Like us!
Follow us!
Connect us!
Watch us!

‘एमबीएस परीक्षा सुरु भएको केही मिनेटमै प्रश्नपत्र ‘लिक’ गर्ने व्यक्तिहरू पक्राउ

अर्थ संसार

आइतबार, १० साउन २०८३, १३ : ४१ मा प्रकाशित

‘एमबीएस परीक्षा सुरु भएको केही मिनेटमै प्रश्नपत्र ‘लिक’ गर्ने व्यक्तिहरू पक्राउ

त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायको मास्टर्स अफ बिजनेस स्टडिज (एमबीएस) प्रथम सत्रको प्रश्नपत्र सार्वजनिक गरेको आरोपमा प्रहरीले केही व्यक्तिलाई पक्राउ गरेको  छ । शिक्षा तथा खेलकुद मन्त्रालयका अनुसार प्रश्नपत्र बाहिरिएको समाचार आएपछि शिक्षामन्त्री सस्मित पोखरेलले नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीसँग गएराति नै छलफल गरी सम्बन्धित निकायलाई निर्देशन दिएका थिए।

त्यसलगत्तै प्रश्नपत्र सार्वजनिक गर्ने व्यक्तिलाई प्रहरीले आज बिहान पक्राउ गरेको  हो।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले आरोपित व्यक्तिलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान अगाडि बढाइएको जनाएको छ। उक्त घटनाका सम्बन्धमा मन्त्री पोखरेलले शनिबार राति मन्त्रालयमै गएर सम्बन्धित अधिकारीसँग छलफल गरेका थिए। उनी प्रहरीका उच्च अधिकारीका साथै त्रिविका पदाधिकारीसँग परामर्श गरी छानबिन समिति बनाउनेलगायत काममा रातभरजसो खटेका थिए। पक्राउ गरिएका व्यक्तिले एमबीएसको प्रश्नपत्र सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेको खुलेको दाबी गरिएको छ। ‘एमबीएस फ्रस्ट सेम सेक्सन सी’ नामको ह्वाट्सएप ग्रुपमा परीक्षा सुरु भएको ५ मिनेटमै पठाइएको खुलेको प्रहरीले जनाएको छ।  केही मिनेटमै प्रश्नपत्र बाहिरिएको भन्दै फेसबुक पेज ’टियु स्टुडेन्ट्स’ले त्रिविको ध्यानाकर्षण गराएको थियो। उक्त पेजले ह्वाट्सएप ग्रुपका स्क्रिनसटकसमेत सार्वजनिक गरेको थियो।

प्रश्नपत्र बाहिरिएपछि त्रिभुवन विश्वविद्यालयको व्यवस्थापन संकाय डिनको कार्यालयले साइबर ब्युरोलाई पत्राचार गरेको थियो। परीक्षा नियन्त्रण महाशाखाले आइतबार यही घटना छानबिन गर्न समितिसमेत गठन गरेको छ। प्रा.डा. अच्युत ज्ञवालीको संयोजकत्वमा तीन सदस्यीय छानबिन समिति गठन गर्ने परीक्षा सञ्चालक समितिले निर्णय गरेको हो। अनुगमन निर्देशनालयका उपनिर्देशक सहप्राध्यापक डा पुष्कर रैखला र केन्द्रीय परीक्षा सञ्चालक समितिका सदस्य सहप्राध्यापक डा महेशराज ओझालाई सदस्यको तोकिएको छ।

उक्त समितिलाई छानबिन गरी सत्यतथ्य निरूपण गरी सात कार्यदिन भित्र प्रतिवेदन पेस गर्न कार्यादेश दिइएको छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको