अर्थ संसार, काठमाडौं – सरकारले विभिन्न जलविद्युत् आयोजना र प्रसारण लाइन निर्माणका लागि वन क्षेत्रको जग्गा प्रयोगका लागि स्वीकृति दिएको छ ।
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयकाअनुसार म्याग्दी जिल्लाको अन्नपूर्ण गाउँपालिकाका विभिन्न वडाको वन क्षेत्रको जग्गा प्रयोगका लागि रोबस्ट इनर्जीलाई स्वीकृति प्रदान गरेको छ ।
उक्त स्वीकृतिपछि सो गाउँपालिकाका वडा नं ३ र ४ मा रहेको सरकारी वन क्षेत्रको ६.२६ हेक्टर जमीन बढीमा २३ वर्षसम्म प्रयोग गर्न र त्यहाँ रहेका १९३ रुखबिरुवा हटाउन कम्पनीलाई सहज हुनेछ ।
रोबस्ट इनर्जीले मिष्ट्री–दाना १३२ केभी प्रसारण लाइनको ‘राइट अफ वे’सहित टावर निर्माण गर्न अन्नपूर्ण संरक्षण क्षेत्रभित्र पर्ने ती रुखबिरुवा हटाउन पाउने छ ।
त्यस्तै बैठकले बलेफी हाइड्रोपावर लिमिटेडलाई माथिल्लो बलेफी–ए जलविद्युत् आयोजनाको भौतिक संरचना निर्माण गर्न लाङ्टाङ राष्ट्रिय निकुञ्जको लेन्सी मध्यवर्ती क्षेत्रभित्र पर्ने सिन्धुपाल्चोक जिल्लाको जुगल गाउँपालिका वडा नं २, ३ र ५ अन्तर्गत रहेको ५.०५ हेक्टर सरकारी वन क्षेत्रको जग्गा बढीमा ३० वर्षसम्मका लागि प्रयोग गर्न र त्यहाँ रहेका विभिन्न प्रजातिका १६६ रुखबिरुवा हटाउन स्वीकृति दिएको प्रवक्ता गोकूलप्रसाद बाँस्कोटाले जानकारी दिनुभयो । सो आयोजना कूल ३६ मेगावाट क्षमताको हुनेछ ।
बैठकले लक्ष्मी माइनिङलाई चुनढुङ्गा उत्खनन योजना सञ्चालन गर्न चितवन जिल्ला कालिका नगरपालिका–१ अन्तर्गतको चार हेक्टर राष्ट्रिय वन क्षेत्रको जग्गा बढीमा १५ वर्षसम्म प्रयोग गर्न दिने र त्यहाँ रहेका २२ रुखबिरुवा हटाउन दिने निर्णय गरेको छ ।
चुनढुङ्गा उत्खनन गर्दा सो क्षेत्रमा बसोबास गरिआएका चेपाङलगायत समुदायका बस्ती प्रभावित हुने भए त्यस्ता बस्तीलाई पुनःस्थापनाको उचित प्रबन्ध गर्ने जिम्मा प्रवद्र्धक कम्पनीको नै रहनेछ ।
यसैगरी बैठकले भेरी–बबई डाइभर्सन बहुद्देश्यीय आयोजनाको सिँचाइसहित जलविद्युत् विकासका संयुक्त पूर्वाधार बाँध, सुरुङ पहुँचमार्ग आदि निर्माण गर्न सुर्खेत जिल्लाको राष्ट्रिय वन क्षेत्रमा थप ५.४२ हेक्टर जग्गा प्रयोग गर्न दिने र त्यहाँ रहेका विभिन्न प्रजातिका एक हजार २३ रुखबिरुवा हटाउन स्वीकृति दिने निर्णय गरको प्रवक्ता बाँस्कोटाले बताउनुभयो ।
उहाँले गमगढी–चखेली–दार्मा सडक निर्माणका लागि हुम्ला जिल्लाको चखेली गाउँपालिकाका विभिन्न वडामा रहेका विभिन्न सामुदायिक वनलगायत राष्ट्रिय वन क्षेत्रको १७.३९५ हेक्टर र मुगु जिल्लाको रारा छायानाथ गाउँपालिकाका विभिन्न वडामा रहेका ११.६६० हेक्टर गरी कूल २९.०५५ हेक्टर राष्ट्रिय वन क्षेत्रको जग्गा प्रयोग गर्न र त्यहाँ रहेका कूल १४ हजार ७३९ रुखबिरुवा हटाउन स्वीकृति दिइएको जानकारी दिनुभयो ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस