नेपाल धितोपत्र बोर्डले निलम्बन गरेको भृकुटी स्टक ब्रोकिङ (५५ नम्बर ब्रोकर) मा अझै पनि ८५ प्रतिशत खाता सक्रिय रहेको देखिएको छ । नेप्सेका अनुसार अहिलेसम्म करिब १२/१३ हजारले खाता बन्द गरेका छन् । बाँकीको खाता भने सक्रिय नै रहेको हो ।
धितोपत्र बोर्डले निलम्बन गर्नु भन्दा पहिले यो कम्पनीमा ७९ हजार भन्दा बढी व्यक्तिको खाता रहेको थियो । अहिले करिब ६७ हजार मात्रै सक्रिय खाता रहेको नेप्सेका प्रवक्ता मुराहरी पराजुलीले अर्थसंसारलाई जानकारी दिए । उनको अनुसार सेटल मेन्टको काम भने भइसकेको छ । नेप्सेको तथ्यांक अनुसार निलम्बन हुनु भन्दा पहिलो यो ब्रोकरमा ७९ हजार ७१७ जनाको खाता रहेको थियो । अहिले १२ हजार ५०० जना खातावालहरुले ट्रेडिङ अकाउन्ट बन्द गरेका छन् । अझै पनि यो कम्पनीमा ६७ हजार २१७ जनाको खाता सक्रिय रहेको देखिएको छ ।
कुल खातावालमध्ये १५.६८ प्रतिशतले ब्रोकर छाडिसकेका छन् । भने करिब ८५ प्रतिशत खाता एक्टिभ छन् । ‘निलम्बनमा परे पछि कारोबार हुने कुरा भएन । उसको बाट सेयर किनेकाले सेयर पाउने र सेयर बिक्री गरेकारले पैसा पाउने कुरा भइसकेको,’ प्रवक्ता पराजुलीले भने । नेप्सेमा ब्रोकरले पैसा दिन आनाकानी गरेको कुनै पनि गुनासो नआएको प्रवक्ता पराजुलीको भनाइ छ ।
दुई वटासम्म डिम्याट खाता खोल्न पाउने भएकाले लगानीकर्ताहरुले अर्को ब्रोकरमा खाता खोलेर सेयर नामसारी गरेकाले पनि भृकुटीमा रहेको खाता सक्रिय रहेको हुन सक्ने अनुमान गरिएको छ । भृकुटी स्टक ब्रोकिङमाथि नेपाल धितोपत्र बोर्डले धितोपत्र बजारका विभिन्न नियम उल्लंघन गरेको आरोप लगाउँदै ६ महिनाका लागि निलम्बन गर्ने निर्णय गरेको थियो । अनुसन्धानमा कम्पनीले ग्राहकसँग अग्रिम रकम नलिई कारोबार गराएको, अनिवार्य मार्जिन नियम उल्लंघन गरेको तथा उधारोमा ठूलो परिमाणमा सेयर किनबेच गराएको पाइएको छ । धितोपत्र बोर्डले चैत २३ गते यो कम्पनीलाई निलम्बन गरेको थियो ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस