अर्थ संसार, काठमाडौँ–हावाहुरीका कारण क्षतिग्रस्त भएको खिम्ती लामोसाँघु १३२ केभी प्रसारण लाइनको मर्मतसम्भार सम्पन्न भई विद्युत् आपूर्ति भएको छ ।
नेपाल विद्युत् प्राधिकरणका प्रवक्ता प्रबल अधिकारीका अनुसार हावाहुरीका कारण रुख ढल्दा उक्त प्रसारण लाइनका तार चुँडिन गएको थियो ।
चुँडिएका तारको मर्मत सम्भार गरी आज साँझदेखि विद्युत् प्रवाह पुनः शुरु गरिएको हो । सो प्रसारण लाइनमा यही चैत १५ गते साँझदेखि समस्या उत्पन्न भएको छ ।
प्रसारण लाइनमा समस्या आउँदा ४० मेगावाट विद्युत् प्रवाहमा कठिनाइ उत्पन्न भएको थियो । कूल ४० मेगावाट विद्युत् प्रणालीबाट बाहिरिएपछि काठमाडौँ उपत्यकाको विद्युत् प्रवाहका लागि वैकल्पिक व्यवस्था मिलाइएको प्रवक्ता अधिकारीले जानकारी दिनुभयो ।
प्राधिकरणले हुरी बतास चल्ने मौसम भएकाले प्रसारण तथा वितरण लाइनमा रुखका हाँगा पर्ने, तार चुँडिने आदि घटना हुने भएकाले त्यसमा ध्यान दिन र कुनै स्थानमा त्यस्तो देखिए सम्पर्क गरिदिनसमेत आग्रह गरेको छ ।
विद्युत् प्रवाहमा समस्या नहोस् भनेर प्राधिकरणले प्रसारण तथा वितरण लाइनका नजिक पर्ने हाँगाबिँगा काट्ने, लच्केका तारहरू तन्काई कसिलो पार्ने, पोलहरू बदली गर्ने आदि मर्मत सम्भारका कार्य नियमित गरिरहेको समेत जनाएको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस