निरज भट्टले ‘सक्षम नागरिक – समृद्ध डडेल्धुरा’ नामक विशेष अभियानको घोषणा गरेका छन्। नागरिक सशक्तिकरण र स्थानीय स्तरमा विकासको आधार तयार गर्ने उद्देश्यले उक्त अभियान सुरु गरिएको उनले बताएका छन्।
भट्टले सार्वजनिक अपिलमार्फत् देश निर्माणको जिम्मेवारी केवल सरकार वा नेताहरूमा सीमित नभई सचेत, सक्षम र जिम्मेवार नागरिकमा पनि निर्भर रहने उल्लेख गरेका छन्। यही सोचका साथ व्यक्तिगत लगानी र नेतृत्वमा अभियान अघि बढाइएको उनको भनाइ छ।
यस अभियान अन्तर्गत २०८३ साल वैशाखदेखि प्रत्येक महिनाको पहिलो दिन बेलुका ६ बजेदेखि ९ बजेसम्म तीन घण्टे निःशुल्क भर्चुअल अभिमुखिकरण कार्यक्रम सञ्चालन गरिनेछ। कार्यक्रममा सम्बन्धित क्षेत्रका विज्ञ, प्रशिक्षक तथा अनुभवी व्यक्तित्वहरूले प्रशिक्षण दिने व्यवस्था गरिएको छ।
वार्षिक कार्यक्रम तालिकाअनुसार उद्यमशीलता, आधुनिक कृषि, शिक्षा, पर्यटन, स्वास्थ्य, नागरिक चेतना, डिजिटल साक्षरता, कानुनी जानकारी, स्मार्ट गाउँ अवधारणा, डिजिटल अर्थतन्त्र, वित्तीय साक्षरता तथा महिला सशक्तिकरणजस्ता विषय समेटिएका छन्।
भट्टका अनुसार यो कार्यक्रम कुनै राजनीतिक उद्देश्यले नभई पूर्ण रूपमा सामाजिक पहलका रूपमा सञ्चालन गरिनेछ। उनले आफूलाई नेता नभई जिम्मेवार नागरिकका रूपमा प्रस्तुत गर्दै डडेल्धुरामा सक्षम नागरिक निर्माण गर्ने लक्ष्य लिएको बताएका छन्।
अभियानको पहिलो चरणमा सञ्चालन हुने १२ वटा कार्यक्रम पूर्ण रूपमा निःशुल्क रहनेछन्। कार्यक्रममा डडेल्धुरा जिल्लाका मतदाताहरूलाई प्राथमिकता दिइनेछ। साथै, सबै सत्रहरूको रेकर्ड गरिएको भिडियो युट्युबमार्फत सार्वजनिक गरिनेछ, जसले देशभरका नागरिकलाई समेत लाभ पुग्ने अपेक्षा गरिएको छ।
कार्यक्रमको विस्तृत स्वरूप, प्रशिक्षक तथा अतिथिसम्बन्धी थप जानकारी आगामी दिनमा सार्वजनिक गरिने भट्टले जनाएका छन्।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस