हिमालयन बैंक लिमिटेडले संस्थापक समूहअन्तर्गत रहेको १० प्रतिशत सेयर सर्वसाधारण सेयरमा परिणत गर्ने भएको छ । बैंकको गत चैत १५ गते बसेको सञ्चालक समितिको बैठकले यो निर्णय गरेको हो ।
नेपाल राष्ट्र बैंकको एकीकृत निर्देशन २०८२ अनुसार बैंक तथा वित्तीय संस्थाले संस्थापक समूहको स्वामित्व कम्तीमा ५१ प्रतिशत कायम रहने गरी बाँकी संस्थापक सेयर सर्वसाधारण सेयरमा परिणत (एक पटकमा १० प्रतिशतसम्म) गर्न सक्ने व्यवस्था गरेको छ । सोही व्यवस्था अनुसार हिमालयन बैंकले १० प्रतिशत संस्थापक सेयर सर्वसाधारणमा परिणत गर्न लागेको हो ।
यसका लागि बैंकले संस्थापक समूहका इच्छुक सेयरधनीलाई आवेदन दिन आग्रह गरेको छ । आफ्नो स्वामित्वमा रहेको संस्थापक सेयर सर्वसाधारण सेयरमा परिणत गर्न चाहने सेयरधनीले सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र आवेदन पेश गर्नुपर्नेछ ।
बैंकका अनुसार कम्पनीको हकमा सञ्चालक समितिको निर्णयसहित आवेदन दिनुपर्ने व्यवस्था गरिएको छ । आवेदन बैंकको सेयर रजिष्ट्रार हिमायलयन क्यापिटल लिमिटेड मार्फत पेश गर्न सकिनेछ । आवेदन फारम हिमालयन क्यापिटल र हिमालयन बैंकको वेबसाइटबाट डाउनलोड गर्न सकिने बैंकले जनाएको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस