अर्थ संसार, काठमाडौँ– दिगो सार्वजनिक यातायात प्रालिले नयाँ बसपार्कदेखि सिनामंगलसम्म सत्र ठूला बस सञ्चालन गर्ने भएको छ ।
प्रालिले सिनामंगल सफा परिवहन समिति र सामाखुशी यातायात व्यवसायी समितिको संयुक्त लगानीमा नयाँ बसपार्क, गोँगबु, गल्कोपाखा, लैनचौर, जमल, कमलपोखरी, मैतीदेवी हुँदै सिनामंगलसम्म सत्र नयाँ बस सञ्चालन गर्न लागेको हो ।
सामाखुशी यातायात व्यवसायी संघका सचिव लालप्रसाद गुरागाँईले रु सात करोडको लगानीमा ५० सिट क्षमता भएका सत्र ठूला बस सञ्चालन गर्न लागेको जानकारी दिनुभयो । “सामाखुशी भएर चल्ने माइक्रोलाई अन्य स्थानमा स्थानान्तरण गरी सोही रुट हुँदै सिनामंगलसम्म नयाँ बस सञ्चालन गर्न लागेका हौँ,”– उहाँले भन्नुभयो ।
सोही रुटमा नयाँ बस सञ्चालनका लागि एशियाली विकास बैँकले रु एक करोड ९० लाख अनुदान दिएको छ । बस वैशाखको अन्तिम हप्ता नेपाल आइसक्ने र जेठको पहिलो हप्ताबाट सञ्चालन हुने गुरागाईँले बताउनुभयो । नयाँ बस सञ्चालनका लागि दुवै समिति तथा प्रालिको टोली बस ल्याउनका लागि भारत गइसकेको छ ।
सोही रुटमा ठूला बस सञ्चालन भएसँगै गोँगबुबाट रत्नापार्क भएर चल्ने २६ माइक्रोबस र सिनामंगल रत्नापार्क भएर चल्ने ३५ टेम्पो स्थानान्तरण हुनेछन् । सरकारले पछिल्लो समय उपत्यकामा सवारी साधन चलाउनका लागि प्राइमरी, सेकेण्डरी र टर्सरी रुट निर्धारण गरेको छ । जसमा प्राइमरी र सेकेण्डरी रुटमा ठूला सवारी साधन तथा टर्सरी रुटमा साना सवारी साधन सञ्चालन गर्न पाइनेछ । रासस
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस