Like us!
Follow us!
Connect us!
Watch us!

सरकारसँग ‘स्पिड’ र ‘स्प्रिट’ मिलाउन इप्पान महासचिवमा युवा इन्जिनियर मिथुन पौडेलको उम्मेदवारी घोषणा

अर्थ संसार

सोमबार, २८ बैशाख २०८३, २१ : ०७ मा प्रकाशित

सरकारसँग ‘स्पिड’ र ‘स्प्रिट’ मिलाउन इप्पान महासचिवमा युवा इन्जिनियर मिथुन पौडेलको उम्मेदवारी घोषणा

स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान) को आगामी महासचिव पदका लागि युवा इन्जिनियर तथा ऊर्जा उद्यमी मिथुन पौडेलले उम्मेदवारी घोषणा गरेका छन् । इप्पानको आगामी जेठ २९ गते हुने निर्वाचनलाई लक्षित गर्दै उनले आफ्नो उम्मेदवारी सार्वजनिक गरेका हुन् । ऊर्जा क्षेत्रको नेतृत्वमा प्राविधिक दक्षता, नीतिगत स्पष्टता र संस्थागत सोच आवश्यक रहेको उल्लेख गर्दै पौडेलले सरकारको वर्तमान नेतृत्वसँग “स्पिड र स्प्रिट” मिलाएर ऊर्जा क्षेत्रलाई नयाँ उचाइमा पुर्‍याउने उद्देश्यसहित उम्मेदवारी दिएको बताएका छन् ।

हाल देशको ऊर्जा प्रशासनका अधिकांश नेतृत्वदायी निकायहरूमा इन्जिनियरहरूको नेतृत्व रहेको अवस्थामा निजी क्षेत्रको छाता संस्था इप्पानमा पनि प्राविधिक नेतृत्व आवश्यक भएको उनको भनाइ छ । वि.सं. २०४२ असारमा स्याङ्जामा जन्मिएका पौडेलले धरानस्थित पूर्वाञ्चल इन्जिनियरिङ क्याम्पसबाट सिभिल इन्जिनियरिङमा प्रथम श्रेणीसहित स्नातक तथा पुल्चोक इन्जिनियरिङ क्याम्पसबाट पूर्वाधार योजना तथा निर्माण व्यवस्थापन विषयमा विशिष्ट श्रेणीमा स्नातकोत्तर गरेका छन् । उनले काठमाडौं–तराई द्रुत सम्पर्कसँग सम्बन्धित पूर्वाधार लगानी निर्णय विषयमा शोधसमेत गरेका छन् ।

ऊर्जा क्षेत्रमा उनको यात्रा २०६६ सालदेखि सुरु भएको हो । गुल्मीको रुरु जलविद्युत् आयोजनाबाट इन्जिनियरिङ करिअर सुरु गरेका पौडेलले पिखुवा खोला जलविद्युत् आयोजना, डिजाइन कन्सल्टेन्सी तथा विभिन्न पूर्वाधार आयोजनामा काम गरेका थिए । पछि उनी सेलाङ खोला जलविद्युत् आयोजनाको व्यवस्थापन तथा नेतृत्वमा सक्रिय भए । हाल उक्त आयोजनाले व्यापारिक विद्युत् उत्पादन सुरु गरिसकेको छ ।
उनले जेन्युइन कन्सल्टेन्ट्स प्रालिमार्फत देशभरका जलविद्युत् आयोजनाको सम्भाव्यता अध्ययन, विस्तृत डिजाइन, निर्माण सुपरिवेक्षण, वित्तीय व्यवस्थापनलगायतका कार्यमा नेतृत्व गरिरहेका छन् । साथै ३.५ मेगावाट क्षमताको देबढुंगा जलविद्युत् आयोजना पनि अगाडि बढाइरहेका छन् ।
पौडेल हाल इप्पानको कार्यसमिति सदस्यसमेत हुन् । उनले इप्पानभित्र नीतिगत सुधार, विपद् व्यवस्थापन, सार्वजनिक–निजी साझेदारी तथा वैदेशिक लगानी आकर्षणका विषयमा काम गरेको दाबी गरेका छन् । काठमाडौँ विश्वविद्यालयको ग्रिन हाइड्रोजन प्रयोगशालासँगको समन्वयमा पनि उनले भूमिका निर्वाह गरेका छन् ।

उनले इप्पानलाई केवल व्यक्तिगत पहुँचको संस्था नभई अनुसन्धान, तथ्यांक र संस्थागत नीतिमा आधारित सशक्त संगठन बनाउने प्रतिबद्धता व्यक्त गरेका छन् । ऊर्जा क्षेत्रका मागलाई प्राथमिकताका आधारमा व्यवस्थित गरी सरकारसमक्ष प्रस्तुत गर्नुपर्नेमा उनले जोड दिएका छन् ।
उनका अनुसार इप्पानको पुनर्संरचना गर्दै नदी बेसिन तथा प्रसारण लाइन केन्द्रित उपसमिति गठन, विपद् पूर्वचेतावनी प्रणाली विकास, तथ्यांक साझेदारी तथा परियोजना समन्वय प्रणाली निर्माण आवश्यक छ । सचिवालयलाई विभागीय संरचनामा रूपान्तरण गरी विभिन्न सरकारी निकायसँग समन्वय गर्ने छुट्टाछुट्टै डेस्क स्थापना गर्नुपर्ने उनको योजना छ ।

ऊर्जा क्षेत्रलाई केवल विद्युत् उत्पादनमा सीमित नराखी राष्ट्रिय अर्थतन्त्रको ‘ड्राइभिङ सेक्टर’ का रूपमा विकास गर्नुपर्ने उनको धारणा छ । जलविद्युत्, सौर्य ऊर्जा, हरित हाइड्रोजन, डाटा सेन्टर, पर्यटन, कृषि तथा विद्युतीय यातायातलाई ऊर्जा क्षेत्रसँग जोडेर आर्थिक विस्तार गर्न सकिने उनले बताएका छन् । ऊर्जा खपत विस्तारका लागि विद्युतीय सवारी, रोपवे, केबलकार, हाइड्रोजन प्रविधि तथा ऊर्जा–आधारित उद्योगलाई प्राथमिकता दिनुपर्ने उनले उल्लेख गरेका छन् । साथै निजी क्षेत्रलाई ऊर्जा व्यापारका अन्य आयाममा समेत सहभागी गराउनुपर्ने उनको भनाइ छ ।
पौडेलले ऊर्जा क्षेत्रभित्र अनुसन्धान र तथ्यांकमा आधारित बहसको संस्कृति विकास गर्नुपर्नेमा जोड दिएका छन् । इप्पानलाई केवल विकासकर्ताको संस्था नभई नीति निर्माणमा सरकारको रणनीतिक साझेदार संस्थाका रूपमा स्थापित गर्ने आफ्नो लक्ष्य रहेको उनले बताएका छन् । उनले ऊर्जा उद्यमीहरूको पीडालाई प्रेरणामा र संघर्षलाई सम्भावनामा बदल्ने नेतृत्व आवश्यक रहेको उल्लेख गर्दै निजी क्षेत्रसँग पर्याप्त अनुभव र क्षमता हुँदाहुँदै त्यसको संगठित उपयोग हुन नसकेको बताएका छन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको