वाणिज्य बैंकहरूमा गैरबैंकिङ सम्पत्ति (एनपीए) बढ्दै गएको छ। हाल बैंकिङ क्षेत्रमा करिब ४३ अर्ब रुपैयाँभन्दा बढी गैरबैंकिङ सम्पत्ति जम्मा भएको देखिन्छ।
नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८२/८३ को साउनदेखि माघसम्मको विवरणअनुसार १९ वाणिज्य बैंकमा कुल ४४ अर्ब ४४ करोड ४६ लाख रुपैयाँबराबरको गैरबैंकिङ सम्पत्ति रहेको छ। गत आर्थिक वर्षको यही अवधिमा यस्तो रकम ३५ अर्ब ८२ करोड ५४ लाख रुपैयाँ थियो। यस आधारमा समीक्षा अवधिमा गैरबैंकिङ सम्पत्ति २१.२७ प्रतिशतले बढेको देखिन्छ। यद्यपि स्ट्यान्डर्ड चार्टर्ड बैंकमा भने यस्तो सम्पत्ति शून्य रहेको छ।
उक्त अवधिमा १४ वाणिज्य बैंकमा गैरबैंकिङ सम्पत्ति बढेको छ भने ५ बैंकमा घटेको छ। प्राइम कमर्सियल बैंक र नेपाल एसबीआई बैंकमा यसको वृद्धि उच्च देखिएको छ। कुमारी बैंक, माछापुच्छ्रे बैंक, एभरेष्ट बैंक र राष्ट्रिय वाणिज्य बैंकले भने यस्तो सम्पत्ति घटाउन सफल भएका छन्। माघसम्मको तथ्यांकअनुसार सबैभन्दा धेरै गैरबैंकिङ सम्पत्ति हिमालयन बैंकमा रहेको छ। जहाँ ६ अर्ब ९ करोड ९८ लाख रुपैयाँ बराबर पुगेको छ। अघिल्लो वर्षको तुलनामा यो ३५.९४ प्रतिशतले वृद्धि हो। त्यसपछि ग्लोबल आइएमई बैंकमा ५ अर्ब ९९ करोड ४ लाख रुपैयाँ र प्राइम कमर्सियल बैंकमा ४ अर्ब ४० करोड ५४ लाख रुपैयाँ बराबरको गैरबैंकिङ सम्पत्ति रहेको छ, जुन क्रमशः २.१९ प्रतिशत र ११७.५६ प्रतिशतले बढेको हो।
सबैभन्दा कम गैरबैंकिङ सम्पत्ति भने नेपाल बैंकमा देखिएको छ। यो अवधिसम्म बैंकमा २२ करोड ९२ लाख रुपैयाँ बराबरको यस्तो सम्पत्ति रहेको छ। जुन अघिल्लो वर्षको तुलनामा १२.३१ प्रतिशतले बढी हो।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस