Like us!
Follow us!
Connect us!
Watch us!

महिनाभित्र दोहा बैंक आउँदै

सोमबार, २६ चैत्र २०७४, ०८ : ४० मा प्रकाशित

महिनाभित्र दोहा बैंक आउँदै

अर्थ संसार, काठमाडौं– नेपालमा कतारी लगानी  भित्र्याउन दोहा बैंकले एक महिनाभित्र करोबार सुरु गर्ने गर्ने भएको छ । लगानी बैंकका रूपमा कारोबार
गर्न यसले राष्ट्र बैंकबाट अनुमति पाइसकेको छ ।

कतारस्थित नेपाली दूतावासका अनुसार मे महिनाभित्र बैंकले काठमाडौंमा प्रतिनिधिको रूपमा काम सुरु गर्नेछ । ‘यो बैंकले मे महिनाको पहिलो हप्ताबाटै काम सुरु गर्ने जानकारी हामीलाई दिएकोछ,’ कतारका लागि नेपाली राजदूत रमेशप्रसाद कोइरालाले  भने, ‘बैंक सञ्चालनका लागि आवश्यक सबै कानुनी प्रक्रिया पूरा भइसकेको छ ।’

दोहा बैंकले बेलायत, जापान, चीन, अस्ट्रेलिया, दक्षिण अफ्रिका, टर्कीसहित १३ देशमा अन्तर्राष्ट्रिय प्रतिनिधिका रूपमा आफ्नै बैंक स्थापना गरिसकेको छ ।

कुबेत, दुबई, आबुधाबी, भारतको मुम्बई र कोचीमा शाखा स्थापना भइसकेको छ । ‘बैंकले आफ्नो अन्तर्राष्ट्रिय प्रतिनिधि नेपालमा राख्नु कतारी लगानी लैजाने बाटो खुल्नु हो,’ राजदूत कोइरालाले भने, ‘कतारीहरू आफ्नै बैंकलाई विश्वास गर्छन्।

यो बैंकले नेपालका स्थानीय बैंकमार्फत आफ्नो कारोबार गर्नेछ ।’ नेपालको हाइड्रोलगायत सम्भावित क्षेत्रमा कतारीहरू लगानी गर्न इच्छुक भए पनि रकम लैजान झन्झटिलो प्रक्रिया भएकाले काम अगाडि बढ्न नसकेको कोइरालाले बताए ।

‘कतारीहरू हाइड्रो, पर्यटन जस्ता क्षेत्रमा लगानी गर्न इच्छुक छन् । कतारीको आफ्नै बैंक नभएकाले अरूलाई विश्वास गरिरहेको थिएन,’ उनले भने, ‘दोहा बैंक गएपछि लगानी जान पनि थाल्नेछ ।’

राष्ट्र बैंकका सहायक प्रवक्ता राजेन्द्र पण्डितका अनुसार दोहा बैंकले नेपाल र विदेशीबीच सहजीकरण गर्नको लागि अनुमति दिएको हो। ‘व्यक्तिगत कारोबार गर्न पाउने छैन । विदेशबाट ल्याउने लागनीलाई सहजीकरण गर्न मात्रै पाउनेछ,’ पण्डितले भने।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार कतारले व्यावसायिक प्रयोजनको लागि मात्रै कतारी लगानी प्राधिकरणमार्फत कम्तीमा ३ सय ३५ बिलियन डलर घरजग्गा, खेलकुद, पर्यटन र ऊर्जामा लगानी गरिसकेको छ ।

विश्व वजारमा महत्वूर्ण भूमिका खेल्ने कम्पनीको सेयर खरिद गदै आएको छ । नाकाबन्दीपछि कतारले टर्कीमा लगानी बढाइरहेको छ । कतार लगानी प्राधिकरणले मलेसियाको पेट्रोकेमिकल क्षेत्रमा ५ बिलियन डलर, भारतमा दुई सय बिलियन डलर, चीनमा १० बिलियन डलर र अमेरिकामा ३५ बिलियन डलर लगानी भइरहेको बताइएको छ ।

‘विश्व बजारमा लगानी बढाइरहेको कतारको लगानी नेपालमा आउन सकेको छैन,’ राजदूत कोइरालाले भने, ‘हामी श्रम कूटनीतिसँगै आर्थिक कूटनीति बढाउने काम भइरहेको छ । फेरि लगानी गर्न उपयुक्त वातावरण भएकाले कतारको लगानी नेपाल लैजान प्रयासरत छौं ।’ कान्तिपुरबाट

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

धेरै पढिएको