सरकारले ट्राफिक नियम मिच्नेहरूलाई लक्षित गर्दै जरिवानाको रकममा भारी वृद्धि गर्ने तयारी गरेको छ। भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले 'सवारी तथा यातायात सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक' को नयाँ मस्यौदा तयार पार्दै यस्तो कडा सजायको प्रस्ताव अघि सारेको हो।
प्रस्तावित विधेयकको परिच्छेद ९ मा सजाय र जरिवाना सम्बन्धी कडा कानूनी व्यवस्थाहरू समेटिएका छन्। यसको दफा ६२ मा उल्लेख भए अनुसार, अब ट्राफिक प्रहरीले चालकहरूलाई विभिन्न ३३ वटा फरक-फरक कसूरमा घटनास्थलमै तत्काल कारबाही गर्न सक्ने अधिकार पाउनेछन्। यसका साथै, थप ७ वटा अन्य कसूरहरूमा समेत कारबाही चलाउन सकिने व्यवस्था मस्यौदामा प्रस्ताव गरिएको छ।
यस्तो छ प्रस्तावित जरिवाना
सरकारले प्रस्ताव गरेको नयाँ विधेयकमा ट्राफिक नियम उलङ्घन गर्नेहरूलाई न्यूनतम १०० रुपैयाँदेखि अधिकतम १ लाख रुपैयाँसम्मको भारी जरिवाना प्रस्ताव गरिएको छ। परिचयपत्र नलगाउने चालक/परिचालकलाई सबैभन्दा कम १०० रुपैयाँ, राती बत्ती नबाली चलाउनेलाई २ हजार र हेलमेट नलगाउनेलाई ३ हजार रुपैयाँ जरिवाना तोकिएको छ। यस्तै, सवारीको वर्ग र प्रयोजन विपरित चलाएमा, लाइसेन्स र जाँचपास नभएमा वा प्रदूषण फेल भएमा दुईपाङ्ग्रेलाई ५ हजार, साना सवारीलाई १० हजार र ठूला सवारीलाई १५ हजार रुपैयाँ जरिवाना लाग्नेछ। रुट परमिट नलगाएमा १० हजार र जथाभाभी पार्किङ गरेमा ५ हजार रुपैयाँ जरिवानाको प्रस्ताव छ।
मापसे गरेमा वा तीव्र गतिमा सवारी चलाएमा दुईपाङ्ग्रेलाई २५ हजार, कार/ट्याक्सीलाई ३५ हजार र बस/ट्रकलाई ५० हजार रुपैयाँ जरिवाना प्रस्ताव गरिएको छ। तीव्र गतिको हकमा तोकिएको सीमाभन्दा ५ प्रतिशतसम्म बढी भए जरिवाना लाग्ने छैन, तर तोकिएको भन्दा कम गतिमा चलाएमा पनि कारबाही हुनेछ। सवारीमा कालो वा अपारदर्शी सिसा राखेमा सबैभन्दा बढी १ लाख रुपैयाँ जरिवाना लाग्नेछ।
यसबाहेक, जथाभाभी बाटो काट्ने पैदल यात्रीलाई ५ सय, सडकमा सामग्री थुपार्ने वा चौपाया छाड्नेलाई ५ हजारदेखि २५ हजार र अनुमति बिना विदेशी गाडी चलाएमा २५ हजार रुपैयाँ जरिवाना तोकिएको छ। लामो दूरीका सवारीमा हरेक ८ घण्टामा चालक फेर्नुपर्ने नियम पनि राखिएको छ। यदि कसैले एउटै गल्ती दोहोर्याएमा दोस्रो पटक ५० प्रतिशत र त्यसपछि शतप्रतिशत थप जरिवाना तिर्नुपर्ने कडा व्यवस्था मस्यौदामा छ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस