त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले अध्ययन बिदा लिएर अध्ययन सम्पन्न गरेपछि विश्वविद्यालयको सेवामा नफर्किएका तथा तोकिएको सेवा अवधि पूरा नगरी सेवा छाडेका प्राध्यापक र कर्मचारीहरूलाई १५ दिनभित्र सम्पर्कमा आउन निर्देशन दिएको छ।
अध्ययन बिदा सुव्यवस्थापन कार्यान्वयन समितिले बुधबार सार्वजनिक सूचना जारी गर्दै अध्ययन बिदा उपभोग गरेपछि विश्वविद्यालयको नियमअनुसार सेवामा नफर्किएका शिक्षक तथा कर्मचारीलाई समितिको कार्यालयमा सम्पर्क राख्न आग्रह गरेको हो। समितिले तोकिएको समयसीमाभित्र सम्पर्कमा नआए विश्वविद्यालयसँग गरिएको कबुलियतनामा तथा प्रचलित नियमअनुसार कानुनी प्रक्रिया अघि बढाइने चेतावनी दिएको छ। त्रिविका अनुसार अध्ययन बिदा लिएर सेवामा नफर्किएका ५० जना प्राध्यापकबाट हालसम्म ११ करोड ८४ लाख रुपैयाँभन्दा बढी रकम असुल भइसकेको छ। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको पहल र विश्वविद्यालयको सक्रियतामा यो प्रक्रिया अगाडि बढाइएको विश्वविद्यालयले जनाएको छ।
विश्वविद्यालयले अध्ययन बिदा दक्ष, अनुसन्धानमुखी र अन्तर्राष्ट्रिय स्तरको प्राज्ञिक जनशक्ति उत्पादन गर्ने उद्देश्यले प्रदान गरिने विशेष सुविधा भएको उल्लेख गरेको छ। तर केही प्राध्यापकहरूले उक्त सुविधाको दुरुपयोग गर्दै अध्ययन पूरा गरेपछि सेवामा नफर्किँदा विश्वविद्यालयलाई आर्थिक, शैक्षिक तथा प्राज्ञिक क्षति पुगेको त्रिविको भनाइ छ।
त्रिविले अध्ययन बिदा सुविधा उपयोग गर्ने शिक्षक तथा कर्मचारीहरूले सम्झौताअनुसारको सेवा दायित्व पूरा गर्नुपर्ने व्यवस्था रहेको स्मरण गराउँदै बाँकी रकम असुली तथा आवश्यक कारबाही प्रक्रिया निरन्तर अघि बढाइने जनाएको छ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस