा गत आवको सोही अवधिको तुलनामा ३० अर्ब ६० करोड ७० लाख रुपैयाँले बढी हो । गत आवको सोही अवधिमा बैंक तथा फाइनान्स कम्पनीहरूले ६७ खर्ब ३७ अर्ब ५८ करोड २० लाख रुपैयाँ निक्षेप संकलन गरी ५४ खर्ब २८ अर्ब ६२ करोड ५० लाख रुपैयाँ कर्जा प्रवाह गर्दा सुनचाँदी धितोमा मात्र ६८ अर्ब ६९ करोड ५० लाख रुपैयाँबराबरको कर्जा प्रवाह गरेका थिए । 

चालू आवको पुस मसान्तसम्ममा सञ्चालनमा रहेका २० वटा वाणिज्य बैंकहरूले मात्र कुल ६९ खर्ब ५३ अर्ब ६८ करोड ९० लाख रुपैयाँ निक्षेप संकलन गरी ५१ खर्ब ३९ अर्ब १३ करोड ५० लाख रुपैयाँ कर्जा प्रवाह गर्दा सुनचाँदी धितोमा मात्र कुल ९१ अर्ब ९४ करोड ३० लाख रुपैयाँ कर्जा प्रवाह गरेका छन् । यो कर्जा गत आवको सोही अवधिको तुलनामा २८ अर्ब ६९ करोड ६० लाख रुपैयाँले बढी हो । गत आवको सोही अवधिमा वाणिज्य बैंकहरूले ५९ खर्ब ९१ अर्ब सात करोड ८० लाख रुपैयाँ निक्षेप संकलन गरी ४८ खर्ब सात अर्ब ७१ करोड ५० लाख रुपैयाँ कर्जा प्रवाह गर्दा सुनचाँदी धितोमा मात्र कुल ६३ अर्ब २४ करोड ७० लाख रुपैयाँ कर्जा प्रवाह गरेका थिए ।

सञ्चालनमा रहेका १७ वटा विकास बैंकहरूले भने चालू आवको पुस मसान्तसम्ममा छ खर्ब ३२ अर्ब ३९ करोड रुपैैंयाँ निक्षेप संकलन गरी पाँच खर्ब ३६ अर्ब ९५ करोड ४० लाख रुपैयाँ कर्जा प्रवाह गर्दा सुनचाँदी धितोमा मात्र कुल छ अर्ब ५२ करोड ९० लाख रुपैयाँ कर्जा प्रवाह गरेका छन् । यो कर्जा गत आवको सोही अवधिको तुलनामा दुई अर्ब १६ करोड ४० लाख रुपैयाँले बढी हो । गत आवको सोही अवधिमा विकास बैंकहरूले ६ खर्ब १३ अर्ब ६७ करोड ७० लाख रुपैयाँ निक्षेप संकलन गरी ५ खर्ब ७७ अर्ब ७४ करोड २० लाख रुपैयाँ कर्जा प्रवाह गर्दा सुनचाँदी धितोमा मात्र कुल ४ अर्ब ३६ करोड ५० लाख रुपैयाँ कर्जा प्रवाह गरेका थिए ।

सञ्चालनमा रहेका १७ वटा फाइनान्स कम्पनीहरूले पनि चालू आवको पुस मसान्तसम्ममा एक खर्ब ३७ अर्ब ९१ करोड ६० लाख रुपैयाँ निक्षेप संकलन गरी एक खर्ब पाँच अर्ब ३६ करोड ६० लाख रुपैयाँ कर्जा प्रवाह गर्दा सुनचाँदी धितोमा मात्र कुल ८३ करोड रुपैयाँ कर्जा प्रवाह गरेका छन् । यो कर्जा गत आवको सोही अवधिको तुलनामा २१ करोड ६४ लाख रुपैयाँले कम हो । गत आवको सोही अवधिमा फाइनान्स कम्पनीहरूले कुल एक खर्ब ३२ अर्ब ८२ करोड ७० लाख रुपैैयाँ निक्षेप संकलन गरी एक खर्ब तीन अर्ब १६ करोड ८० लाख रुपैयाँ कर्जा प्रवाह गर्दा सुनचाँदी धितोमा मात्र कुल एक अर्ब आठ करोड ३० रुपैयाँ कर्जा प्रवाह गरेका थिए ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको