Like us!
Follow us!
Connect us!
Watch us!

चितवनमा अर्नाले पाडी पायो, वंश विस्तारमा सफलता

आइतबार, ०३ भदौ २०७५, १२ : ०२ मा प्रकाशित

चितवनमा अर्नाले पाडी पायो, वंश विस्तारमा सफलता

 अर्थ संसार, काठमाडौँ - अर्नाको वंश विस्तारमा चितवन राष्ट्रिय निकुञ्जलाई पहिलो सफलता मिलेको छ ।   कोशी टप्पु वन्यजन्तु आरक्षबाट २ वर्षअघि चितवन राष्ट्रिय निकुञ्जमा स्थानान्तरण गरिएको अर्नाले बच्चा जन्माएसँगै वंश विस्तारमा सफलता मिलेको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका महानिर्देशक मनबहादुर खड्का बताउनुहुन्छ ।

विसं २०७३ मा कोशीबाट ल्याएर चितवन निकुञ्जको पूर्वी सेक्टरस्थित पुरानो पदमपुरको खुलाखोरमा राखिएको अर्नाले साउनको ३१ गते पाडी जन्माएको अवस्थामा फेला परेको थियो । “अर्काे ठाउँबाट ल्याएको अर्नाले बच्चा जन्माउनु वंश विस्तारका लागि ऐतिहासिक सफलता हो, महानिर्देशक खड्काले भन्नुभयो, “अझै अर्ना बढाउनुपर्छ, हामी लागिसक्दो गरिरहेका छौँ ।”

  चितवन निकुञ्जमा अर्नाले बच्चा जन्माएको यो पहिलो घटना हो । पाडी स्वस्थ्य रहेको र आमाको दूध खाइरहेको अनुगमनमा गएका निकुञ्जका कर्मचारी विजय चौधरीको भनाइ छ । निकुञ्ज स्थापना हुँदा चितवनमा अर्ना थिएन । त्यसैले यो प्रजातिको संरक्षणका लागि कोशीबाट अर्ना र शुल्लाफाँटाबाट बाह्रसिङ्गे ल्याइएको हो । चितवनबाट बर्दिया शुल्लाफाँटालगायत क्षेत्रमा गैँडा पठाउने गरिएको छ ।

 प्रजाति संरक्षणका लागि वन्यजन्तुको स्थानान्तरण गर्ने गरिएको निकुञ्जले जनाएको छ । योसँगै निकुञ्जमा अर्नाको सङ्ख्या १० पुगेको चितवन निकुञ्जका प्रमुख वेदकुमार ढकालले बताउनुभयो । यहाँ कोशी टप्पुबाट दुई भाले र  १० पोथी गरी १२ तथा सदर चिडियाखाना ललितपुरबाट एक भाले र दुई पोथी गरी तीन वटा अर्ना स्थानान्तरण गरी ल्याइएको थियो । रोगब्याधी र बाघको आक्रमणलगायत कारणले ६ वटा अर्ना मरिसकेका छन् ।

 राष्ट्रिय प्रकृति संरक्षण कोषका सूचना अधिकारी सन्तोष भट्टराईले पशु चिकित्सकसहितको टोलीले अहिले पनि अर्नाको नियमित अनुगमन, रेखदेख र खुलाखोरको व्यवस्थापन गर्दै आइरहेको बताउनुभयो । यो संरक्षणकर्मीका लागि ठूलो खुशीको कुरा भएको पनि उहाँले बताउनुभयो ।

निकुञ्ज विभागले अझै खुला खोर बढाएर अर्ना थप्ने तयारी गरेको छ । “कम्तीमा २५–३० वटा अर्ना नभएसम्म बाघले मार्न सक्छ, झुण्डमा भए बाघले छिट्टै आक्रमण गर्न सक्दैन, सङ्ख्या नपुग्दासम्म खोरमा नै राखिन्छ”, निकुञ्ज प्रमुख खड्काले भन्नुभयो । तर संरक्षणमा चुनौती भने प्रशस्तै छ । बाढी तथा रोगब्याधी भयो भने संरक्षणमा समस्या पर्छ । गएको वर्षको बाढीले यहाँका सबै अर्नामा रोग देखिएको थियो । पछि औषधोपचार गरी दानापानी खुवाएर अर्ना बचाइएको थियो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Garima Capital

धेरै पढिएको