Like us!
Follow us!
Connect us!
Watch us!

पाँच दिनदेखि तारा एयरको विमान लुक्लामा ग्राउण्डेड

बुधबार, २० असार २०७५, १२ : २२ मा प्रकाशित

पाँच  दिनदेखि तारा एयरको विमान लुक्लामा ग्राउण्डेड


अर्थ संसार, काठमाडौं – लुम्लाको तेन्जिङ हिलारी विमानस्थल लुक्लामा पाँच दिनदेखि एउटा विमान थन्किएर बसेको छ । मौसम प्रतिकूलताका कारण तारा एयरको विमान लुक्ला विमानस्थलमै थन्किएर बसेको हो ।

नाइनएनएकेके कल साइन भएको उक्त विमान अझै केहीदिन लुक्लाबाट काठमाडौँ जानसक्ने सम्भावना नदेखिएको तारा एयर लुक्लाका प्रमुख फुनुरु शेर्पाले जानकारी दिनुभयो ।

शुक्रबार मौसम प्रतिकूल हुँदा पनि यहाँ अवतरण गरिएका दुई वटा विमानमध्ये समिट एयरको विमान यात्रु लिएर तत्काल फर्कन सफल भए पनि तारा एयरको विमान भने फर्किन नसकेको तारा एयर लुक्लाले जनाएको छ । विमान कम्पनीको नियमअनुसार ४८ घण्टाभन्दा बढी सोही विमानस्थलमा राख्नुपर्ने अवस्था आएमा प्राविधिकले निरीक्षण गरेपछि मात्र उडान गर्नुपर्ने हुन्छ । नियमअनुसार अब लुक्लामा प्राविधिक आएर विमानको अवस्थाबारे निरीक्षण गरेपछि मात्र उक्त विमानले उडान गर्ने बताइएको छ ।

अहिले जिल्लाको माथिल्लो क्षेत्रमा बाक्लो हुस्सु लागेको छ । हुस्सुका कारण जिल्लाको अर्को विमानस्थल फाप्लुमा समेत कुनै उडान हुनसकेको छैन । यहाँ हेलिकप्टरले समेत उडान भर्न सक्ने अवस्था नरहेको फाप्लु विमानस्थलले जनाएको छ ।

हेलिकप्टरले समेत उडान भर्न नसक्दा आकस्मिक बिरामीलाई काठमाडाँै लैजान समस्या भएको सोलु हेल्थकेयर सेन्टर सल्लेरीका निर्देशक डा राजेन्द्र बस्नेतले बताउनुभयो । “सघन उपचार कक्ष ‘आइसियु’मा राखेर उपचार गर्नुपर्ने बिरामी छन् तर लैजान सकिएको छैन, मान्छेको ज्यान बचाउन मुस्किल प¥यो ।” उहाँले भन्नुभयो, “अक्सिजन छुटायो भने एक घण्टाभन्दा बढी बचाउन सक्ने अवस्था छैन, गाडीबाट लानसक्ने स्थिति हुने कुरै भएन, मौसम प्रतिकूलताका कारण हेलिकप्टरसमेत आउन सकेन ।”

गत असार १५ गते जिल्लाको सोलुदूधकुण्ड नगरपालिका–११ तिङ्लामा जीप दुर्घटनामा ज्यान गुमाएका दुईजना कर्मचारीको शव हेलिकप्टरबाट गृहजिल्ला लाने तयारी गरे पनि सफल हुन सकेन । दुई दिनसम्म हेलिकप्टरको पर्खाइमा बसे पनि सफल नभएपछि जीपमार्फत नै लगिएको सहायक प्रमुख जिल्ला अधिकारी टुक्ती शेर्पाले बताउनुभयो ।

लुक्ला विमानस्थलमा उडान हुन नसक्दा पर्यटक अलपत्र परेको तारा एयर लुक्लाका स्टेशन इन्चार्ज फुनुरु शेर्पाले बताउनुभयो । उहाँले भन्नुभयो, “यति नै यात्रु छन् भन्ने यकिन तथ्याङ्क छैन, केही यात्रु पैदल यात्रापछि सदरमुकाम सल्लेरीबाट जीपमार्फत गएको बुझिएको छ भने केही यात्रु एक घण्टाको पैदल यात्रापछि तल सुर्के पुगेर हेलिकप्टरमार्फत गइरहेका छन् ।” देशभर भएको अविरल वर्षाको प्रभाव सोलुखुम्बुमा पनि परेपनि कुनै पनि अप्रिय घटना भने नभएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Garima Capital

धेरै पढिएको