नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड ले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। सार्वजनिक विवरणअनुसार बैंकको नाफा गत वर्षको सोही अवधिको तुलनामा उल्लेख्य रूपमा घटेको देखिएको छ।
चालु आर्थिक वर्षको पहिलो नौ महिनामा बैंकले ६४ करोड ३३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। जबकि अघिल्लो आर्थिक वर्षको यही अवधिमा बैंकले करिब ९० करोड रुपैयाँभन्दा बढी नाफा कमाएको थियो। यसले बैंकको आम्दानीमा दबाब परेको संकेत गरेको छ।
बैंकको नाफा घट्नुको मुख्य कारण खुद ब्याज आम्दानीमा आएको गिरावट र सञ्चालन मुनाफामा भएको कमीलाई मानिएको छ। समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी २७.०३ प्रतिशतले घटेको छ। यद्यपि, सेवा शुल्क तथा कमिशनबाट हुने आम्दानी भने उल्लेख्य रूपमा बढेको देखिन्छ, जुन ६६.३५ प्रतिशतले वृद्धि भएको छ।
समग्र सञ्चालन आम्दानी २६.२० प्रतिशतले घट्दा सञ्चालन मुनाफा पनि २८.४२ प्रतिशतले खुम्चिएको छ। यसैबीच, वितरणयोग्य मुनाफा समेत घट्दै ५३ करोड ७७ लाख रुपैयाँमा सीमित भएको छ, जुन अघिल्लो वर्षको तुलनामा ३०.१२ प्रतिशतले कम हो।
नाफामा आएको गिरावटको असर प्रतिशेयर आम्दानीमा पनि देखिएको छ। बैंकको प्रतिशेयर आम्दानी १.५९ रुपैयाँले घटेर ३.९७ रुपैयाँमा झरेको छ। त्यस्तै, चैत मसान्तसम्ममा बैंकको प्रतिशेयर नेटवर्थ ११५ रुपैयाँ ८४ पैसा कायम रहेको छ।
हाल २१ अर्ब ६० करोड रुपैयाँ चुक्ता पूँजी रहेको बैंकको जगेडा कोषमा ३ अर्ब ४२ करोड रुपैयाँभन्दा बढी सञ्चित छ। बैंकले सो अवधिसम्म ७ अर्ब ८० करोड रुपैयाँभन्दा बढी निक्षेप संकलन गर्दै २८ अर्ब ५४ करोड रुपैयाँभन्दा बढी कर्जा प्रवाह गरेको जनाएको छ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस