Like us!
Follow us!
Connect us!
Watch us!

नेपाल पुनर्बीमा पाँच वर्षमा

सोमबार, २६ कार्तिक २०७५, ०८ : ४२ मा प्रकाशित

नेपाल पुनर्बीमा पाँच वर्षमा

अर्थ संसार, काठमाडौं– नेपाल पुनर्बीमा कम्पनी लिमिटेड पाँच वर्षमा प्रवेश गरेको छ । कम्पनीले मंगलबार काठमाडौंमा एक कार्यक्रम आयोजना गरी पाँचौ वार्षिकोत्सव मनाएको छ ।

वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै अर्थमन्त्री डा. युवराज खतिवडाले बचत बहिर्गमनबाट रोक्ने कार्यमा कम्पनीले अहम् भूमिका खेलेको बताउनुभयो ।

नेपालमा बीमा व्यवसायको विस्तार र विकासमा पनि कम्पनीले महत्वपूर्ण योगदान गरेको उहाँको भनाइ छ । व्यापार घाटा न्यूनीकरणमा कम्पनीले खेलेको भूमिकाको खुलेर प्रशंसा गर्दै अर्थमन्त्री डा. खतिवडाले भविष्यमा कम्पनीको क्षमता समेत बढ्दै जाने अपेक्षा राख्नुभयो ।

बीमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाईंले विदेशी बिमकले गर्ने पुनर्बीमाको उल्लेख्य हिस्सा स्वीकार गरी सेवा दिन सफल भएकोमा कम्पनीलाई बधाई ज्ञापन गर्नुभयो  ।

कम्पनीका अध्यक्ष महेशकुमार गुरागाईंले नेपालको एकमात्र पुनर्बीमा कम्पनीको उद्देश्य नेपाली बीमा बजारको सुदृढीकरण गर्न बिमकहरुलाई सहयोग गर्नु रहेको प्रस्ट्याउनुभयो ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत चिरायु भण्डारीले बीमा व्यवसायलाई समयसापेक्ष बनाउन आफ्नो दक्षता अभिवृद्धि गर्दै अन्तर्राष्ट्रियस्तरको पुनर्बीमा सेवा दिने प्रतिबद्धता जनाउँदै तेस्रो मुलुकबाट बढी भन्दा बढी व्यवसाय गर्ने योजना रहेको बताउनुभयो ।

केही महिनाभित्रै सर्वसाधारणलाई कम्पनीको सेयर जारी गर्ने पनि उहाँले जानकारी दिनुभयो ।

उक्त अवसरमा कम्पनीका उत्कृष्ट कर्मचारी श्रीमती बिनिता खनाल र सूश्री अनिता गौतमलाई नगद पुरस्कारका साथ सम्मान गरिएको थियो ।

नेपाल सरकारको प्रमुख लगानी रहेको यस कम्पनीको आठ अर्ब ४० करोड चुक्ता पुँजी छ । सर्व साधारणलाई १ अर्व ६० करोड सेयर बाडफाँड पश्चात चुक्ता पूँजी १० अर्व पुग्ने छ कम्पनीले गत आर्थिक वर्षमा करिब चार अर्ब प्रिमियम संकलन गरी एक अर्ब १३ करोड नाफा आर्जन गरेको छ ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Garima Capital

धेरै पढिएको