Like us!
Follow us!
Connect us!
Watch us!

भारतबाट आउने विद्युत्को भाऊ बढ्यो, दिल्लीमा गरे कुलमानले सम्झौता

विहीबार, १५ चैत्र २०७४, ११ : ०५ मा प्रकाशित

भारतबाट आउने विद्युत्को भाऊ बढ्यो, दिल्लीमा गरे कुलमानले सम्झौता

अर्थ संसार, काठमाडौं–  नेपाल विद्युत प्राधिकरणले ढल्केबर–मुजफ्फरपुर क्रसबोर्डर प्रसारण लाइनमार्फत भारतबाट आयात गर्न १५ महिनाको नयाँ विद्युत खरिद सम्झौता (पीपीए) गरेको छ । 

भारतको नयाँ दिल्लीमा सोमबार, मंगलबार र बुधबार प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ नेतृत्वको टोली र भारतीय पक्षबीच यही अप्रिल सन् २०१८ बाट लागू हुने गरी १५ महिनाको पीपीए भएको हो । अब पीपीएको म्याद जुन २०१९सम्म रहने छ । गत २७ डिसेम्बर २०१७ मा  नविकरण भएको पीपीएको म्याद यही १७ चैत (३१ मार्च)मा सकिंदैछ ।

अघि बढ्यो त्रिशुली गल्छी, सिद्धकाली पावर र चिनियाँ कम्पनीबीच सहमतिपत्रमा हस्ताक्षर, १० अर्ब लगानी गर्ने (भिडियो र फोटोसहित)

पीपीएमा कार्यकारी निर्देशक घिसिङ र एनटीपीसी विद्युत व्यापार निगम (एनभीभीएन)का प्रमुख कार्यकारी अधिकृत अरुण कुमार गर्गले बुधबार नयाँ दिल्लीमा हस्ताक्षर गर्नु भएको हो ।  प्राधिकरणका प्रवक्ता एवं विद्युत व्यापार विभाग प्रमुख प्रबल अधिकारीले पीपीए हस्ताक्षरपछि  ढल्केबर–मुजफ्फरपुर क्रसबोर्डर प्रसारण लाइनमार्फत १२० मेगावाट विद्युत आयात सुनिश्चित भएको बताउनु भयो । 

उहाँले भन्नु भयो,‘हामीले अहिले दिइरहेको दरमा विद्युत दिन बार्तामा अडान राख्यौं, भारतीय बजारमा विद्युतको मूल्य बढेकाले अहिलेको मूल्यमा विद्युत दिनै नसकिने भारतीयपक्षको अडान राखेपछि ६ महिनाका लागि प्रति युनिट मूल्य ३.९८ भारतीय रुपैयाँ (६.३६ रुपैयाँ र त्यसपछि बाँकी अवधिका लागि उक्त मूल्यमा पाँच प्रतिशत बृद्धि हुने गरी सम्झौता गरिएको छ ।’

अहिले ढल्केबर–मुजफ्फरपुर क्रसबोर्डर प्रसारण लाइनमार्फत आयात भइरहेको विद्युतको मूल्य प्रति युनिट ३.६० छ । प्राधिकरणले एनभीभीएसँग सुरुमा प्रति युनिट भारु ३.४४ (५.५० नेरु)मा पीपीए गरेको थियो । भारतीय बजारमा विद्युत मूल्य बृद्धि भएपछि बढेर  प्रति युनिट भारु ३.६० पुगेको थियो ।

नेपाल–भारत सचिवस्तरीय विद्युत व्यापार संयन्त्रको बैठकको निर्णयअनुसार प्राधिकरणले ढल्केबर–मुजफ्फरपुर क्रसबोर्डर प्रसारण लाइनमार्फत विद्युत आयात गरिरहेको छ । भारत सरकारले एनटीपीसी विद्युत व्यापार निगम (एनभीभीएन)लाई नोडल एजेन्सी तोकेको छ । प्राधिकरणले एनभीभीएनसँग विद्युत खरिद सम्झौता (पीपीए) गरी विद्युत आयात गरिरहेको हो ।

एनभीभीएले भारतीय सर्वोच्च अदालतले वातावरण प्रदुषण कम गर्न न्यूनस्तरको इन्धन पेट्रोलीयम कोक (पेट कोक) र फर्नेस आयलमा प्रतिबन्ध लगाउँदा त्यसबाट विद्युत उत्पादन गर्ने प्लान्टहरु बन्द भएको, पेटकोकबाट कोइला प्रतिस्थापित हुँदा विद्युत उत्पादनमा प्रयोग हुने इन्धनको मूल्य २४देखि ३५ प्रतिशत बढी पर्ने, भारतको विद्युत एक्सचेन्ज बजारमा विद्युतको मूल्य महंगो रहेको लगायतका कारण देखाउँदै प्राधिकरणले माग गरेको परिमाणअनुसार विद्युत दिन सकिरहेको थिएन ।

एनभीभीए त्यही कारण देखाउँदै विद्युतको मूल्य नबढाई  ढल्केबर–मुजफ्फरपुर प्रसारण लाइनबाट प्रति युनिट भारु ३.६० मा विद्युत दिन नसकिने बताउँदै आएको थियो । भारतको विद्युत एक्सचेन्जको औसत ‘मार्केट क्लियरिङ प्राइस’ प्रति युनिट भारु ४.१९ (६.७० नेरु) छ ।

भारतले बंगलादेशलाई १५ वर्षका लागि प्रतिश्पर्धात्मक वोलपत्रमार्फत पाँच सय मेगावाट विद्युत निर्यातका लागि प्रति युनिट ७.७ अमेरिकी सेन्ट पीपीए दर तय गरेको छ । भारत सरकारको डिप पोर्टलमार्फत अल्पकालीन बोलपत्र गर्दा निर्धारण भएको विद्युतको मूल्य प्रति युनिट ४.२८ देखि ८ भारुसम्म पुगेको पाइएको छ ।

 प्राधिकरणले व्यापारिकरुपमा, विद्युत आदान प्रदान सम्झौता (पावर एक्सेन्ज) र महाकाली सन्धी अन्तर्गतको विजुली भारतबाट ल्याइरहेको छ । व्यापारिकरुपमा ढल्केबर–मुजफ्फरपुर क्रसबोर्डर प्रसारण लाइनमार्फत र अन्य स्थानबाट पावर एक्सेन्ज अन्तर्गत भारतबाट विजुली ल्याइरहेको छ ।

दुई मुलुकबीचको पावर एक्सचेन्च कमिटि (पिइसी)ले तय गरेको मूल्यका आधारमा प्राधिकरणले बिहार, उत्तरप्रदेश र उत्तराखण्डबाट विद्युत आयात गर्छ ।  ती विन्दुबाट १३२, ३३ र ११ केभी प्रसारण लाइनबाट आयात गर्ने विद्युतको प्रतियुनिट मूल्य भारतीय रुपैयाँ क्रमश :५.५५(८.८८ नेरु),६ (९.६ नेरु) र ६.४५ (१०.३२ नेरु) छ । यो मूल्यभन्दा ढल्केबर–मुजफ्फरपुर क्रसबोर्डर प्रसारण लाइनमार्फत विद्युत आयातलाई गरिएको पीपीए दरभन्दा सस्तो छ ।  

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको