Like us!
Follow us!
Connect us!
Watch us!

ओरिएन्टल इन्स्योरेन्स घाटाबाट नाफामा, ९ महिनामै ३० करोड ६६ लाख रुपैयाँ कमाइ

अर्थ संसार

सोमबार, २८ बैशाख २०८३, ०८ : १३ मा प्रकाशित

ओरिएन्टल इन्स्योरेन्स घाटाबाट नाफामा, ९ महिनामै ३० करोड ६६ लाख रुपैयाँ कमाइ

ओरिएन्टल इन्स्योरेन्सले चालु आर्थिक वर्ष २०८२/८३ को तेस्रो त्रैमाससम्म उल्लेखनीय वित्तीय सुधार गरेको छ । कम्पनीले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरणअनुसार साउनदेखि चैत मसान्तसम्म ३० करोड ६६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।

गत आर्थिक वर्षको सोही अवधिमा कम्पनी १३ करोड ८३ लाख रुपैयाँ घाटामा रहेको थियो । यसपटक भने कम्पनी घाटाबाट बाहिरिँदै नाफामा फर्किएको देखिएको छ ।

कम्पनीको विशेष जगेडा कोषमा चैत मसान्तसम्म १ अर्ब ७९ करोड ४९ लाख रुपैयाँ सञ्चित रहेको छ । यस्तै महाविपत्ति कोषमा ७ करोड ६७ लाख रुपैयाँ, सञ्चित मुनाफामा १२ लाख १५ हजार रुपैयाँ तथा अन्य इक्विटीमा ८७ करोड ४९ लाख रुपैयाँ रहेको छ ।

अघिल्लो आर्थिक वर्षको असार मसान्तसम्म विशेष जगेडा कोष १ अर्ब ६६ करोड ११ लाख रुपैयाँ, महाविपत्ति कोष ६ करोड ३३ लाख रुपैयाँ र अन्य इक्विटी ७८ करोड १९ लाख रुपैयाँ थियो । त्यतिबेला सञ्चित मुनाफा भने ६ करोड ३० लाख रुपैयाँ ऋणात्मक अवस्थामा रहेको थियो ।

कम्पनीको बीमा कोषको आकारमा पनि उल्लेख्य वृद्धि भएको छ । चैत मसान्तसम्म बीमा कोष ८ अर्ब ८२ करोड २० लाख रुपैयाँ पुगेको छ, जुन अघिल्लो वर्षको सोही अवधिको २ अर्ब ८० करोड १९ लाख रुपैयाँको तुलनामा २१४.८५ प्रतिशतले बढी हो ।

कुल बीमाशुल्क आर्जनतर्फ कम्पनीले ९ महिनामा १ अर्ब ८० करोड ७९ लाख रुपैयाँ संकलन गरेको छ । गत वर्षको यही अवधिमा यो रकम १ अर्ब ६२ करोड ८३ लाख रुपैयाँ थियो । यस आधारमा कुल बीमाशुल्क आर्जन ११.०३ प्रतिशतले बढेको छ ।

त्यस्तै कम्पनीको खुद बीमाशुल्क आम्दानी पनि वृद्धि भएको छ । समीक्षा अवधिमा १ अर्ब ६ करोड ५९ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन भएको छ । अघिल्लो वर्ष सोही अवधिमा ८३ करोड १९ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन भएको थियो । यसले खुद व्यापार २८.१३ प्रतिशतले विस्तार भएको देखाउँछ ।

कम्पनीको सोल्भेन्सी अनुपात २.७३ रहेको छ, जुन नेपाल बीमा प्राधिकरणले निर्जीवन बीमा कम्पनीका लागि तोकेको न्यूनतम १.३ को मापदण्डभन्दा निकै माथि हो । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

धेरै पढिएको