सहकारी क्षेत्रमा देखिएको समस्याको मुख्य कारण सरकारी संयन्त्रकै कमजोरी रहेको निष्कर्ष निकालिएको छ । सरकारी निकायले मनपरी रूपमा कार्यक्षेत्र विस्तारको अनुमति दिँदा सहकारी क्षेत्रमा बेथिति बढेको आयोगको ठहर छ । जेनजी आन्दोलनपछि गठन भएको चुनावी सरकारले बनाएको ‘सहकारी क्षेत्रको बेथिति जाँचबुझ आयोग २०८२’ ले सहकारी क्षेत्रको वर्तमान समस्यामा सरकारी संयन्त्र नै प्रमुख जिम्मेवार रहेको औंल्याएको छ ।
आयोगको प्रतिवेदन अनुसार बहुनियामक निकाय, नियमन र सुपरीवेक्षणको अभाव, कानुनी अस्पष्टता, मनपरी कार्यक्षेत्रको स्वीकृति, गैरजिम्मेबार राष्ट्र सेवक लगायतका कारणले सहकारी क्षेत्र संकटमा परेको हो । त्यसका साथै सरकारी संयन्त्रले बैंकभन्दा ठूला सहकारी हुँदा समेत सञ्चालकलाई आफखुरी बचतकर्ताको परिचालन गर्न दिएकाले पनि सहकारी संकट गम्भीर भएको प्रतिवेदनले औंल्याएको छ । सहकारी ऐन २०४८ को दफा १२ (३) मा सहकारी संस्थाको विनियममा संस्था वा संघको नाम, ठेगाना, कार्यक्षेत्र, उद्देश्य, सञ्चालन विधि तथा तोकिए बमोजिम हुने व्यवस्थाको अत्याधिक दुरुपयोग भएको आयोगको ठहर छ ।
वाणिज्य बैंकहरुलाई नेपाल राष्ट्र बैंकले वित्तीय अनुशासन कायम गराउन, प्रविधिमैत्री तथा जनमुखी बैंकिङ सेवा उपलब्ध गराउन मर्जरमा लगेको अवस्थामा सहकारी सञ्चालकले कानुनको दुरुपयोग गरी बैंकभन्दा पनि ठूलो कार्यक्षेत्र र पूँजी भएका सहकारी संस्था बनाई सञ्चालनमा ल्याएको प्रतिवेदनमा औंल्याइएको छ ।
सहकारी क्षेत्रमा यस्तो अवस्था आउनुमा सहकारी संस्था समुदायमा आधारित भई सञ्चालन गर्नुपर्नेमा प्रारम्भिक सहकारी संस्थालाई कुनै आधार विना कार्यक्षेत्र मनपरी विस्तार गरी जथाभावी शाखा कार्यालय वा सम्पर्क कार्यालय / सेवाकेन्द्र खोल्न स्विकृति दिनु नै प्रमुख कारकको रहेको आयोगको ठहर छ । साथै आयोगले बचत तथा ऋण सहकारीले ऋण प्रवाहमा अनुसरण गर्नुपर्ने क्षेत्रगत सीमा तोकिनुलाई पनि समस्याको रुपमा ठहर गरेको छ । सहकारीमा तरलता व्यवस्थापन सम्बन्धी न्यूनतम मापदण्डको व्यवस्था पर्याप्त नगरिँदा पनि समस्या बढेको आयोगको प्रतिवेदनमा उल्लेख छ । नेपाल सरकारले बैंकिङ क्षेत्रमा प्रतिखाता ५ लाखसम्मको बचत बीमाको व्यवस्था गरेको छ तर सहकारी क्षेत्रमा बचत सुरक्षाको कुनै बीमा प्रणालीको व्यवस्था नगरिँदा समस्या जटिल भएको आयोगले औंल्याएको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस