नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड ले आफ्नो २५औँ वार्षिकोत्सवको अवसरमा निःशुल्क स्वास्थ्य शिविर तथा रक्तदान कार्यक्रम आयोजना गर्ने भएको छ।
कम्पनीले “जीवन अमूल्य छ, यसलाई सँगै उकासौँ” भन्ने सन्देशसहित सामाजिक उत्तरदायित्वअन्तर्गत उक्त कार्यक्रम सञ्चालन गर्न लागेको जनाएको छ। कार्यक्रममार्फत सर्वसाधारणमा स्वास्थ्य सचेतना अभिवृद्धि गर्नुका साथै मानव जीवन बचाउन आवश्यक रगत संकलनमा योगदान पुर्याउने लक्ष्य राखिएको कम्पनीको भनाइ छ।
कम्पनीका अनुसार निःशुल्क स्वास्थ्य शिविर वैशाख २१ र २२ गते सञ्चालन हुनेछ। बिहान ९ः३० बजेदेखि साँझ ६ः३० बजेसम्म कमलादीस्थित कम्पनीको केन्द्रीय कार्यालयमा सर्वसाधारणले स्वास्थ्य परीक्षण सेवा लिन सक्नेछन्।
स्वास्थ्य शिविरमा विभिन्न प्रारम्भिक स्वास्थ्य परीक्षण तथा परामर्श सेवा उपलब्ध गराइने जनाइएको छ। कम्पनीले आम नागरिकलाई अवसरको उपयोग गर्दै स्वास्थ्य परीक्षण गराउन आग्रह गरेको छ।
रक्तदान कार्यक्रम भने वैशाख २१ गते बिहान ९ः३० बजेदेखि दिउँसो २ बजेसम्म कमलादीस्थित हेरिटेज प्लाजामा आयोजना गरिनेछ।
काठमाडौँमा मात्रै सीमित नराखी कम्पनीले देशका सातै प्रदेशमा समेत सोही दिन रक्तदान कार्यक्रम सञ्चालन गर्ने तयारी गरेको जनाएको छ। यसबाट रक्त अभाव न्यूनीकरणमा सहयोग पुग्ने विश्वास कम्पनीले लिएको छ।
नेपाल लाइफले वार्षिकोत्सवलाई केवल औपचारिक समारोहमा सीमित नराखी समाजसँग प्रत्यक्ष जोडिने कार्यक्रममार्फत मनाउन लागेको उल्लेख गरेको छ।
कम्पनीले स्वास्थ्य परीक्षण गराउन इच्छुक तथा रक्तदान गर्न चाहने सबैलाई कार्यक्रममा सहभागी हुन अनुरोध गरेको छ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस