रौतहटको राजपुर नगरपालिका–५ स्थित जनता (नमूना) माध्यमिक विद्यालयको आठ कोठे प्रि–स्कुल ब्लक भवन निर्माणका क्रममा ११ लाख रुपैयाँभन्दा बढीको आर्थिक अनियमितता भएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले चार जनाविरुद्ध मुद्दा चलाएको छ।
राजपुर नगरपालिकाले २०७५ फागुन ३ गते नमूना विद्यालय विकास कार्यक्रमअन्तर्गत विद्यालयको बहुवर्षीय गुरुयोजना स्वीकृत गरी प्रधानाध्यापकको अध्यक्षतामा भौतिक संरचना निर्माण समिति गठन गरेर काम अघि बढाएको थियो। सुरुमा भवन निर्माणको लागत अनुमान ९७ लाख ३७ हजार ९९४ रुपैयाँ तय गरिएकोमा पछि त्यसलाई संशोधन गरी १ करोड ५ लाख ७७ हजार ५९६ रुपैयाँ कायम गरियो। तर, निर्माण कार्य सम्पन्न भएको भन्दै वास्तविक अनुमानभन्दा बढी अर्थात् १ करोड ९ लाख ८१ हजार ५०१ रुपैयाँको नक्कली मूल्याङ्कन बिल र कार्य सम्पन्न प्रतिवेदन तयार पारी सरकारी रकम हिनामिना गरेको अनुसन्धानबाट खुलेको छ।
तर अनुसन्धानका क्रममा सम्बन्धित निकायले निर्माणस्थलमा पुगेर नापजाँच गर्दा वास्तविक निर्माणभन्दा ११ लाख १० हजार ११४ रुपैयाँको काम बढी भएको देखाएर झुट्टा बिल, भरपाई र मूल्याङ्कन तयार गरिएको भेटिएको छ। नभएको कामलाई भएको देखाई सरकारी रकम भुक्तानी लिई नेपाल सरकार तथा विद्यालयको कोषलाई गैरकानुनी रूपमा हानि पुर्याएको आयोगको निष्कर्ष छ।
यही आधारमा तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत बैजु ठाकुर, तत्कालीन इन्जिनियर मोहम्मद शाह फैसल, विद्यालयका तत्कालीन प्रधानाध्यापक विजयकान्त मिश्र र लेखापाल शेख जहिरविरुद्ध विशेष अदालत काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर गरेको हो।
आयोगले चारै जनाबाट ११ लाख १० हजार ११४ रुपैयाँ बिगो असुल गराउन, सो बराबर जरिवाना तथा कैद सजायको माग गरेको छ। साथै तत्कालीन इन्जिनियर मोहम्मद शाह फैसलविरुद्ध झुट्टा प्राविधिक मूल्याङ्कन तथा प्रतिवेदन तयार गरेको आरोपमा थप सजायको मागसमेत गरिएको छ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस