ब्राजिलका स्टार फरवार्ड नेयमारले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा गरेका छन्। फिफा विश्वकप २०२६ को अन्तिम १६ मा नर्वेसँग २–१ को हारसँगै ब्राजिल प्रतियोगिताबाट बाहिरिएपछि उनले राष्ट्रिय टोलीसँगको १६ वर्ष लामो यात्राको अन्त्य गरेका हुन्।
३४ वर्षीय नेयमारले खेलपछि भावुक हुँदै अब ब्राजिलका लागि आफ्नो यात्रा समाप्त भएको बताए। न्यु जर्सीमा भएको खेलमा एर्लिङ हालान्डले दुई गोल गर्दै नर्वेलाई ऐतिहासिक जित दिलाएका थिए। नेयमारले इन्जुरी समयको पेनाल्टीमार्फत एक गोल फर्काए पनि त्यो ब्राजिलको हार टार्न पर्याप्त भएन। घाइते अवस्थाबाट फर्किए पनि पूरा प्रभाव देखाउन सकेनन् ।
विश्वकपअघि नै चोट बोकेर प्रतियोगितामा पुगेका नेयमारले ब्राजिलका सुरुआती खेल गुमाएका थिए। त्यसपछि उनले प्रशिक्षक कार्लो एन्सेलोटीको योजनाअनुसार बिस्तारै टोलीमा पुनरागमन गरेका थिए। पूर्ण रूपमा फिट भएपछि पनि उनी अधिकांश समय वैकल्पिक खेलाडीका रूपमा मैदान उत्रिए। उनले स्कटल्यान्ड र नर्वेविरुद्ध बेन्चबाट मैदान प्रवेश गरेका थिए।
ब्राजिलका लागि उनको अन्तिम गोल नर्वेविरुद्ध इन्जुरी समयमा पेनाल्टीबाट आयो। तर पाँच पटकको विश्वविजेता टोलीलाई प्रतियोगितामा जोगाउन त्यो पर्याप्त भएन। सन् २०१० मा सिनियर टोलीबाट डेब्यु गरेका नेयमारले १२९ अन्तर्राष्ट्रिय खेलमा ८० गोल गर्दै ब्राजिलका पुरुष फुटबलतर्फ सर्वाधिक गोलकर्ता बने।
चार संस्करणको फिफा विश्वकप खेलेका उनले एक दशकभन्दा बढी समय ब्राजिलको आक्रमणको नेतृत्व गरे। विश्वकप उपाधि जित्ने सपना भने अधुरै रह्यो। यद्यपि उनले सन् २०१३ मा फिफा कन्फेडेरेसन कप जितेका थिए। त्यसपछि कप्तानका रूपमा सन् २०१६ को रियो ओलम्पिकमा ब्राजिललाई पहिलो पटक स्वर्ण पदक दिलाएका थिए। उनले सन् २०१२ को लन्डन ओलम्पिकमा रजत पदक पनि जितेका थिए।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस