Like us!
Follow us!
Connect us!
Watch us!

निशान श्रेष्ठ बने ग्लोवल स्टुडेन्ट अवार्डका विजेता, ५० हजार पुरस्कारसहित विश्व संस्करणमा भाग लिने मौका

आइतबार, २४ पुस २०७३, १६ : ५३ मा प्रकाशित

निशान श्रेष्ठ बने ग्लोवल स्टुडेन्ट अवार्डका विजेता, ५० हजार पुरस्कारसहित विश्व संस्करणमा भाग लिने मौका

अर्थ संसार
काठमाडौं–रत्नराज्य लक्ष्मी क्याम्पसका विद्यार्थी निशान श्रेष्ठ ग्लोवल स्टुडेन्ट इन्टप्रेनुअर अवार्डबाट विभुषित भएका छन् । विजेता विद्यार्थी श्रेष्ठले ५० हजार रुपैयाँका साथै प्रमाणपत्र प्राप्त गरेका छन् । जीएसइए नेपाल प्रतियोगिता नेपाली यूवा उद्यमी मंचको साझेदारीमा इन्टप्रेनुअर्स अर्गनाइजेशन नेपालले आयोजना गरेको हो ।

जीएसइए प्रतियोगिता भर्खर स्नातक गरेका युवा उद्यमी विद्यार्थीहरुका लागि विश्वव्यापी प्रतिस्पर्धात्मक कार्यक्रम हो । जुन प्रत्येक देशमा आन्तरिक प्रतियोगिताबाट छानिएर जाने एक जना विद्यार्थी उद्यमीले उक्त प्रतियोगिताको विश्व संस्करणमा भाग लिने मौका पाउने गर्दछ ।

उक्त अवार्ड कार्यक्रम आइतबार लैनचौरको सिल्भर माउन्टेन स्कूल अफ होटल म्यानेजमेन्टमा सम्पन्न भएको हो । विद्यार्थी श्रेष्ठसँग सम्बन्धित कम्पनी ईको सेल ईण्डष्ट्रिजले उक्त कार्यक्रममा भाग लिएको थियो । उनको कम्पनीले नेपालमा भूकम्प प्रतिरोधात्मक, वातावरण मैत्री तथा किफायती निर्माण सामग्रीहरु उत्पादन गर्दै आइरहेको छ । त्यस्ता सामाग्रीहरु उत्पादन गर्ने उक्त कम्पनी नेपालमा पहिलो हो ।

अवार्ड विजेता श्रेष्ठले सन् २०१६÷१७ का लागि फ्रयाङ्कफर्ट जर्मनीमा आयोजना हुने जिएसइए ग्लोवल २०१७ को फाइनल प्रतियोगितामा भाग लिन पाउने छन् । करिव ३७ देशका १ हजार ७ सयभन्दा बढी विद्यार्थी उद्यमीबीचको उक्त प्रतिस्पर्धात्मक विश्व कार्यक्रममा उनले भाग लिनेछन् । उक्त विश्व प्रतियोगितामा विजयी हुनेले ४ लाख अमेरिकी डलरसहित अन्य पुरस्कार हात पार्नेछन् ।

ग्लोवल स्टुडेन्ट इन्टप्रेनुअर अवार्डको दोस्रो पुरस्कार काठ्माडौं विश्व विद्यालयका जोनशन बोकटीले हात पारेका छन् । उनको कम्पनी ईन्डेभरले मोबाइल एप्सको विकास गर्दै आएको छ । उक्त कम्पनीले कार्य व्यस्तताकाबीच आफुलाई आएको फोन कल उठाउन मिल्ने पहिलो मोबाइल एप्सको विकास गरेको थियो । विजयी बोकटीले प्रमाणपत्र सहित नगद पुरस्कार २५ हजार रुपैयाँ हात पारेका छन् ।

त्यसैगरि तृतिय पुरस्कार नागार्जुना कलेज अफ आईटीका विकेश सापकोटाले हात पारेका छन् । उनको कम्पनी क्रेप्टीक थ्रेड टेक्नोलोजि सूचना प्रविधिसँग सम्बन्धित कम्पनी हो । यसको मुख्य उत्पादन स्कुल म्यानेजमेन्ट सिस्टम प्याकेज रहेको छ । विजयी सापकोटाले प्रमाणपत्रसहित नगद पुरस्कार १० हजार रुपैयाँ हात पारेका छन् ।

उक्त प्रतियोगिताका निर्णायक मण्डलमा फ्ल्युरा हिमालयनका प्रबन्ध निर्देशक अजयबहादुर प्रधानाङ्ग,  आई क्यापिटलका अध्यक्ष अजय श्रेष्ठ, मर्कन्टायल गु्रपका प्रमुख लगानी अधिकृत अमोद राजभण्डारी, आर्या ईन्टरनेश्नलका प्रबन्ध निर्देशक अनुज श्रेष्ठ, सिद्धी ईन्टरप्राइजका प्रबन्ध निर्देशक प्रगुन राजभण्डारी र वेलनेश हस्पिटलका अध्यक्ष सुदर्शन बस्नेत थिए ।

कार्यक्रममा नेपालका लागि जीएइएका अध्यक्ष समिर थापाले यस प्रकारको अन्तराष्ट्रिय प्रतियोगिताबाट सहभागी विद्यार्थी उद्यमीहरुलाई सिक्ने अवसर जुट्नुका साथै अन्तराष्ट्रिय प्रतियोगितात्मक मञ्चहरुमा आफुलाई प्रस्तुत गर्न प्रोत्साहन मिल्ने बताए । नेपाली यूवा उद्यमीहरुले यस प्रकारका प्रतियोगितात्मक अन्तराष्ट्रिय मंचहरुमा भाग लिन पाउंदा वाह्य प्रविधि तथा ज्ञान आर्जन गर्नमा समेत सघाउ पुग्ने उनको दावी थियो ।   

जीएसइए भर्खर स्नातक गरेका युवाहरुलाई उद्यमशीलताको विकासमा अभिप्रेरित गराई नयाँ उद्यमी वनाउने अभियानस्वरुप ल्याइएको विश्वव्यापी कार्यक्रम हो । प्रतियोगितामार्फत सहभागी विद्यार्थी उद्यमीहरुले आफूलाई अन्तराष्ट्रिय रुपमै पहिचान दिलाउने अवसर पाउने छन् । अमेरिकाको सेन्ट लुईस विश्वविद्यालय अन्तरगतको जोन कुक स्कूल अफ विजनेशमा सन् १९९८ बाट शुरु गरिएको यो कार्यक्रम अन्तरगत उक्त विश्वविद्यालयले छनौट भएर प्रशिक्षित भई सफल रुपमा आफ्नो व्यवसाय संचालन गरेका उत्कृष्ठ विद्यार्थीलाई विश्वविद्यालय अध्ययनको अवसर समेत दिनेछ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको