जो रुटको अविजित ९९ रनको उत्कृष्ट इनिङ्सको मद्दतमा इंग्ल्यान्डले भारतलाई दोस्रो एकदिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) मा ४ विकेटले पराजित गर्दै ३ खेलको सिरिजमा १-१ को बराबरी गरेको छ । सोफिया गार्डेन्समा भारतले दिएको २ सय ३४ रनको लक्ष्य इंग्ल्यान्डले ४४.१ ओभरमा ६ विकेट गुमाएर पूरा गर्यो।
रुट शतकबाट मात्र एक रनले चुके पनि उनले अन्तिमसम्म क्रिजमा रहँदै टोलीलाई जित दिलाए। गस एट्किन्सन २३ रनमा अविजित रहे। इंग्ल्यान्डको सुरुवात खराब रह्यो। बेन डकेट पहिलो बलमै आउट भए भने जेकब बेथेल ४ रन जोडे । कप्तान ह्यारी ब्रुक पनि १६ रन बनाएर आउट हुँदा इंग्ल्यान्ड ५३–३ को कठिन अवस्थामा पुगेको थियो। तर अनुभवी रुटले संयमित ब्याटिङ गर्दै टोलीलाई सम्हाले। उनले साम करन (२६), विल ज्याक्स (३०) र अन्त्यमा एट्किन्सनसँग महत्वपूर्ण साझेदारी गर्दै इंग्ल्यान्डलाई जिततर्फ डोर्याए।
रुटले ७६ बलमा अर्धशतक पूरा गरेका थिए। यो उनको लगातार पाँचौँ ५० भन्दा बढी रनको इनिङ्स हो । भारतका लागि गुर्नूर ब्रारले २ विकेट लिए पनि रुटको उत्कृष्ट इनिङ्स रोक्न सकेनन्। त्यसअघि घरेलु टोलीले टस जितेर फिल्डिङ रोजेको थियो। पहिला ब्याटिङ गरेको भारत ४४ ओभरमा २ सय ३३ रनमा समेटिएको थियो।
भारतका लागि श्रेयस अय्यरले ६६ तथा विराट कोहलीले ६५ रन बनाए। यी दुईबाहेक अन्य ब्याटरले उल्लेखनीय रन जोड्न सकेनन् । कोहली र अय्यर चम्किए पनि भारतको स्कोर कमजोर भारतका लागि विराट कोहली र श्रेयस अय्यरले चौथो विकेटका लागि ६७ रनको साझेदारी गरेका थिए।
कोहलीले ५० बलमा अर्धशतक पूरा गर्दै ७ चौका प्रहार गरे। पछिल्ला ९ इनिङ्समध्ये उनको यो सातौँ ५० रन भन्दा माथिको स्कोर थियो। अय्यरले ६६ रन बनाउँदा कप्तान शुभमन गिलले ३१ रन जोडे। तर मध्यक्रम र तल्लोक्रमबाट अपेक्षित साथ नपाउँदा भारत प्रतिस्पर्धात्मक स्कोरसम्म पुग्न सकेन।
इंग्ल्यान्डका तीव्र गतिका बलर जोफ्रा आर्चरले ३ विकेट लिए। उनले कोहली, अक्षर पटेल र शिवम दुबेको विकेट लिएर भारतलाई दबाबमा राखेका थिए। गस एट्किन्सनले पनि ३ विकेट लिए। आइतबार लर्ड्समा तेस्रो तथा अन्तिम ओडीआई सिरिजको निर्णायक खेल हुनेछ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस