Like us!
Follow us!
Connect us!
Watch us!

नेपाल र रोमानियाबीच व्यापारिक तथा लगानी सहकार्यका लागि नयाँ समझदारी

अर्थ संसार

सोमबार, ११ जेठ २०८३, २० : ५१ मा प्रकाशित

नेपाल र रोमानियाबीच व्यापारिक तथा लगानी सहकार्यका लागि नयाँ समझदारी

नेपाल र रोमानियाबीचको द्विपक्षीय व्यापार, वैदेशिक लगानी र औद्योगिक सहयोगलाई सुदृढ बनाउन नयाँ क्षेत्रहरूमा सहकार्य गर्ने सहमति भएको छ । सोमबार काठमाडौंमा आयोजित नेपाल–रोमानिया व्यापार मञ्च सम्बन्धी उद्घाटन समारोह तथा अन्तरक्रिया कार्यक्रममा साे सम्बन्धी जानकारी दिइएकाे हाे । 

नेपाल तयारी पोशाक उद्योग संघका अध्यक्ष पशुपतिदेव पाण्डेले दुई देशबीचको आर्थिक सम्बन्धलाई थप प्रभावकारी बनाउन व्यापारिक प्रोटोकलमा हस्ताक्षर भएको जानकारी दिएका छन् । सम्झौताअनुसार दुई देशबीच व्यापार आदानप्रदान, पूर्वाधार विकासका लागि वैदेशिक प्रत्यक्ष लगानी (एफडीआई), सीप विकास तथा प्राविधिक तालिम, ई–कमर्स, सूचना प्रविधि र बजारीकरण जस्ता महत्वपूर्ण क्षेत्रमा सहकार्य गरिनेछ । यसले नेपाल र रोमानियाका व्यवसायीहरूबीच व्यावसायिक सम्बन्ध र उपभोक्ता सम्बन्धलाई थप सहज बनाउने लक्ष्य राखेको छ । अध्यक्ष पाण्डेकाअनुसार आर्थिक वर्ष २०२४÷२५ मा नेपालले रोमानियातर्फ करिब ११ लाख ७० हजार अमेरिकी डलर बराबरको वस्तु निर्यात गरेको छ ।

सोही अवधिमा रोमानियाबाट करिब ६ लाख ९० हजार अमेरिकी डलर बराबरको आयात भएको छ । नेपालबाट रोमानिया निर्यात हुने प्रमुख वस्तुमा तयारी पोशाक पहिलो स्थानमा रहेको छ । यद्यपि हालको व्यापार परिमाण सानो देखिए तापनि यसले युरोपेली बजारमा नेपाली तयारी पोशाकको उच्च सम्भावना र बढ्दो आपसी चासोलाई स्पष्ट पारेको पाण्डेले बताए । रोमानियालाई उदाउँदो युरोपेली बजार र वृहत्तर युरोपेली क्षेत्रको प्रवेशद्वारका रूपमा उल्लेख गरे । 

‘हाम्रा संस्था, व्यवसायी र सरकारबीचको निरन्तर सहकार्यले आगामी वर्षहरूमा द्विपक्षीय लगानी र व्यापारलाई उल्लेख्य रूपमा वृद्धि गर्न सकिन्छ । प्रविधि हस्तान्तरण, संयुक्त लगानी र बलियो व्यावसायिक सञ्जालमार्फत नेपालले युरोपेली बजारमा आफ्नो पकड बलियो बनाउनुपर्छ,’ उनले भने । दुई देशबीचको व्यापारिक गतिविधिलाई संस्थागत रूपमा अगाडि बढाउन ‘नेपाल–रोमानिया उद्योग वाणिज्य संघ’ स्थापना गर्ने निर्णय समेत भएको छ । यो संघले दुई देशको अर्थतन्त्रलाई जोड्न र व्यापारिक गाँठो फुकाउन सक्रिय भुमिका खेल्ने विश्वास लिइएको छ ।

नेपाल–रोमानिया व्यापार सहकार्यको ठूलो सम्भावना छ - सांसद पराजुली

कार्यक्रममा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद गणेश पराजुलीले नेपाल र रोमानियाबीच व्यापार, लगानी, पर्यटन तथा श्रम सहकार्य विस्तारको ठूलो सम्भावना रहेको बताएका छन्। कार्यक्रममा बोल्दै उनले दुई देशबीचको वर्तमान व्यापार परिमाण सानो भएपनि आगामी दिनमा सहकार्यका धेरै क्षेत्र खुला रहेको उल्लेख गरे।

उनले नेपालले उच्च गुणस्तरका गार्मेन्ट, हस्तकला, जडीबुटी, कृषि उत्पादन तथा सूचना प्रविधि सेवा उपलब्ध गराउन सक्ने बताए। रोमानियालाई युरोपेली संघको प्रवेशद्वारका रूपमा उल्लेख गर्दै उनले बजार पहुँच, प्रविधि हस्तान्तरण तथा औद्योगिक सहकार्यका लागि महत्वपूर्ण अवसर रहेको धारणा राखे।

सांसद पराजुलीले नेपालमा पूर्वाधार, जलविद्युत, पर्यटन, सूचना प्रविधि र उत्पादन क्षेत्रहरूमा रोमानियाली लगानीको स्वागत हुने बताए। साथै संयुक्त लगानीमार्फत दुवै देशमा रोजगारी सिर्जना, उत्पादकत्व वृद्धि र नवीनतालाई प्रोत्साहन गर्न सकिने उनको भनाइ थियो। उनले भने,‘नेपाल र रोमानियाबीच व्यापार, लगानी, पर्यटन तथा श्रम सहकार्य विस्तारको ठूलो सम्भावना रहेको छ। नेपालले उच्च गुणस्तरका गार्मेन्ट, हस्तकला, जडीबुटी, कृषि उत्पादन तथा सूचना प्रविधि सेवा उपलब्ध गराउन सक्छ। नेपालमा पूर्वाधार, जलविद्युत, पर्यटन, सूचना प्रविधि र उत्पादन क्षेत्रहरूमा रोमानियाली लगानीको स्वागत गर्न सकिन्छ।’

उनले नेपाली कामदारहरू मेहनती, इमानदार र अनुकूलन क्षमतायुक्त भएको उल्लेख गर्दै सुरक्षित तथा व्यवस्थित श्रम आप्रवासन विस्तारले दुवै देशलाई फाइदा पुग्ने बताए।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको