नेपालको अर्थतन्त्रमा संकुनको अवस्था देखिएको लामो समय भइसकेको छ । २०८२ साललाई बिदाइ गर्ने चरणमा पुग्दा पनि नेपालको आन्तरिक अर्थतन्त्र भने दबाबमा नै रहेको छ । बाह्य क्षेत्रका केही सूचक सकारात्मक देखिए पनि आन्तरिक अर्थतन्त्र भने दबाबमा नै रहेको सरकारी तथ्यांकहरुले देखाएका छन् ।
नेपाल राष्ट्र बैंकको पछिल्लो तथ्यांक अनुसार अर्थतन्त्रका बाह्य क्षेत्र बलियो देखिएको छ । तर, आन्तरिक अर्थतन्त्र भने कमजोर नै रहेको छ । नेपाल राष्ट्र बैंकका अनुसार चालु आवको फागुनसम्म आइपुग्दा औसत मुद्रास्फीति २.१३ प्रतिशतमा सीमति रहेको छ । यस्तै, शोधानान्तर स्थिति बचतमा रहेको छ भने विप्रेषण (रेमिटेन्स) बढ्दै गएको छ । विदेशी मुद्रा सञ्चिति पनि हालसम्मकै उच्च स्तरमा पुगेर २३ अर्ब ८ करोड अमेरिकी डलर पुगेको छ । जसबाट २१.४ महिनाको आयात धान्न सक्ने देखिन्छ । तर, पछिल्लो समय मध्यपूर्व भइरहेको युद्ध र इन्धनको मूल्यमा भएको वृद्धिले गर्दा त्यो पनि कमजोर हुने अवस्था देखिएको अर्थविद्हरुको भनाइ छ । नेपालको अर्थतन्त्रको बाह्य क्षेत्र रेमिट्यान्स, विदेशी मुद्राको सञ्चिति सकारात्मक भए पनि अन्य सूचकहरु नकारात्मक अवस्थामा रहेको अर्थविद् डा. चन्द्रमणी अधिकारीको भनाइ छ । ‘बाह्य अर्थतन्त्रमा नेपालको वैदेशिक व्यापार पनि पर्छ होला । नेपालको वैदेशिक व्यापार ठूलो घाटामा रहेको छ । यो अवस्थामा सबै बाह्य क्षेत्र भन्दा केही सूचक सकारात्मक छ,’ उनले भने ।
आन्तरिक रुपमा उत्पादन गरेर निर्यात बढी भएको भन्दा पनि बाहिरबाट ल्याएको वस्तुमा केही भ्यालु एड गरेर पठाएको सामान निर्यात बढ्नुले खासै अर्थ नराख्ने उनको भनाइ छ । अहिले देशभित्र बैंकको ब्याजदर कम हुँदापनि कर्जा प्रवाह अपेक्षिकृत रुपमा बढ्न सकेको छैन । नेपाल राष्ट्र बैंकका अनुसार कर्जा प्रवाह ४.४ प्रतिशतले मात्रै बढेको छ । जबकी गत वर्षको फागुनमा यस्तो कर्जा प्रवाह ६ प्रतिशतले बढेको थियो । राष्ट्र बैंकका अनुसार चैत २३ गतेसम्म बैंकिङ प्रणालीमा ७८ खर्ब ४२ अर्ब रुपैयाँ निक्षेप संकलन भएको छ भने ५८ खर्ब ३७ अर्ब रुपैयाँ कर्जा प्रवाह भएको छ ।
आन्तरिक क्षेत्रमा देखिएका अन्य सूचकहरु पनि कमजोर रहेका छन् । बैंकहरुको निष्क्रिय कर्जा (एनपीएल) बढ्दो छ भने ऋणीहरुले साँवा–ब्याज भुक्तानीमा कठिनाइ भोगिरहेका छन् । अहिले घरजग्गा कारोबारमा समेत गिरावट देखिएको छ । अहिलेको अवस्थामा निजि क्षेत्रको मनोबल घटीरहेको छ । यसैबीच, विश्व बैंकले नेपालको आर्थिक वृद्धि सन् २०२६ मा २.३ प्रतिशतमा सीमित हुने अनुमान गरेको छ, जुन अघिल्लो वर्षको ४.६ प्रतिशतभन्दा कम हो । विश्व बैंकको नवीनतम नेपाल डेभलपमेन्ट अपडेट अनुसार मध्यपूर्वको संघर्ष र गएको सेप्टेम्बर सन् २०२५ मा भएको आन्दोलनका कारणले अर्थतन्त्रमा दबाब परेको जनाइएको छ ।
आन्तरिक अर्थतन्त्र बलियो हुन नसक्नुको कारण लगानी नहुनु र निजी क्षेत्रको मनोबल पनि बढ्न नसक्नु रहेको अर्थविद् अधिकारीको भनाइ छ । ‘निजी क्षेत्र र सरकारी लगानी दुवै बढ्न सकेको छैन । बैंकमा पैसा छ तर कर्जा जान सकेको छैन । यो अवस्थामा अर्थतन्त्र चलायन हुन सक्दैन’ उनले भने । अर्को तर्फ विदेशमा रहेकाहरुले पनि रोजगारी गुमाउने र रेमिट्यान्स पनि कम हुने र तेलको मूल्य बढ्दा नेपालको अर्थतन्त्र थप समस्यामा पर्ने उनको भनाइ छ । अर्को तर्फ पुँजी गत खर्चमा विनियोजन पनि कम र खर्च पनि कम हुने कारणले पनि अर्थतन्त्रमा दबाब परेको उनी बताउँछन् ।
अधिकारीका अनुसार बाह्य क्षेत्रको केही सूचक मजबुतीले अर्थतन्त्रलाई केही समयका लागि दबाबबाट जोगाएको भए पनि युद्ध लम्बिदा त्यसमा पनि दबाब पर्ने छ । नेपालको आन्तरिक संरचनागत सुधार बिना दिगो आर्थिक हुन नसक्ने उनको भनाइ छ । विश्व बैंकको एक अध्ययनअनुसार राष्ट्रिय गौरवका आयोजनाहरु कार्यान्वयन गर्न औसत ४१ वर्ष लाग्ने अनुमान गरिएको छ । जसले संस्थागत ढिलासुस्तीलाई उजागर गर्दछ । यसैबीच, चालु आवको फागुनसम्म निर्यात २०.८ प्रतिशतले वृद्धि भई १ खर्ब ९१ अर्ब रुपैयाँ पुगेको छ भने आयात १२.५ प्रतिशतले बढेर १२ खर्ब ८९ अर्ब रुपैयाँ पुगेको छ ।
यससँगै व्यापार घाटा १० खर्ब ९८ अर्ब रुपैयाँ पुगेको छ । यद्यपि चालु खाता भने ५ खर्ब ५२ अर्ब रुपैयाँले बचतमा रहेको छ । जुन गत वर्षको सोही अवधिको तुलनामा उल्लेखनीय सुधार हो । राजस्व संकलनमा भने अपेक्षित प्रगति हुन सकेको छैन । सरकारले चालु आवमा १४ खर्ब ८० अर्ब रुपैयाँ राजस्व उठाउने लक्ष्य लिएको भएपनि चैत २५ गतेसम्म ८ खर्ब ३६ अर्ब रुपैयाँ मात्र संकलन भएको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस